शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनाका घाइतेको आकस्मिक उपचारका लागि स्वास्थ्य सामग्री प्रदान

शुक्रबार, १६ पुस २०७८, १७ : १२
शुक्रबार, १६ पुस २०७८

 सवारी दुर्घटनाका घाइतेको आकस्मिक प्राथमिक उपचारका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीले प्रदेशका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरे ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग सामग्री उपलब्ध गराइएको हो ।

उपकरण सहयोगका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको केन्द्रका निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । निर्देशनालयले प्यासेन्ट मोनिटर, अक्सिजन कन्सर्नट्रेटर, इसीजी मेसिन, ह्विल चियर, बेड, स्टेचर, अक्सिमिटर लगायतका उपकरण सहयोगस्वरुप उपलब्ध गराएको हो ।

सहयोग सामग्री हस्तान्तरण गर्दै मन्त्री निमा लामाले प्रदेशका ग्रामिण भेगसम्म सडक पूर्वाधारको विस्तार भईरहेको र दुर्घटनाको दरसमेत बढेकाले दुर्घटनाका घाइतेहरुको जीवन रक्षाका लागि सहयोगस्वरुप प्रदान गरिएका उपकरण उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले दुर्घटनाका घाइतेहरुलाई समयमै उद्धार र प्राथमिक उपचारका लागि मन्त्रालयले उपलब्ध गराएको उपकरणको सदुपयोग गर्न समेत सुझाव दिए । आगामी दिनमा प्रदेशका सवारीको बढी चाप हुने सडकको प्रत्येक ५० किलोमिटरमा स्वास्थ्यकर्मीको टीमसहित एम्बुलेन्सको व्यवस्था गरिने उनले बताए ।

प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई सबल बनाउन निरन्तर सहजीकरण एवं सहयोगका लागि काम गरिरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप