शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

वर्तमान व्यवस्थालाई सुदृढीकरण गरेर अघि बढ्नुपर्छ : महामन्त्री थापा

शुक्रबार, १६ पुस २०७८, १९ : ०३
शुक्रबार, १६ पुस २०७८

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान व्यवस्थालाई सुदृढीकरण गरेर अघि बढ्नु बताएका छन् । ठमेलस्थित एलोफ्ट होटलमा आयोजित नेपाल जेसिसको पदस्थापन समारोहमा महामन्त्री थापाले नेपालमा अब अर्को राजनीतिक परिवर्तन गर्ने समय नभएको बताए ।

'नेपालमा अब अर्को राजनीतिक परिवर्तन गर्ने समय छैन । अर्को राजनीतिक परिवर्तनमा लागे मुलुक ३०/३५ वर्ष पछि धकेलिन्छ,' उनले भने, 'आजको ३० वर्ष पछि नेपाललाई बुढ्यौली लाग्छ। जापान जस्तो हुन्छ । त्यसैले अहिलेको व्यवस्थालाई नै बलियो सबल र सुदृढीकरण गरेर अघि बढ्नुपर्छ ।'

राजनीतिज्ञले देशका लागि केही गरेनन् भन्ने आक्रोश रहेको भन्दै त्यो आक्रोश जतिबेला पनि विस्फोट हुन सक्ने थापाको भनाइ छ ।

'राजनीतिज्ञले देशका लागि केही गरेन भनेर आक्रोश छ । त्यो आक्रोश जतिबेला पनि विस्फोट हुन सक्छ । युवामा व्याप्त आक्रोश न्यून गर्न जेसिसले भूमिका निर्वाह गर्नुपर्छ,' महामन्त्री थापाले भने, 'जेसिसमा आवद्ध भएहरुले म कुनै पनि राजनीतिक दलमा आवद्ध छैन भन्न पाउँछ । तर राजनीति भन्दा बाहिर छु भन्न मिल्दैन, उनले भने, जेसिसले लिबरल डेमोक्रेसी भन्दा बाहिर जान पाउँदैन । जेसिसले युवालाई लिबरल डेमोक्रेसीबारे अवेर गर्न आवश्यक छ ।' 

जेसिसले अब विजनेस आइडिया पनि प्रसार गर्न आवश्यक रहेको थापाले बताए । उनले भने, 'नेपाललाई अब सिकरभन्दा कृयटर मान्छे चाहिएको छ । जेसिसले च्यारिटी मात्र नगरोस् । जेसिसमा आवद्ध साथीहरु कुनै न कुनै व्यवसायमा आवद्ध नै हुनुहुन्छ । च्यारिटी सँगसँगै बिजनेस आइडिया प्रसार गर्न आवश्यक छ '
 
नेपाल जेसिस २०२२ का लागि अध्यक्ष जेसिआइ सिनेटर लीलामणि भण्डारीले पदभार ग्रहण गरेका छन् । एक वर्षे कार्यकालका लागि २१ सदस्यीय नया कार्यसमिति बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप