मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

कोषाध्यक्षको किर्ते हस्ताक्षर गरी पैसा पचाउने अध्यक्षविरुद्ध करिब १४ लाख बिगो माग्दै मुद्दा दायर

शुक्रबार, १६ पुस २०७८, १६ : १२
शुक्रबार, १६ पुस २०७८

सामुदायिक वनको सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुनतारा सामुदायिक वन उपभोक्ता समिति, इलामका अध्यक्ष राजेन्द्र थेबे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अन्य पदाधिकारीलाई थाहा नै नदिई सामुदायिक वनको रकम हिनामिना गरेको भन्दै थेबे विरुद्ध अख्तियारले १३ लाख ९७ हजार ७७७ रुपैयाँ बिगो माग दावी गर्दै मुद्दा दर्ता गराएको हो । 

यसरी भएको थियो सामुदायिक वनको रकम हिनामिना
अख्तियारले शुक्रबार विशेष अदालतमा दर्ता गराएको मुद्दाअनुसार जुनतारा सामुदायिक वन उपभोक्ता समिति, इलामका अध्यक्ष राजेन्द्र थेबेले अन्य पदाधिकारीलाई थाहा नै नदिई र कोषाध्यक्षको नक्कली हस्ताक्षर गरी चेकबाट रकम निकालेर उपभोक्ता समितिको रकम हिनामिना गरेका थिए । 

अख्तियारले दायर गरेको अभियोगपत्र अनुसार इलाम जिल्ला, माई नगरपालिका वडा नं. ९ (साविकको चिसापानी बोरङ वडा नं.– ९) स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेले अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकदार तथा सःमिलसँग समूहका गोलिया काठ दिन्छु भनी रकम लिएको तर नदिएको, २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा किर्ते सही गरी रकम निकाली हिनामिना गरेको भन्ने उजुरीका आधारमा अख्तियारले छानबिन गरेको थियो । 

उजुरीमाथि अनुसन्धान हुँदा जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेले समूहको निर्णय किताब तथा चेकबुक लगायतका कागजातहरु आफूले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा जम्मा भएको रकम कोषाध्यक्षको दस्तखतसमेत किर्ते गरी रकम निकाली खर्च गरेको, उक्त सामुदायिक वनका कार्यक्रमहरुको खर्च बिवरण तथा बिल भरपाईसमेत नदेखाई वदनियतपूर्ण ढङ्गले १३ लाख ९७ हजार ७७७ रुपैयाँ ४१ पैसा हिनामिना गरेको अभियोग पुष्टी भएको अख्तियारको दावी छ । 

सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर पुष्टी भएकाले उपभोक्ता समितिका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेलाई बिगो बराबर १३ लाख ९७ हजार ७७७ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद तथा बिगो बमोजिम जरिबाना हुन माग दावी गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप