आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग

शुक्रबार, १६ पुस २०७८, १९ : ००
शुक्रबार, १६ पुस २०७८

 पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने भन्दै पुस २७ गते सार्वजनिक बिदा दिन माग गरिएको छ । राष्ट्रिय एकता परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीहरु लगायतका वक्ताले पुस २७ का दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा पूर्वमन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए । ‘यो सार्वभौम सम्पन्न देश नेपाल हो, नेपाली जनताको उन्नति, सुख र समृद्धि, सिङ्गो नेपालको उन्नतिका लागि विकास गरिदिने पृथ्वीनारायण शाहप्रति सबै नेपाली आभारी हुनुपर्छ,’ उनले भने ।

नेकपा (माले)का नेतासमेत रहेका उनले आफ्नो पार्टी पुस २७ गतेलाई राष्ट्रिय दिवस घोषणा गर्नुपर्ने बताउँदै आएको सुनाए । सरकारले सार्वजनिक बिदा दिएर पृथ्वीनारायण शाहप्रतिको आफ्नो कतव्र्य पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री मोदनाथ प्रश्रितले अनेक जातजातिमा बाँडिएको देश नेपाललाई एकीकृत गरेर पृथ्वीनारायण शाहले पूर्वदेखि पश्चिमसम्म चट्ट मिलेको देश निर्माण गरेको बताए । एकीकरणको नायक राजा नै भएको उनको भनाइ थियो ।

पूर्वमन्त्री बिपिन कोइरालाले राष्ट्रिय विभूति, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चर्चा गर्दै विदेशीको हातमा पर्न नदिएर देशलाई जोगाएको स्मरण गराए । उनले भने, ‘देशलाई अँग्रेजको हातमा पर्न नदिएर टुक्रा–टुक्रा राज्यलाई जोडेर पृथ्वीनारायण शाहले देश एकीकरण गर्नुभएको हो ।’

उनले पृथ्वीनारायण शाहको राष्ट्रिय एकता र बीपीको मेलमिलापको नीतिमा धेरै समानता भएको बताए । देश रहेमात्र नेपाली रहने भन्दै उनले राजसंस्थाले मात्रै राष्ट्रको अभिभावकत्व लिन सक्ने जिकिर गरे ।

परिषद्का काठमाडौं उपत्यका संयोजक दिनेश नापितले राष्ट्र बनाउने एकमात्र व्यक्ति भनेको पृथ्वीनारायण शाह नै भएको जिकिर गरे । उनले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिए ।

राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले पृथ्वीनारायण शाह, एकीकरण र एकताको शब्द एकआपसमा जोडिएको चर्चा गरे । उनले पुस २७ गते एकता दिवस मनाउनु पर्छ भन्ने नेताहरु नै धेरै पटक मन्त्री भएको तर मन्त्री भएपछि उनीहरुले सबै बिर्सिएको आरोप लगाए । 

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रोहितप्रसाद पौडेलले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते सभ्य र भव्य रुपमा मनाउने बताए । उनले उक्त दिन वीर अस्पतालमा जम्मा भएर सिंहदरबार जाने कार्यक्रम रहेको पनि जानकारी दिए ।

उनले भने, ‘कि त सरकारले पृथ्वीनारायण शाहले गरेको एकीकरण बेठिक थियो, मान्दैनौ भन्नुप¥यो । होइन भने सार्वजनिक बिदा दिन सक्नु्पर्छ ।’

राष्ट्रिय एकता परिषदका केन्द्रीय सदस्य रघु न्यौपानेले पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुक नेपाल आज खण्डखण्ड भएको बताए । पछिल्लो समयमा राजनीतिक दलहरुले देशलाई बिखण्डन गरेको उनको आरोप छ । उनले भने, ‘देशमा जनताले नचाहे पनि संघीयता लादिएको छ ।’

उनले पृथ्वीनारायण शाहको जन्मोत्सवको दिन पुस २७ गते सार्वजनिक बिदा दिएर विभिन्न कार्यक्रमका साथ मनाउन सरकारसँग माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप