शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्री पोखरेल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

बिहीबार, १५ पुस २०७८, २० : १६
बिहीबार, १५ पुस २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री र राजदूत बीच भएको भेटवार्तामा द्विपक्षीय सहयोगका बारेमा छलफल भएको थियो । 

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले फ्रान्सले नेपालका लागि गर्दै आएको खाद्य सहयोग, पेट्रोलियम पदार्थ अन्वेषण, खानेपानी वितरण लगायतका परियोजनाको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै २ मुलुकबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको मुख्यमन्त्रीको भनाइ थियो । 

नेपालबाट हाते कागजका साथै हस्तकलाका सामग्री, गार्मेन्ट, ऊनका सामग्री र चाँदीका गरगहना निर्यात हुँदै आएको पनि मुख्यमन्त्रीले बताए । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको विकासको आधार पर्यटन रहेको बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणको अन्तिम चरणमा पुगेकाले फ्रान्सबाट थप पर्यटक नेपाल आउने विश्वास व्यक्त गरे । पर्यटन प्रवर्द्धन, जलविद्युत लगायतका क्षेत्रको विकासका लागि विदेशी लगानी आवश्यक रहेकाले फ्रान्सलाई लगानी गर्न समेत मुख्यमन्त्री पोखरेलले आग्रह गरे । 

नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओले नेपालको बहुपक्षीय विकासका लागि सहयोग गर्न फ्रान्स तयार रहेको बताए । उनले फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेर कीर्तिमान रचेको स्मरण गर्दै गण्डकीका आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप