बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा : मिजुकीको पीडा​

शनिबार, १७ पुस २०७८, ०८ : ५३
शनिबार, १७ पुस २०७८

मिजुकीले आज साँझसँगै खाना खाउँ भनेकी हुनाले तयारी अवस्थामा थिएँ । लगत्तै उसको फेरि फोन आयो । ‘मरहठ्ठा आज नेपाली खाना खानुपर्छ है,’ उसले भनी । यसरी खाना खाने कार्यक्रम हुँदा अन्य खाना खाने दिनमा उसैले रोजेको ठाउँमा जाने गरे पनि नेपाली खाना खाने दिनमा मैले भनेको ठाउँमा जाने चलन थियो । ‘ठिकै छ नि त आज जेठोबूढो भान्साघरमा जाउँ न त,’ मैले प्रस्ताव राखें । उसले स्वीकार गरी र भनी, ‘जानुभन्दा अगाडि राम्रो गिफ्ट शपमा पनि पस्नु पर्नेछ, त्यसैले छिटो निस्क ल ।’

मिजुकीसँग भेटघाट हुन थालेको पनि पुग नपुग पच्चीस वर्ष भएछ । गजुरीको आदर्श माविमा पढ्दा कहिलेकाहीँ मलेखु बजारको होटलमा टन्न बसेर खाना खाइरहेका विदेशी देख्दा अनौठो लाग्थ्यो । एकपटक बारीमा फलेका दुई घारी केरा बुबाले दाइलाई र मलाई दिनुभयो । दाइले के गर्नु भो थाहा भएन । तर, म त्यो बोकेर मलेखु बजारतिर लागेँ । विदेशीहरुले खाना खाइरहेको होटल बाहिर बसेको थिएँ । खाना खाएर बाहिर निस्केका विदेशीले सबै केरा किनेर सक्दिहाले । विदेशीहरुसँग मेरो अप्रत्यक्ष भए पनि पहिलो सम्बन्ध यसरी बढेको थियो ।

क्याम्पस पढाउने मेरो परिवारको ल्याकत थिएन । त्यसैले, एसएलसीको परीक्षा दिएपछि धादिङ्गबेशीबाट घर पनि नपसी फुर्के खोलाबाट यिनै विदेशी चढेको बसमा पोखरातिर हिँडे । शरीरमा लगाएको कपडाबाहेक मसँग थिएन । कसरी ती दिनहरु बिते भन्ने बारेको मेरो पोखराको संघर्षको कथा बेग्लै छ ।

सुरुमा फेवातालमा डुंगा चलाउने काम गरियो, जसले मलाई प्रकृतिसँग रमाउन सिकायो । त्यसपछि एउटा होटलमा काम गर्न थालें र बिहान पीएन क्याम्पसमा भर्ना भएँ । बिस्तारै होटलको ट्राभल डेस्क पनि सम्हाल्नुपर्ने भयो, जुन कामले मेरो जीवनमा परिवर्तन नै ल्याइदियो ।

त्यसबेला होटल साहुजीको व्यवहारले मलाई सधैं जिन्दगीभर उहाँप्रति नतमस्तक बनाइरह्यो । बिस्तारै काम सिक्दै साथीभाइको सहयोग र प्रेरणा एवं होटल साहुजीको हौसलाले ट्राभल एजेन्सी ब्यवसाय दर्ता गरें । अहिले आफै मालिक भएको छु, व्यवसाय राम्रैसँग चलिरहेको छ ।

पहिलोपटक मिजुकीलाई भेट्दाखेरि म डुंगा चालक थिएँ । जापानकी उसलाई त्यतिबेला अंग्रेजी थोरै आउँथ्यो । म पनि भर्खरै गाउँबाट आएको ठिटो अंग्रेजी बोल्न आउँदैनथ्यो, तर मेरो टुटेफुटे अंग्रेजी पनि उसको अगाडि ठुलै हुन्थ्यो ।

दोस्रोपटक ऊसँग भेट हुँदा राम्रो अंग्रेजी बोल्ने भएर आएकी थिई । म जुन होटलमा काम गर्दै थिएँ, संयोगले उ त्यही होटलमा बास बस्न आइपुगेकी थिई । यसपालि उसले छोटो ट्रेकिङ जाने ईच्छा देखाई । म ऊसँगै जानुपर्ने भयो । घोरेपानी, घान्द्रुक र पुनहिलको त्यो सानो घुमाई उसको र मेरो मित्रतामा यादगार रहन गयो ।

यसको पाँच वर्षपछि नेपाल आउँदा त उ नेपालीले जस्तै फररर्र नेपाली बोल्न सक्ने भएर आइछे । पाँच वर्ष जाईकामा स्वयंसेवकको रूपमा काम गर्ने गरेर आएकी हुनाले उतैबाट नेपाली भाषा पढेर आएकी रहिछ । नेपालको संस्कृति बारेमा पनि धेरै जान्ने भइसकिछ । तर किन हो थाहा भएन, उ जहिलेसुकै नेपाल आउँदा एक्लै आउँथी । विदेशीहरुको एउटा उमेर पार गरेपछि कोही न कोही केटा वा केटी साथी हुन्छ भन्ने सोचेको म उसको एकल यात्राबारे अचम्म मान्थे ।

मोबाइलको घण्टीले म झसङ्ग भए । “मरहठ्ठा अझै घरमै हो ?” उसैको फोन रहेछ ।

“माफ गर म निस्किएँ,” भन्दै म बाहिर निस्केर हिँड्नै लागेको उ त गेटमा नै आइसकिछ । उसको हातमा गिफ्टको दुइटा प्याकेट थियो । एउटा छोराछोरीलाई र अर्को मेरी श्रीमतीलाई प्याकेट दिएर उसले ‘ल अब छिटो गर’ भनी । आज्ञाकारी बालकझंै म उसको अगाडि लागें । फेरि गिफ्ट किन्नुपर्ने भनेपछि म उसलाई लिएर लेकसाइडको न्यू एकेडेमी बुकशपमा पसें, जहाँ पुस्तकका अतिरिक्त अन्य गिफ्ट सामान पनि पाइन्थ्यो । उसले पुनहिलबाट खिचिएको धवलागिरी र अन्नपूर्ण हिमशृङ्खलाको ठूलो फोटो रोजेर प्याक गर्न लगाई, जहाँ हामी सँगै पहिलोपटक ट्रेकिङ  गएका थियौं ।

हामी अब बिस्तारै हिँड्दै जेठोबूढो भान्साघरमा आइपुग्यौं । खाना तयार नहुँदासम्म विभिन्न कुराकानी भए । मलाई जसरी नै उसलाई पनि हाम्रो पहिलो पटकको भेट अझै याद रहेछ । घोरेपानी ट्रेकिङ्ग गएका बेलाको प्रत्येक घटना रमाइलो मानेर सम्झेर कुरा गर्न थाली । मैले पनि उसँग उसको संस्थाले हालैका दिनमा पोखरा नगर क्षेत्रभित्र विस्तार गर्न लागेको खानेपानी योजनाका बारेमा बुझ्न खोजें । उसको क्षेत्र नपरे पनि उसले जानेसम्मका कुराहरु बताई ।

हामी खाना खान बसेको टेबलभन्दा अर्को छेउमा एक परिवारका मानिसहरु आएर खाना खान बसे । सायद उनीहरु काठमाडौंबाट घुम्नक पोखरा आएका हुन्छन् । उनीहरुको समूहको एक किशोरले होटलेलाई सोध्यो, ‘दाइ तपार्इंहरुको रेस्टुरेन्टको नाम किन जेठोबुढो राख्या ?’ म्यानेजरले जिज्ञासा मेटाए, ‘बाबु जेठोबूढो भनेको पोखरा र यसको आसपासमा पाइने एक प्रकारको धानको जात हो, जसको चामल निकै मीठो हुन्छ । अहिले खाना आएपछि पनि महशुस गर्न सक्नु हुन्छ । पहिला पहिला त खेतको फाँटमा हिँड्दा, घरमा पकाउँदा समेत हरर बास्ना आउँथ्यो । आजभोलि रासायनिक मल आदिको प्रभाव र अन्य धानको बीउविजनको कारण पहिलाको जस्तो त छैन तर मीठो त अति नै हुन्छ ।’

म्यानेजरको कुराले किशोरलगायत अन्यको पनि केही हदसम्म जिज्ञासा शान्त भयो । नेपालको चालचलन, संस्कृति र रितीरिवाजबारेमा जानकारी राख्न मन पराउने मिजुकीको ध्यान समेत उतैतर्फ थियो ।

जेठोबूढो धानको भातसंगै अन्य तरकारी खाँदै गर्दा बढी स्वादिलो भएर हो कि के हो मिजुकीले धेरै समय खानाको तारिफमा नै खर्च गरी । त्यसो त जापानीहरु जे जस्तो भए पनि खानाको प्रशंसा नै गर्दछन् । यो कुरा मैले मिजुकीको संगतबाट नै थाहा पाएको हुँ । खाना खाई सकेपछि अघिको गिफ्ट दिदै उसले भनी, ‘यो मेरो जीवनको महत्वपूर्ण साथीलाई उपहार हो । म भोलि पोखरा छोड्दै छु ।’ 

हुन त उसको र मेरो बिचमा  सामान्य मित्रताबाहेक केही छैन तर अचानक उसको पोखरा छाड्ने कुराले मन अमिलो भयो । “हुन त म आफ्नो देशमा गएर तिमीहरुको देशमा जस्तो खुसी हुने छैन तर जानै पर्छ के गर्ने,” घर मन नपरेको चेलीलाई घर जानैपर्ने बाध्यता परेजस्तै गरेर मिजुकीले कुरा राखी ।

“मिजुकी यतिका बर्ष भयो हाम्रो भेट भएको तर एउटा कुरा सोध्न मन लागेको, सोध्न सकेको छैन के गरुँ ?” उसको अनुहारमा हेरें । 

“असल मित्रले पनि सोधी राख्नु पर्छ र ?” उसले भनी ।

मैले उसलाई सोधें, “मिजुकी, तिमी जहिले पनि एक्लै आउछेउ । आफ्नो ब्वाईफ्रेन्डको बारेमा पनि कहिल्यै बताइनौ, न त विवाहको बारेमा नै केही भन्यौ । के तिम्रो र मेरो मित्रतामा मैले यति कुरा थाहा पाउन  हुँदैन र ?”

मेरो प्रश्नले उ गम्भिर बनी । उसले एकोहोरो रेस्टुरेन्टमा माथिको काठको दलिनमा हेरी, उसको आँखाबाट एक थोपा आँसु तप्प टेबलमा खस्यो । सायद मैले नसोधेको भए हुने जस्तो लाग्यो । बाटो पारिको वरको रुखबाट आएको चराको सानो आवाजले दुबैको ध्यान खिच्यो । उ हल्का मुस्कुराई । मलाई अलि सहज भयो ।

“तिमी नेपालीहरु कति सरल छौ है,” उसले अगाडि भनी, “हेर मरहठ्ठा, जापानमा मेरो विवाह हुन सक्दैन । किनकी  मेरो ब्वाईफ्रेन्ड कोही हुन चाहेन ।”

मैले आश्चर्य हुँदै सोधें, “किन ?”

उसले लामो सास फेरि र भनी, “अमेरिकाले हिरोशिमामा बम खसाल्दा मेरी हजुरआमा त्यहीँ हुनुहुन्थ्यो रे । महिनौंको उपचार पछि  संयोगले बाँच्न सफल हुनुभएछ  ।” मेरो प्रश्नवाचक नजरले उसलाई हेरेपछि उसले भन्दै गई, “सन्तान कमजोर हुन्छन् भनेर हिरोशिमा र नागाशाकीमा त्यसबेला रहेर पनि बाँचेकाहरुको सन्तानसँग कसैले सम्बन्ध जोड्न चाहदैन । मेरी हजुरआमा पुरै सन्चो भएपछि टोकियो आउनुभयो र विवाह गर्नु भयो । तर, मेरी आमा जन्मेपछि हजुरआमाको बारेमा हजुरबुबाले थाहा पाउनुभएछ । र, छोडिदिनुभयो । मेरी हजुरआमा मेरी आमालाई लिएर त्यसपछि ओसाका जानुभयो । ओसाकामा ठूली भएपछि मेरी आमाको विवाह भयो र म जन्मिएँ । मेरो जन्म भएपछि मात्र मेरो बुबाले मेरो हजुरआमाको बारेमा थाहा पाउनुभएछ । त्यसपछि उहाँले पनि मेरी आमालाई छोडिदिनु भयो । तर मैले मेरी हजुरआमा र मेरी आमाले जस्तै आफ्नो विगत लुकाउन चाहिन । त्यसैले स्कूल पढ्दादेखि नै मेरो पृष्ठभूमि सबैलाई बताउँदै आएँ । सबैले सहानुभूति पनि राख्दै गए । तर, उमेर पुगेपछि म एक्लै हुन थालेँ । हाम्रोमा राज्यको तर्फबाट पाउने सुविधामा कुनै विभेद छैन । नागरिकको मनमा पनि सहानुभूति त छ तर पनि आफ्ना भावी सन्तानको मायाले हो कि केले हो, हामीसँग कसैले सम्बन्ध जोड्न चाहँदैन ।” 

उसको कुरा सुनेर म स्तब्ध भएँ । आखिर पीडा त सबैसँग हुँदोरहेछ । बाहिर सधैं खुसी देखिने उ पनि कति धेरै पीडा बोकेर हिँडेकी रहिछ । पीडा भुल्न उ सधैं आफ्नै काम र अध्ययनमा व्यस्त रहन्थी । कता कता उसको पीडाले मलाई पनि दुःखी बनायो  ।

तर, जीवनको यो मोडमा उसका लागि म केही पनि गर्न सक्ने अवस्थामा थिइनँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप