शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'जनतालाई संघीयताको आभास दिलाउन गाउँगाउँमा स्वास्थ्य सेवा दिन्छौँ'

शुक्रबार, १६ पुस २०७८, ११ : ३९
शुक्रबार, १६ पुस २०७८

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा गाउँगाउँमा स्तरीय स्वास्थ्य सेवा प्रदान गरेर जनतामा संघीयताको अनुभूति दिलाउन आफूले पहल गर्ने बताउँछन् । स्वास्थ्य सेवा मानिसको आधारभूत आवश्यकता भएकाले स्वास्थ्यकै माध्यमबाट संघीयताको सफल कार्यान्वयन गर्न सकिने उनको बुझाइ छ ।

जनताको स्वास्थ्य उपचारका पक्षमा केही ठोस योगदानका लागि आफू मन्त्री बनेको उनी बताउँछन् । आम नागरिकको उपचारमा प्रदेशको जिल्लादेखि वडासम्मका स्वास्थ्य संस्थालाई सुधार गर्दै उपकरणयुक्त बनाएर सेवा विस्तार गर्ने उनको योजना छ । प्रस्तुत छ, प्रदेशमा कोरोना संक्रमण तथा स्वास्थ्य सेवाको अवस्था र आगामी योजनाबारे केन्द्रित रहेर रातोपाटीले मन्त्री लामासँग गरेको कुराकानीको सम्पादित अंश ः

प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भर्खरै सम्हाल्नु भएको छ, प्रदेशमा कोरोना संक्रमित र उपचारको अवस्था कस्तो छ ?

कोरोना महामारी कायमै छ । हिजोको दिनमा हामी कोभिड–१९ भन्ने बित्तिकै आतङ्कित हुने, डराउने, भाग्ने अवस्था थियो तर आज त्यो अवस्था छैन । कोभिड–१९ को नयाँ भेरियन्ट आएर नेपालसहित विश्वभरि नै उग्र रुप लिएको हामी सबैलाई अवगत नै छ ।

त्यतिबेला तीनै तहका सरकारसँग मिलेर कोभिड–१९ महामारीसँग लड्न बन्दाबन्दी गर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने जस्ता काम ग¥यौ । त्यसमा जनताले पनि आफ्नो स्थानबाट उत्तिकै सहयोग गर्नुभयो । हामीले कोभिड–१९ को महामारीसँग लड्न छोटो समयमा आइसोलेशन, भेन्टिलेटर, एचडियू, आइसियू जस्ता कोभिड उपचार कक्षहरु स्थापना गरेर काम गरेका थियौं । अहिलेको अवस्थामा आइपुग्दा मानिसहरुले केही सहजता महसुस गरेका छन् । यो रोग निको हुने प्रकृतिको रहेछ भन्ने मानिसहरुको मनस्थिति बनेको छ ।

प्रदेशमा मन्त्रालय विभाजन गरी स्वास्थ्य मन्त्रालय छुट्टै स्थापना गरिएको छ, यसको औचित्य के हो ?

कोभिडको उपचारमा थप काम गर्न सकियोस् र समवेदनशील अवस्थामा जनताको उपचार सहज रुपमा गर्ने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा स्वास्थ्य मन्त्रालय छुट्टै स्थापना गर्नुपर्छ भन्ने कुरा उठ्यो । त्यस अनुसार सामाजिक विकास मन्त्रालयबाट यो मन्त्रालय विभाजन गरियो । बजेटको हिसावले पनि स्वास्थ्य मन्त्रालयलाई केन्द्रित गर्नुपर्ने हाम्रो माग अनुसार विनियोजन पनि भयो ।

अहिले स्वास्थ्य मन्त्रालय अन्तर्गत कस्ता काम भएका छन् ?  

हामीले अहिले पनि कोरोना संक्रमण नियन्त्रणलाई नै केन्द्रित गरेर काम गरिरहेका छौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पनि कोरोना नियन्त्रणमा केन्द्रित हुने भन्ने भएकाले हामी भ्याक्सिनेशनमा जुटेका छौं । आम नागरिकलाई दुई डोज खोप लगाउने कार्यक्रम अनुसार त्यसैलाई निरन्तरता दिने र सहयोग गर्नेतर्फ हामी लागेका छौं ।

हामीले संघीय सरकारले दिएको टार्गेट पूरा गरेका छौं । हामीले अहिलेसम्म ७० प्रतिशतको हाराहारीमा नागरिकलाई कोरोना खोपको दुवै डोज प्रदान गरेका छौं । संघीय सरकाको अभियान अन्तर्गत चैत मसान्तसम्म सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने काममा हामी लागेका छौं । 

बालबालिकाको हकमा हामीले प्रदेशका ७ जिल्लाका विद्यालयमै खोप लगाउने व्यवस्था गरेका छौं । विद्यालयबाट बाहिर रहेका बालबालिकाको हकमा सम्बन्धित वडा वा पालिकामै खोप लगाउने व्यवस्था मिलाएका छौं । प्रदेशको अन्य ६ जिल्लामा पनि केही समयभित्रै खोप कार्यक्रम सञ्चालनको तयारीमा छौं । काठमाडौं उपत्यकासहित चितवन, सिन्धुली र काभ्रे जिल्लामा केही दिनभित्रै प्रत्येक स्कुलमा १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाको लागि फाइजर खोप प्रदान गर्ने व्यवस्था मिलाउने छौं ।

हाम्रो बुझाइ भनेको भ्याक्सिनले कोरोना नलाग्ने भन्दा पनि जटिलता हुन नदिने भन्ने छ । त्यसैले सबै नागरिकले भ्याक्सिन अनिवार्य रुपमा लगाउँदा राम्रो हुन्छ । यसका लागि संघीय सरकारले मसहित १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक काम गर्न निर्देशन दिएको छ, हामी त्यसमा केन्द्रित भएका छौं ।

बागमती प्रदेशमा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ८४ जना छ, जसमध्ये १ हजार ७६२ जना होम आइसोलेशनमा छन् । भेन्टिलेटरमा १७ जना र ६२ जना अस्पतालमा उपचाररत छन् । एक जनाको भने निधन भएको हाम्रो तथ्याङ्क छ । अहिलेको यो तथ्याङ्क हेर्ने हो भने संक्रमित र निको हुनेको संख्या पनि बराबर अनुपातमा छ ।

हामीले मन्त्रालयबाट कोरोना नियन्त्रणका बारेमा सचेत रहन नागरिकहरुलाई जानकारी दिने तथा स्वास्थ्य मापदण्ड अपनाउन आह्वान गर्ने जस्ता काम गरिरहेका छौं ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा उपचारमा के काम हुँदैछ ?

कोरोनाको नयाँ भेरियन्ट आइसकेपछि युरोपका धेरै देशमा लकडाउन गरिएको अवस्था छ । पश्चिमा मुलुकमा अहिले यो नयाँ वर्ष र ख्रिसमसमा हुने चहलपहलले जटिलता नथपोस् भन्ने उद्देश्य पनि लकडाउन गरिएको हुनसक्छ । छिमेकी मुलुक भारतमा पनि ओमिक्रोनले केही समस्या देखाएको छ । त्यहाँ केही मात्रामा संक्रमितहरु देखिएका छन् । भारतसँग खुला सीमा भएका कारण नेपालमा पनि त्यसको असर देखिन थालेको अवस्था हो ।

नेपालमा सुरुमा २ जनामा ओमिक्रोनको संक्रमण देखिएको थियो । उनीहरुलाई आइसोलेशनमा राखेर कन्ट्याक्ट ट्रेसिङको काम गरेर ६५ जनालाई परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण देखिएन । पछि फेरि एक जनामा संक्रमण भेटियो । ओमिक्रोनको संक्रमण देखिने बित्तिकै डराउनु पर्ने अवस्था पनि होइन । यसको संक्रमण दर तीव्र भए पनि जटिलता भने नभएको पाइएको छ तर हामीले सावधानी भने अपनाउनु पर्छ ।

विगतको अनुभवलाई सँगालेर त्यसबाट पाठ सिक्दै आगामी दिनमा कोरोनाका नयाँ भेरियन्टको सामना गर्नतर्फ हाम्रो सबै संयन्त्रलाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौं । अस्पतालमा बेड र अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यका साथ त्यसको व्यवस्थापनमा जुट्न निर्देशन गरिसकेका छौं ।

हामीले सबै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेका छौं । हामीले प्रदेशका विभिन्न अस्पतालमा अक्सिजन प्लान्टहरु स्थापना गरिसकेका छौं । त्यहाँ आवश्यक पर्ने औजार, उपकरण, एक्स रे एआआई, सिटी स्क्यानहरु १३ वटै जिल्लाका अस्पताललाई उपलब्ध गराएर त्यहीँ नै कोभिड–१९ संक्रमितहरुको उपचारको व्यवस्था गर्ने र कोरोना परीक्षणका लागि पनि पीसीआर मेसिनहरु जडान गरेर सञ्चालनमा ल्याइसकेको अवस्था छ ।

स्वास्थ्यकर्मीले विगतमा पाउनु पर्ने जोखिम भत्ता तथा सुविधाहरु हालसम्म पनि पाउन सकेका छैनन् नि ?

हामीले फ्रन्ट लाइनर स्वास्थ्यकर्मीहरुको अवस्था बुझेका छौं । विगतमा भएका कमी कमजोरीलाई सुझार गर्नेतर्फ म जिम्मेवार भएर अघि बढेको छु । कोरोना संक्रमितहरुको उपचारमा खटिने फ्रन्ट लाइनरहरुको हकमा हामीले बुष्टर डोज खोपको लागि पनि संघीय सरकारसँग समन्वय गरेर उहाँहरुलाई तयारी अवस्थामा राख्ने काम भएका छन् ।

केही स्वास्थ्यकर्मी कोरोना संक्रमणको जोखिमको बेलामा करारमा पनि नियुक्त गरिएका थिए । उहाँहरुको करार अवधि पनि पुस मसान्तबाट समाप्त हुँदैछ । कोरोना संक्रमणको जोखिम अझै कायम रहेका कारण उहाँहरुलाई आगामी असार मसान्तसम्म करार थप गर्न संघीय सरकारसँग अनुरोध गरिसकेको छु । यो संघीय सरकारको कार्यक्रम भएको हुनाले जोखिम भत्ताका बारेमा पनि छिट्टै उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गरेका छौं । हामीले आफ्नो ठाउँबाट पनि त्यसबारेमा केही गर्नका लागि एउटा टीम खटाएका छौं । फ्रन्ट लाइनरलाई अपमान र हतोत्साहित पार्ने काम हामीबाट हुँदैन ।

हिजोको दिनमा आइसियू, एचडियू, भेन्टिलेटर र अक्सिजन नपाएर धेरै क्षति व्यहोर्नु परेको थियो । बेड अभावमा बिरामीलाई भुइँमा राखेर उपचार गुर्नुपर्ने बाध्यता थियो । कतिपय स्थानका संस्थागत आइसोलेसन बन्द भइसके । कोरोनाले थप जटिलता ल्याउने सम्भावना बढेको छ । यसको तयारीका लागि के भइरहेको छ ?

हामीसँग आइसियू र भेन्टिलेटर पर्याप्त मात्रामा छ । त्यतिमात्र नभएर हिजो अस्थायी रुपमा स्थापना भएका आइसोलेशनहरुलाई संचालन गर्ने भन्दा पनि हामी अहिले अस्पतालहरुलाई नै विस्तार गरेर कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्ने पक्षमा छौं । ती अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने काममा हामी छौं । अर्को कुरा, पछिल्लो समय कोरोना संक्रमणबाट बालबालिकालाई बढी जोखिम हुने भन्ने कुरा आएसँगै हामीले प्रदेशका सबै अस्पताललाई न्युनतम १० वटा बेड बच्चाका लागि तयार गर्न निर्देशन पनि दिएका छौं । हाम्रो तथ्याङ्क अनुसार कोरोना संक्रमितका लागि हामीसँग अब बेड अभाव हुने अवस्था छैन । हामीले प्राइभेट अस्पतालहरुलाई पनि तयारी अवस्थामा बस्न र बेडहरु तयार पार्नसमेत निर्देशन दिएका छौं । ती अस्पतालमा आवश्यक अक्सिजन, आइसियू जस्ता उपकरणहरु मन्त्रालयबाट उपलब्ध गराउने गरी तयारी गरेका छौं ।

हामीले कोरोनाको खोप लगाउने कार्यलाई तीव्रता दिएका छौं । हिजो हामीले कोरोनाको खोप नहुँदा जटिलता सहनु परेको थियो । तर आज बागमती प्रदेशमा त्यस्तो अवस्था छैन । खोप लगाएकालाई कोरोना नलाग्ने भन्ने होइन तर जटिलता कम हुने भन्ने देखिएको छ । जटिलता नभएपछि उहाँहरुलाई अस्पतालका आइसियूमा नै पु¥याउनु पर्ने अवस्था नआउन सक्छ । आम नागरिकलाई बचाउनु हाम्रो जिम्मेवारी हो । जनताको स्वास्थ्यको जिम्मेवारी मेरो मन्त्रालयभित्र छ, हामी त्यसमा जिम्मेवार भएर अघि बढेका छौं ।

प्रदेशको कतिपय स्थानमा अझै सिटामोल पनि नपाउने अवस्था कायमै छ । यो समस्या तपाईले पनि देख्नु भएकै होला । यसमा सुधारका लागि कस्तो योजना छ ?

हामी अहिले संघीताको कार्यान्वयनको चरणमा छौं । मेरो विश्वास के हो भने जनतालाई संघीयताको आभास दिलाउने भनेको गाउँगाउँमा स्तरीय स्वास्थ्य सुविधाबाट नै हो । यो मेरो चाहना पनि हो र म त्यही अनुसार काम गरिरहेको छु । प्रदेशको कुनै ठाउँको सामान्य बिरामी तथा अपरेसन नै गर्नुप¥यो भने पनि काठमाडौं लानुपर्ने अवस्थामा छौं । त्यो अवस्था रह्यो भने हामीले संघीयता कार्यान्वयन, अधिकारलाई विकेन्द्रिकृत गर्ने भन्ने कुराले सार्थकता पाउने अवस्था रहँदैन । त्यसो हुँदा स्वास्थ्य सेवालाई सबै जिल्लाका अस्पतालमै उपलब्ध गराउन हामी लागिपरेका छौं । जिल्लाको अस्पताललाई सुधार गर्न हामी केन्द्रित छौं । त्यो अस्पतालमात्र सुध्रिएर हुँदैन, त्यहाँसम्म आइपुग्नु पर्ने स्थानीय तहको स्वास्थ्य केन्द्रहरु र गाउँका बर्थिङ सेन्टरहरुलाई सुविधा सम्पन्न गराएर त्यहाँ चाहिने आधाभूत कुरा उपलब्ध गराउने पक्षमा मन्त्रालय छ ।

बागमती प्रदेशमा सहरी क्षेत्र बढी रहेको र त्यहाँका मानिसको दिनचर्याका कारण नसर्ने रोगका विभिन्न समस्या पनि बढिरहेका छन् । ती समस्यालाई पनि निर्मुल पार्न र गाउँको कुनै ठाउँमा कसैलाई समस्या प¥यो भने अस्पताल नपु¥याउँदासम्म हुने प्राथमिक उपचारका काम गर्न आवश्यक औषधि र सामग्रीहरु उपलब्ध गराउने काम गरिरहेका छौं ।

संविधानले नै स्वास्थ्यलाई मानिसको आधारभूत आवश्यकता भनिसकेकाले त्यसलाई सरल र सर्वसुलभ गर्नतर्फ हामी तयार छौं । त्यस्तै हामीले रागमार्ग क्षेत्रमा हुने दुर्घटनामा मनिसहरुको ज्यान नगुमोस् भन्ने उद्देश्यका साथ प्रदेशको ५ ठाउँमा आपत्कालीन उपचारका लागि पेड्रियोडिक टीमको सामग्री हस्तान्तरण गर्ने तयारी गरेका छौं । त्यसबारे स्वास्थ्यकर्मीहरुलाई तालिम दिने तयारी गरिरहेका छौं ।

म जनताको काम गर्न आएको हुँ । मलाई कुनै लोभलालच पनि छैन । जनताको हितको काम गर्दा अपनाउनु पर्ने सम्पूर्ण सजगता अपनाएर स्वास्थ्य क्षेत्रमा केही सुधारका काम गरेरमात्र जानेछु । प्रदेशको स्वास्थ्य क्षेत्रको विकृति सुधार्नु मेरो जिम्मेवारी हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम सुरु गर्नुपूर्व नै राजनीतिक भर्ती केन्द्र बनेको चर्चा छ । संरचना अभाव उस्तै छ । यो जनताको लागि कि कार्यकर्ता पाल्नको लागि स्थापना गरिएको हो ?

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपति पनि भएको नाताले म यसको बारेमा धेरै जानकार छु । यसको बारेमा सदनमा विधेयक आउँदादेखि नै म धेरै कुराको जानकार छु । सदनमा यसको विधेयकमाथि छलफल हुँदा म आफैले पनि भाग लिएको छु । यसलाई राम्रो बनाउन के गर्नुपर्छ भन्नेबारे सदनमा पनि ऐन कानुन बनाउँदादेखि नै म जानकार छु । यो प्रतिष्ठान कुनै व्यक्ति वा पार्टीको होइन । नामको कुरा गर्दा मदन भण्डारी कुनै पार्टीसँग जोडिए होला तर यो बागमती प्रदेशको स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । प्रदेशको सम्पत्ति हो । यो सफल भयो भने प्रदेशको नाम आउँछ । यसलाई मैले प्राथमिकताका साथ हेरेको छु । यसलाई सुधार गर्न केही कदम चाल्नुपर्ने अवस्था आउन सक्छ । यसबारे अध्ययन भइरहेको छ । यसबारे धेरै जानकारी पनि लिइसकेको छु । यसलाई सुधार गरेर प्रदेशकै एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा बनाउन लाग्नेछु ।

हिजो कुनै व्यक्तिले आफ्नो बनाउन खोजे होला वा कसैलाई त्यस्तो आभास भएको छ भने त्यस्तो भ्रम नपाल्न आग्रह छ । यो बागमती प्रदेशकै स्वास्थ्य विज्ञान प्रतिष्ठान हो र यसलाई अध्ययन संस्थान बनाउन, जनताको छोराछोरी पढाउनका लागि म तयार छु । त्यही अनुसार काम गर्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप