आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाका असन्तुष्ट नेताहरु तमलोपालाई बिउँताउँदै

शुक्रबार, १६ पुस २०७८, १४ : २८
शुक्रबार, १६ पुस २०७८

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालभित्रका असन्तुष्ट पक्षले तत्कालीन पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बिउँताउने भएका छन् । त्यसका लागि लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र डा.विजय सिंहको नेतृत्वमा पहल भइरहेको बताइन्छ ।

एक महिना अगाडि निर्वाचन आयोगमा रवीशंकर कुमार कर्ण (सुभाष कर्ण) को अध्यक्षतामा तमलोपा दर्ता भइसकेको छ । कर्ण तत्कालीन तमलोपाको विद्यार्थी संगठनका उपाध्यक्ष थिए । विभिन्न ६ दलसँग एकीकरण गरेर राजपा नेपाल बनेपछि उनी निस्कृय भएका थिए ।

कर्णकै नेतृत्वमा गठन भएको सो दललाई सक्रिय तुल्याउन लोसपा नेपालका असन्तुष्ट नेताहरुले पहल थालेको बताइएको छ । तमलोपा गठनका लागि वृषेशचन्द्र लालले नै निर्देशन दिएको बताइन्छ । स्रोतका अनुसार लोसपाका कार्यकारिणी सदस्य विजय सिंहलाई तमलोपाको अध्यक्ष बनाउने र सो पार्टीलाई सक्रिय बनाउने तयारी भइरहेको हो ।

जसपा नेपालमा उपेन्द्र यादव र महन्थ ठाकुरबीच आन्तरिक विवाद चलिरहेको बेलादेखि नै तमलोपा गठनको अभियानमा नेताद्वय लाल र सिंह लागेका थिए । तर जसपा विभाजनपछि ठाकुरको नेतृत्वमा एउटा समूहले लोसपा नेपाल गठन ग¥यो । त्यसपछि तमलोपा दर्ता गराउने कार्य स्थागित भएको थियो ।

तर, लोसपा नेपाल पार्टीमा पुरानै समस्या सुरु भएको भन्दै नेता लालले तमलोपालाई सक्रिय गर्ने अभियान थालेको उनी निकटका नेता बताउँछन् ।

लोसपा गठन भएदेखि बैठक नबोलाइएको, पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झा गरी चारजनाले मात्र निर्णय गरेको आधारमा पार्टी सञ्चालन भइरहेको उनीहरुको गुनासो छ ।

‘पार्टी गठन भएको पाँच महिनाभन्दा बढी भइसक्यो तर हालसम्म बैठक कुनै बैठक बसेको छैन । न पार्टीको केन्द्रीय समिति गठन भएको छ, न राजनीतिक समिति गठन भएको छ,’ एक नेताले रातोपाटीसँग भने, ‘३१ सदस्यीय कार्यकारिणी समितिबाहेक पार्टीमा अरु कुनै संगठन छैन, पार्टीमा यतिका नेता छन् तर कसैलाई कुनै जिम्मेवारी दिइएको छैन ।’

चारजना नेताहरुलाई जे मन लाग्छ, त्यही गर्ने गरेका कारण तलसम्मै असन्तुष्टि देखिएको उनको भनाइ छ । पार्टीमा अरु थुप्रै योग्य र क्षमतावान नेता भए पनि कसैको वास्ता नगरिएको अवस्थामा त्यो पार्टीमा बसेर के गर्नु भनेर नै विकल्पको खोजीमा आफूहरु लागेको उनले बताए ।

अध्यक्ष ठाकुरले पछिल्लो समय गरेका मनोनयनको विरोध हुनु, काठमाडौंको केन्द्रीय कार्यालयमा धर्ना बस्नु नयाँ पार्टीलाई सक्रिय बनाउने अभियान अन्तर्गत नै भएको स्रोतले जनाएको छ ।

अध्यक्ष ठाकुरको निर्णयलाई विरोध गर्नेमा अधिकाँश नेता तथा कार्यकर्ता वरिष्ठ नेता महतो पक्षका छन् । बाँकी नेता लाल पक्षका छन् । पार्टीले समस्या समाधान गरेन भने नेता लाल र सिंहले तमलोपा बिउँताउने बताइएको छ ।

नेता लाल र सिंह लोसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता हुन् । अध्यक्ष ठाकुरले पार्टी सञ्चालन पुरानै ढर्रामा गरेको गुनासो उनीहरुको छ । पार्टी एकल नेतृत्व र सामूहिक निर्णयको आधारमा गठन भएको थियो । तर पार्टी एकल नेतृत्वकै आधारमा चलिरहेको गुनासो उनीहरुको रहेको निकट नेताहरु बताउँछन् ।

यस विषयमा प्रतिक्रियाका लागि नेता लाल उपलब्ध हुन सकेनन् । यद्यपि नवगठित तमलोपाका अध्यक्ष कर्णले उनीहरु पार्टीमा आउन चाहे आफू स्वागत गर्न तयार रहेको बताए ।

‘जसपा र लोसपाका थुप्रै नेतासँग कुराकानी भइरहेको छ, पार्टी विस्तारका क्रममा उहाँहरु आउनु हुन्छ भन्ने विश्वास छ तर को को आउनु हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन,’ कर्णले भने । उनी नेता लालाका आफन्तसमेत हुन् ।

काँग्रेसबाट विद्रोह गरेर महन्थ ठाकुरले २०६४ सालमा तमलोपा गठन गरेका थिए । पहिलो र दोस्रो संविधानसभामा सो दलको पनि उपस्थिति थियो । २०७४ मा मधेसका विभिन्न ६ वटा दलबीच एकीकरणपछि राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो ।

चार वर्षपछि सोही पार्टीका नेताले तमलोपा पुनः दर्ता गराएका छन् । सो पार्टीको चुनाव चिन्ह कलश छ भने पार्टीको झण्डामा माथिको आधा भाग केसरिया र आधा हरियो रङ छ । पार्टीको केन्द्रीय समिति हाललाई २१ सदस्यीय छ ।

पार्टीको सहसंयोजकमा रमेश प्रसाद अधिकारी र महासचिवमा महामन्त्री विमला साह छन् । सदस्यहरुमा रविन्द्र कुमार वर्मा, सरस्वती कुमारी कर्ण, नविन कुमार सिंहलगायत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप