बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

निबन्ध : जुराफको प्वाल

शनिबार, १७ पुस २०७८, ०९ : ०२
शनिबार, १७ पुस २०७८

कुनै कामविशेषले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा पुगेको थिएँ । म सरासरी इकाइ प्रमुखको कोठामा छिरेँ । हाकिम सापको कोठामा राम्रै गुणस्तरको नयाँ कार्पेट बिच्छ्याइएको थियो । उनी सरुवा भएर यहाँ आउनु अगाडि पुरानो खालको कार्पेट थियो । कार्यालयमा हाकिम भेट्न आउने मान्छेहरू जुत्तासितै भित्र पस्थे । यी मानिस हाकिमको रूपमा आएपछि नयाँ कार्पेट हालियो । अब आगन्तुकहरूले ढोका बाहिरै जुत्ता खोलेर भित्र पस्नुपर्ने भयो ।

म पनि आफ्ना जुत्ता खोलेर भित्र पसेँ । मलाई झलक्क हेर्ने वित्तिकै प्रश्नको झटारो फाले हाकिम सापले ।

“यी जुराफ कहाँ किन्न पाइन्छ सर ? कतिमा किन्नुभयो ? लौ न मलाई पनि दुई जोर मगाइदिनुस् । गर्मीमा सरर हावा लाग्ने आँखीझ्यालसहितका जुराफ रहेछन् ।”

यी प्रश्न मेरा निम्ति अनपेक्षित थिए । मैले अलिक चनाखो भएर आफ्नै खुट्टातिर नजर दौडाएँ । दाहिने खुट्टामा लाएको जुराफको टुप्पो थोरै उध्रिएर दुईटा औँलाले बाहिर चिहाइरहेका थिए । जुराफ उध्रिएको कुरालाई मैले त्यति ध्यान पनि दिएको रहेनछु । उनले यसै कुरालाई कटु–कटाक्ष गरेका रहेछन् । मेरो लाटो बुझाइले सुरुमा त साँच्चै जुराफ मन पराएछन् क्यारे ! ठानेर प्रतिप्रश्न गरेँ ।

“किन र सर ?” अनि पो उनले वास्तविक रोष पोखे– “माविको सेकेन्ड क्लास हेडमास्टरको यो पारा छ !” फाटेको जुराफको विषयलाई लिएर एकोहोरो खिसी गरिरहे । मैले चुपचाप सुनिरहँे । यिनीप्रति मभित्र दया र टिठको भाव उर्लेर आयो । यस स्तरको मान्छेले मेरा खुट्टामा नाथे जुराफ उध्रेको विषयलाई लिएर त्यत्रो नाटिकुटी गर्नु जरुरी नै थिएन ।

यिनको बोली र भङ्गिमा देखेपछि म तुरुन्तै एक निष्कर्षमा पुगिहालेँ, “यो मानिस चुत्थो दर्जाको मानिस हो । यो मानिस क्षुद्र बुद्धिको मानिस हो । यो मानिस गुदीमा होइन, बोक्रोमा विश्वास गर्ने मानिस हो ।”

उसको खिसी गराइमा उसको छुद्र बुद्धि, उसको क्षुद्र व्यवहार र क्षुद्र मति बाहिर छताछुल्ल पोखिँदैथ्यो । यस्ता मान्छे गुदी बढाउनुमा भन्दा बोक्रो टल्काउनुमा खायस राख्छन् । त्यो मलाई भलिभाँती थाहा छ ।

केही महिनाअघि यी मानिसले एकदिन मलाई एउटा बट्टा देखाएर भनें, “सर यो बट्टाभित्र नौवटा अलग अलग यूँ जडित औँठी छन् । म प्रत्येक दिन अलग अलग खालका औँठी धारण गर्छु । औँठीको म शौखिन मान्छे हुँ । साथै म सुट फेर्नको पनि शौखिन मान्छे हुँ । मेरो दराजमा अठार जोर सुट छन् सर ।”

औँठी र सुटको फुटानी लाइरहे । मैले सुनिरहेँ । यिनले किताब र ज्ञानको कुरा गरेनन् । कपडा र खानपिनको मात्र कुरा गरिरहे । शिक्षा प्रशासन चलाउने हाकिमको यो पारा देखेर खानुसम्म चित खाएँ । लाग्यो, यिनले गलत मान्छेसामु औँठी र कपडाको बखान गरिरहेका छन् । नसुनूँ पनि भएन, सुन्नै पर्यो । तर, म यसको लागि उपयुक्त पात्र हुँदै होइन । मलाई बाहिरी परिधान र रूपगत साजसज्जामा कुनै चासो, रुचि र आकर्षण छैन भन्ने कुरा यिनले बुझ्दै बुझेनन् । मलाई त एक अलग अनुभूति–आर्जनको उपयुक्त अवसर जुरिरहेको थियो । लामो समयसम्म त यिनका कुरा सुन्ने फुर्सत पनि रहेन मलाई । जुन उद्देश्य र प्रयोजनको लागि म त्यहाँ गएको थिएँ, त्यही कामतिर लागिहालेँ ।

कतै पढेको या सुनेको थिएँ, “सडक किनारामा जुत्ता सिउने चमारले मान्छेका खुट्टा हेर्छ, जुत्ता हेर्छ ।” उसले खुट्टा हेर्नुको प्रयोजन छ । यो मान्छे जुत्ता फाटेर आएको हो होइन, मेरो ग्राहक हुन योग्य छ, छैन । त्यस हिसाबले उसले खुट्टा हेर्दछ ।

उसले मानिसको शिरोभाग हेर्दैन, दिमाग हेर्दैन । हेर्नुमा रुचि पनि हुन्न । हेर्नुको प्रयोजन पनि रहन्न । कपाल काट्ने हजामले आफ्नो छेउबाट गुज्रिने मान्छेको कपाल हेर्छ भन्ने सुनेको छु । चमारले जुत्ता हेर्नु, हजामले कपाल हेर्नु स्वाभाविक पनि हो । यो उनीहरूको आफ्नो पेशागत धर्म पनि हो । यसो भनेर उनीहरूप्रति मैले अनादरको भाषा बोल्न खोजेको होइन, गरिखाने वर्गका तमाम पेशा, व्यवसाय  र मानिसको सेवामा जुट्ने जनगणप्रति, यस्ता पेशाकर्मीहरूप्रति मेरो हृदयमा असीम आदर–भाव छ । उनीहरूप्रति श्रद्धाको शितले म लफ्रक्क भिज्ने गर्छु । सवाल केमा मात्र हो भने जिल्लाको शिक्षा प्रशासन चलाउने हाकिमको जुराफ हेर्ने मति देखेर म विस्मयको सागरमा खसेको छु ।...

यिनीसँग जोडिएको अर्काे घटना पनि छ । एकदिन त्यस्तै कामले कार्यालय पुगेको थिएँ । यिनी फोनमा व्यस्त थिए । यिनको संवादको पोयो पहिल्याउँदा गाउँको कुनै मास्टरसितै बात मारिरहेका थिए । यिनी भन्दै थिए, “तपाईंले पठाइदिएको बँदेलको शिकार त साह्रै मीठो भयो नि हौ, तीन छाक पारेर खाएँ । फेरि फेला पर्यो भने नबिर्सिनुु है मलाई !”

कसैले पठाइदिएको बँदेलको मासुको सह्राना गरिरहेका थिए । त्यस कुराले मान्छे यी खन्चुवा टाइपका रहेछ भन्ने पर्यो । खन्चुवा होस् कि न खन्चुवा होस्, त्यो मेरो निम्ति खासै सरोकारको विषय थिएन । तर, जब मेरा मोजा उपर खिसी बोले, यिनको सोचको स्तर अरु खुलस्त बन्यो ।

एकचोटि राजर्षि जनकले आयोजना गरेको विद्वत् सभामा अष्टावक्र पुगेका थिए । त्यहाँ विद्वान पण्डितहरूको वीच शास्त्रार्थ चलिरहेको कुरा सुनेर गएका थिए । उनी पनि गर्भमै शास्त्र जानेका विद्वान पुरुष थिए । तर, उनी शारीरिक रूपमा अपाङ्ग थिए । उनको शरीरको आठ ठाउँ टेढोमेढो बाङ्गिएको थियो ।

विद्वत सभामा पुग्ने वित्तिकै त्यहाँका पण्डितहरू गललल हाँसे । अष्टावक्रले थाहा पाइहाले; यी पण्डितहरू मेरो बाङ्गोटिङ्गो शरीर देखेर हाँसेका हुन् । अष्टावक्रले पनि फ्याट भनिदिए, “म त विद्वानहरूको सभा चलिरहेको छ भन्ने सुनेर आएको थिएँ, विद्वानहरूको सभा त होइन रहेछ । मूर्खहरूको सभा पो रहेछ । सबै चमारहरूको पो जमघट चलेको रहेछ ।”

उनको कुराले पण्डितहरूको आत्मामा चोट पुग्यो । हामीलाई किन चमार भनियो ? भनी आक्रोस पोखे ।

अष्टावक्रले चित्त बुझ्दो जवाफ दिए, चमारले छाला हेर्छ । चर्मको परख गर्न सक्छ, तव न ऊ चमार । चमारले भित्री चैतन्य हेर्दैन । उसले बाहिरी अङ्ग हेर्छ । तिमीहरूले पनि मेरो बाहिरी शरीर हेर्यौ, छाला हेर्यौ । तिमीहरूले मभित्रको चेतनाको उचाइ देख्न सकेनौ । तिमीहरूको बुद्धि चर्ममा सीमित चमार बुद्धि छ । त्यसैले मैले चमार भनेको हुँ ।”

अष्टावक्र आत्मज्ञान हासिल गरिसकेका चैतन्य पुरुष थिए । उनी त्यस ठाउँमा पण्डितहरूसित शस्त्रार्थ गर्नै आएका थिए । उनी प्रज्ञावान बुद्धपुरुष थिए । तर, त्यहाँ उपस्थित पण्डितहरू शब्दका ज्ञानी थिए, शास्त्रका ज्ञानी थिए । तर, उनीहरूको ज्ञानचक्षु निभेको थियो । उनीहरूको प्रज्ञाचक्षु जागेकै थिएन ।

त्यस अपाङ्ग फुच्चे अष्टावक्रप्रति राजा जनक आकर्षित बने । उनले ऊभित्र अखण्ड ज्ञानको आभा चम्किरहेको देखे । कालान्तरमा उनैलाई गुरु थापेर जनकले पनि ज्ञानको अनमोल खजाना भेटे ।

क्षुद्र सोच्नेहरू शरीर हेर्छन्, कपडा हेर्छन्, जुत्ता हेर्छन्, टोपी र कपाल हेर्छन् । उनीहरू गिदीभित्र छिर्न सक्तैनन् । विराट र विहङ्गम सोच्नेहरू मात्र चर्मचक्षु छोडेर ज्ञानचक्षुले भित्री दुनियाँ नियाल्न खोज्छन् ।

शिक्षाको नेतृत्वदायी कुर्सीमा बसेका मेरा हाकिमले अहिले आफ्नो कोठामा झुत्रेझाम्रे परिधानमा अष्टावक्रलाई देखे, कस्तो व्यवहार गर्थे कुन्नी ?

कपडाकै सन्दर्भमा कुरा गर्दा उहिले पढेको बहादुर शाह जफर र गालिवको सन्दर्भ मलाई याद आउँछ । बहादुर शाह जफर दिल्लीका अन्तिम मुगल सम्राट थिए । उनी स्वयम् एक काव्यप्रेमी मनुवा थिए । गालिव त त्यो समयका प्रख्यात शायर थिए, कवि थिए । उनको काव्यगुणको जो कोही प्रशंसक थियो । सिङ्गो देशमा उनको ख्याति चरमचुलीमा थियो । गालिवलाई सबैले हृदयबाट आदर गर्थे । बहादुर शाह जफर राजा भएर पनि कवित्व गुणले लवालव भरिएका व्यक्ति थिए ।

एकदिन राजाले दरवारमा गालिवलाई आमन्त्रण गरे । आपूmसित राखेर भोजन गराउने राजाको मनसुवा थियो । कविको ख्याति देखेर पनि राजाले उनलाई त्यो आदर दिएका हुन सक्छन् ।

राजाले बोलाएकै समयमा कविजी दरवारको द्वारमा उपस्थित भए । तर, द्वारपालले उनलाई  भित्र पस्न दिएन । उनी जे जस्तो भेषभूषामा रहन्थे; त्यही भेषमा त्यहाँ उपस्थित थिए । झुत्रेझाम्रे परिधानमा थिए उनी ।

“मलाई राजाले निमन्त्रणा दिएर आएको हुँ, त्यसै आएको छुइँन ।” कविले पहरेदारसित विनित स्वरमा आफ्नो कुरा राखे । राजाले दर्शनभेटको लागि बोलाएका हुन् भने तिमी औपचारिक पोशाकमा हुनुपर्ने हो । दरवारभित्र पस्न त्यहीखालको गतिलो कपडा हुनुपर्ने हो । त्यही अनुसारको जुत्ता, टोपी लाउनु पर्ने हो । तिम्रो त कपडा पनि भएन, जुत्ता पनि भएन, टोपी पनि भएन । यदि साँच्चै राजाले बोलाएकै हुन् भने जुत्ता, कपडा फेरेर आऊ । यही डे«समा त तिमीलाई भित्र जान मनाही छ ।

पहरेदारले कवित्वको महत्व बुझ्ने कुरा पनि भएन । कविजीलाई गेटबाटै फर्काइदियो । कवि घरमा फर्के । आफूसित त कुनै गतिलो लुगा, कपडा छँदै थिएन । साथीभाइहरूसित मागी–जुगी गरेर सुट–टाई, कोट–टोपी पहिरे ।

अब भने बाहिरी द्वारमै स्वयम् राजा कविजीलाई स्वागत गर्न आए । ठूलो शिष्टाचारका साथ कविलाई भित्र लगियो ।

त्यहाँ कविलाई राजसी भोजको प्रवन्ध गरिएको थियो । कविको सम्मानमा राजाले कुनै चिजको कमी हुन दिएका थिएनन् । कविजी खान बसे । कविसितै राजा पनि खान बसे । उनले मुखमा हाल्नुपर्ने खानाको गाँस कोटका खल्तीतिर हाल्न थाले । सर्टका खल्ती अनि पेन्टका खल्तीमा हाल्न थाले । टोपी फुकालेर टोपीलाई गाँस कोच्याए । जुत्ता फुकालेर जुत्तामा खानाको गाँस हाले । एक गाँसपनि आफ्नो मुखमा हालेनन् । खानु पर्ने खाना सबै लुगामा दलेपछि राजा आश्चर्यमा परे । राजालाई रिस पनि उठ्यो ।

“होइन कविजी तपाईले यो के तमासा गर्नुभएको हो ?”

कविले जवाफ दिए–“ठिकै त गरेको छु नि । यी चौरासी व्यञ्जनका परिकार थोरै तपाईंले यो कविलाई टक्र्याउनु भएको हो र ? कविले पहिरेको पोशाक–परिधानलाई टक्र्याउनु भएको हो । मेरो शरीरको लुगाफाटालाई यी व्यञ्जनहरू अर्पण गर्नु भएको हो । त्यसैले यी चिजविज लुगालाई खुवाइदिएको हुँ । कविलाई खान बोलाउनु भएको भए त थोत्रामोत्रा लुगा लाएर आउँदा नै दरवारभित्र छिर्न दिइहाल्नु हुन्थ्यो नि । यी कपडा नपहिरेसम्म प्रवेश निषेध गर्नुभयो । तपाईंले मेरो कवित्वको सम्मान गर्नु भएको होइन, मैले शरीरमा भिरेका टाइसुटलाई सम्मान गर्नुभएको हो ।”

कविका कुराले राजा जिल खाए । वास्तवमा कविका कुरामा सत्यता थियो । कपडाको पारखीले कहाँ हृदयकन्दराको कवित्व चिन्न सक्छ र ?

...

मैले चिनेका एकजना हक्की दाइ छन् । उहाँ जातले ठकुरी कुलमा जन्मेपनि राजशाही भनक देखाउनु हुन्न । मान्छे मिलनसार र ज्यादै रमाइलो पाराको हुनुहुन्छ । बोलक्कड र निडर हुनुहुन्छ । एकदिन उहाँले आफ्नो विवाहको रोचक घटना सुनाउनुभयो । आजभन्दा पचास वर्षअघि पहाडको कुनै गाउँमा उहाँको विवाह भएको थियो ।

सो समयमा दाइ आफू आर्थिकरूपले अलिक निम्छरो अवस्थामा हुनुहुन्थ्यो । केटी चाहिँ अलि हुनेखाने परिवारकै माग्नुभएछ । जन्ती लिएर जानु भएछ बेहुलीको घर । भतेर खाइसकेपछि राति जग्गेमा बस्नु भयो । कर्मकाण्ड हुँदै गयो । बेहुली पाहिरिने बेला भएपछि बेहुलाले लगेको ट्याङ्का खोलियो ।  बेहुली पक्षका मानिसहरूले सारीका पत्र गने, सुनचाँदीका गहना हेरे । न त भने जति सारीका थान ल्याएको छ, न त भने जाति मँहगो मूल्यको बाहिरी सारी ल्याएको छ । न नाक, कान, घाँटी र कपालमा लट्काउन गहनागुरिया नै ल्याएको छ । यस कुराले बेहुलीका बाबुआमा आक्रोसित बने । यस्तो तन्नम भिखारीलाई छोरी दिएछु भनेर पश्चाताप गरे । हुँदाहुँदा जग्गेबाट भित्र हुलेकी बेहुली बाहिर निकाल्दै निकालेनछन् । बरु समानका सारी सुन नल्याएकै विषयमा वखेडा झिकेछन् ।

बाठो बुद्धिका दाइले परिस्थितिको आँकलन गरिहाले । जग्गे स्थलबाट उठेर कड्किदै कटाक्ष गरे,“ए जन्ती साथीहरू !! अब घर फर्किनलाई तयार हओ ! यस घरका अभिभावकले छोरी मलाई दिएका होइनन् रहेछन् । लुगा कपडालाई दिएका रहेछन् । सुनचाँदीलाई दिएका रहेछन् । अब जग्गेमा बेहुली नै ननिकाल्ने कुरा सुन्दैछु । लुगाकपडा पनि नपहिरिने अरे । अब हामी किन यहाँ बसिराख्ने । बेहुली पक्षका मान्छेले पनि कान खोलेर सुन; तपाईंहरूलाई ज्वाइ चाहिएको होइन रहेछ । सारी चाहिएको र छ ? लाहानको माडेसित धेरै सारी छन्, उसैलाई छोरी दिनू । म चाहिएको होइन र’छु  । सुन चाहिएको रहेछ, सुनारेलाई छोरी दिनू । मलाई चाहिएन तपाईंकी छोरी । सके अर्को ठाउँ विहे गरुँला, नसके नाङ्गो बसूँला । हिँड है साथी हो, अब यहाँ बस्ने काम छैन ।”

बेहुलो कड्केर उठेपछि जन्तीहरू पनि बेहुलोसितै जर्याक जुरुक उठेछन् । अब विपत पर्ने भो भनेर त्यहाँका गन्यमान्य अगुवाले बेहुलो भएका दाइलाई हामीबाट गल्ती भयो, हजुर नगैदिनुस् । हामी बेहुली निकाल्छौं । जग्गे चालु गर्नुपर्छ भनेर लोलोपोतो गर्न थालेछन् ।

बेहुलो र जन्ती गणलाई थामथुम पारेपछि विवाह राम्ररी नै सम्पन्न भयो । भोलिपल्ट विहानै बेहुली अन्माएर दाइ उकालो लागेछन् । ज्वाइँलाई भन्दा सुन र सारीलाई महत्व दिने ससुराली पनि हुन्छन् काहीँ काहीँ । त्यस्ता ससुरालीका सेखी तोड्न दाइ जस्ता हक्की मान्छेको आवश्यकता छ ।

हृदयको मानवीय गुण ठूलो कि सुन ठूलो ? मानवीय अस्मिता ठूलो कि नोटका बिटा ठूलो ? खुट्टाको जुत्ता ठूलो कि छातीभित्रको चित्त ठूलो ? यी प्रश्नले बारम्बार घोत्लिने बनाउँछन् ।

एकचोटि महान वैज्ञानिक सरआइज्याक न्यूटनलाई उनको च्यातिएको कोट देखाउँदै कुनै धनाढ्य विद्वानले खिसीको भाषामा व्यङ्ग्यवाण हान्यो, “के हो ? महाशय, कोटमा त प्वाल परेछ नि ।”

न्यूटनले पनि हाजिरी जवाफी शैलीमा उसलाई उत्तर फर्काएछन्, “कोट फाटेको कुरामा चिन्ता छैन महोदय ! बरु चिन्ता यस कुरामा छ कि कतै तपाईंको मूर्खता यही प्वालबाट छिरेर मलाई सङ्क्रमण गर्ने हो कि ? यसमा चाहिँ म बहुत सचेत छु ।”

न्यूटन महोदयको शब्द सापटी लिएर हाकिम सापलाई भन्न मन छ, “जुराफको टुप्पो फाटेको कुरामा मलाई कुनै चिन्तै छैन । तर, त्यस प्वालबाट तपाईंको क्षुद्र बुद्धि मेरो शरीरभित्र प्रवेश गर्ने हो कि त्यसमा चाहिँ भारी चिन्ता छ ! जय जुराफ महात्म्य !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप