बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेस लुम्बिनीको पहिलो बैठक : पर्यटनमार्फत प्रदेशको विकासमा जोड

शुक्रबार, १६ पुस २०७८, २० : ०५
शुक्रबार, १६ पुस २०७८

नेपाली काँग्रेस, लुम्बिनी प्रदेश समितिको पहिलो बैठकले प्रदेशको विकासका लागि पर्यटन प्रवर्द्धनमा जोड दिने र यसका लागि आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको बैठकले गरेको निर्णयबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा काँग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमर पुनले धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनीको विकासका लागि सरकारले अगाडि बढाएका रणनीति, कामकारबाही र प्रगतिको अनुगमन गरी थप विकासका लागि आगामी योजना बनाएर पार्टीले मार्ग तय गर्ने निर्णय बैठकले गरेको जनाए ।

नेपाली काँग्रेस लुम्बिनीको ४ वर्षे अभियानमा स्पष्ट नीति, कार्यक्रम र योजना बनाएर संगठन निर्माण र जनहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै समग्र लुम्बिनी प्रदेशको विकासमा शान्तिभूमि लुम्बिनीलाई केन्द्रमा राखेर त्यसका माध्यमबाट पर्यटन प्रवर्द्धनका गतिबिधि गर्न सरकारलाई दिशा निर्देश गर्ने पनि बताए ।

प्रदेश समितिको पहिलो बैठकले सभापतिको प्रतिस्पर्धामा रहेका नेता भरतकुमार शाहलाई दोस्रो वरियतामा राख्ने निर्णय गरिएको पनि सभापति पुनले जानकारी गराए । शाह प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति समेत छन् ।

त्यस्तै प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्ने सिलसिलामा भूमिका निर्वाह गर्ने निर्वाचन समिति, प्रतिनिधि, पार्टीका नेता, व्यवस्थापन समिति, रुपन्देही जिल्ला कार्यसमिति, सुरक्षा निकाय, पत्रकार, भ्रातृ तथा शुभेच्छुक संघसंस्था सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

निर्वाचनको समयमा विचार समूहमा विभाजित भएर चुनाव लडे पनि निर्वाचनपछि पार्टी एक भएको उनले बताए ।

स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा वडादेखि केन्द्रसम्म पार्टीका उम्मेदवारलाई जिताउने तथा पार्टीलाई प्रविधिमैत्री बनाउने सभापति पुनले बताए ।

बिहीबार नै निर्वाचन समितिले प्रदेशको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप