सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कारोबार प्रमाणित भए ५ वर्ष जेल जान सक्छन् लाउरे

बिहीबार, १५ पुस २०७८, १८ : ५७
बिहीबार, १५ पुस २०७८

लागू औषध कारोबार र प्रयोगमा आरोपमा बुधबार पोखराबाट पक्राउ परेका र्‍यापर लाउरे ५ वर्षसम्म जेल जानसक्ने सम्भावना देखिएको छ । प्रचलित कानुन अनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा र्‍यापर लाउरेका नामले परिचित आशिष राना मगर ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको हो । 

बुधबार राती कास्कीको न्युरोडस्थित एक घरबाट र्‍यापर लाउरे र उनीसँगै रहेकी एक युवतीलाई पनि पक्राउ गरिएको थियो । उनीहरूसहित लागू औषधको कारोबार र प्रयोगमा संलग्न अन्य केहीलाई पनि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । र्‍यापर लाउरे संलग्न रहेको उक्त लागू औषध प्रकरणमा करिब १५ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको बताइएको छ । 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार र्‍यापर लाउरेको प्रत्यक्ष संलग्नतामा ब्राउन सुगरको डिलिङ र किनबेच भएको पाइएको छ । प्रहरीले प्रयोगकर्ता र डिलरको चेन खोज्दै जाने क्रममा युवतीसँगै रहेका र्‍यापर लाउरे पक्राउ परेका हुन् । उनी पनि कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । 

बिहीबार तमु ल्होसारको बिदा परेको कारण शुक्रबार लाउरेको म्याद थपेर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । 

लागू औषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ । उक्त ऐनको दफा १४ को उपदफा १ (छ) मा अफिम, कोका वा सोबाट बनेको लागू औषधको कारोबार गर्नेलाई मात्रा हेरी सजाय गर्ने व्यवस्था छ । दफा १४ को उपदफा १(छ) को बुँदा १ मा २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । 

तर यदि र्‍यापर लाउरेले कारोबार गरेको पुष्टि नभएको तर सेवन गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ । एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप