बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको प्रतिक्रिया : ‘भोलि दल दर्ता हुन्छ, एमालेमा जान्नँ’

बिहीबार, १५ पुस २०७८, १८ : ०२
बिहीबार, १५ पुस २०७८

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीले शुक्रबार दल दर्ताका लागि निवेदन दिने भएका छन् । चौधरी स्रोतका अनुसार शुक्रबार नै चौधरीले दल दर्ताका लागि कारागार कार्यालयमा निवेदन दिने भएका छन् । 

यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनी छुट्टै पार्टी खोल्ने तयारीमा रहेका हुन् । 

चौधरीले ‘नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी’ नामक दल दर्ता गर्न लागेका हुन् । चौधरी स्रोतका अनुसार शुक्रबार मध्यान्ह १२ बजेदेखि १ बजेको समयमा निर्वाचन आयोग पुगेर चौधरीको वारेसका रुपमा श्रीमती रञ्जिता श्रेष्ठले दल दर्ताको निवेदन दिन लागेकी हुन् । 

रातोपाटीलाई प्राप्त कागजातअनुसार चौधरीले २०१ जनाको केन्द्रीय सदस्य रहने गरी नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी दर्ता गर्न लागेका हुन् । नयाँ पार्टीको चुनाव चिन्ह ढकिया राख्न लागिएको छ । त्यसैगरी पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिन लागेको दस्तावेजमा उल्लेख छ ।

पार्टीमा सक्रिय राजनीतिको उमेर हद ६५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ र २७ जनाको पदाधिकारी समाज रहने उल्लेख छ । पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, तीनजना वरिष्ठ नेता, एक महासचिव, ७ जना सचिव, एक कोषाध्यक्ष र सातजना सह कोषाध्यक्ष रहने उल्लेख गरिएको छ । 

त्यस्तै पार्टीको विधानमा व्यवस्था गर्नेगरी केन्द्रीय सदस्य पदमा मुक्त कम्लरीबाट एक, हलिया, हरुवा–चरुवाबाट एक, वादी महिलाबाट एक, पिछडा वर्गबाट ३ र सीमान्तकृत समुदायबाट ९ जना केन्द्रीय सदस्य अनिवार्य गर्ने उल्लेख गरिएको छ । त्यसैगरी नयाँ पार्टीको शासकीय स्वरुपमा संघीयता, धर्म निरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिने उल्लेख गरिएको छ । त्यसैगरी दलित जनजाति, थारु, मुस्लिम महिलाका लागि अनिवार्य आरक्षित सिटको व्यवस्था गरिने उल्लेख छ । 

त्यस्तै चेपाङ, राउटे, कुसुन्डा, सत्याल, माझी आदिका लागि निर्वाचन नै नहुने गरी अनिवार्य संरक्षित सिटको व्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यसैगरी मन्त्रालयमा मन्त्री बनाउने वा बन्ने व्यक्ति सम्बन्धित विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरु नै हुनुपर्ने उल्लेख छ ।

कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, अर्थजस्ता मन्त्रालयमा विज्ञता हासिल गरेका सचिव र मन्त्रीहरु नियुक्त हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । दल दर्ताका क्रममा सातवटै प्रदेशबाट जनजाति, दलित, मुस्लिम, महिला आदि सबैलाई समेटेर संविधान अनुसारकै व्यवस्था गर्ने पनि उल्लेख छ । 

मधेसवादी दल स्वार्थमै केन्द्रीत भएको आरोप

तत्कालीन राजपाबाट कैलाली क्षेत्र नम्बर १ बाट सांसद पदमा विजयी भएका रेशमलाल चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गरी विजयी भएका थिए । कैलालीबाट राजपाले समानुपातिकतर्फ ५८ हजारभन्दा बढी मत प्राप्त गरेको थियो ।

चौधरीकै दावीलाई मान्ने हो भने थारु समुदाय र रेशमलाल चौधरी तर्फका उम्मेदवारबाट राजपालाई एक लाख ५० हजारभन्दा बढी मत समानुपातिकतर्फ प्राप्त भएको थियो । तर थारु समुदाय र चौधरी पक्षधरबाट पाएको मतकै आधारमा राष्ट्रिय पार्टी बनेको राजपाले थारु समुदाय र चौधरीको पक्षमा केही नगरेको भन्दै चौधरीले नयाँ पार्टी दर्ता गर्न लागेको उनी निकट स्रोतले बताएको छ । 

मधेसवादी दलले थारु समुदायलाई भोट बैंकका रुपमा मात्रै लिएको र चौधरीलाई देखाएर सत्ताको बार्गेनिङ मात्रै गरेको चौधरीले आरोप लगाउने गरेका छन् । चौधरी निकट स्रोतले रातोपाटीलाई भन्यो, ‘हामीले मधेसवादी दललाई भनेको कुरा के हो भने सडक, सदन र सरकारसँग रेशम चौधरीको मुद्दालाई उठाइदिनुपर्यो भन्ने थियो । तर उहाँकै दल र अन्य मधेसवादी दलले चौधरीलाई नै देखाएर सत्ताको बार्गेनिङ गर्ने काम मात्रै गरिरहे । उनीहरुले २ नम्बर प्रदेशलाई मात्रै आफ्नो थलो देखे । त्यसपछि हामी बाध्य भएर नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा आइपुग्यौँ ।’

आफू अध्यक्ष हुन नपाए श्रीमती बन्ने

कर्तव्य ज्यान मुद्दामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी यतिबेला कारागार कार्यालय डिल्लीबजारमा बन्दी जीवन बिताइरहेका छन् । यद्यपि उनको मुद्दा यतिबेला सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेको छ र अन्तिम अदालतबाट फैसला भइनसकेको अवस्थामा उनकै अध्यक्षतामा दल दर्ता गर्न पाउने कि नपाउने भन्ने अन्योल नै छ । 

यदि दल दर्तासम्बन्धी ऐनले आफूलाई अध्यक्ष बन्नबाट रोक लगाएमा आफ्नी श्रीमतीलाई दलको अध्यक्ष बनाउने गरी तयारी भइरहेको उनी निकट स्रोतले बताएको छ । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अब राजनीतिमा आउने क्रममा रहेको स्रोतले बताएको छ ।

चौधरीले अत्यधिक बहुमतका साथ चुनाव जितेका कारण चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले पनि थारु समुदाय र टीकापुर क्षेत्रबाट निर्वाचनमा गएमा जित्ने दावी गरिएको छ । त्यसैकारण पनि चौधरी अध्यक्ष हुन नपाए श्रीमती रञ्जितालाई अध्यक्ष बनाउने र चुनावमा उठाउने तयारी भइरहेको छ । 

चौधरी निकट स्रोतका अनुसार निर्वाचन आयोगले सनाखत गर्न बोलाएको दिन थारु, वादी, जनजाति आदि समुदायको भेषभूषा, बाजा र झाँकीसहित निर्वाचन आयोग गएर दल दर्ता गर्ने तयारी भइरहेको छ ।

एमालेमा जाने सम्भावना नै छैन
यसैबीच रेशमलाल चौधरीले नयाँ पार्टी दर्ता गरी एमालेमा जान लागेको समाचार झूटो भएको प्रतिक्रिया दिएका छन् । रातोपाटीमा प्रकाशित समाचारबारे डिल्लीबजार कारागारबाटै प्रतिक्रिया दिँदै उनले आफू एमालेमा जान लागेको कुरा कपोलकल्पित र भ्रामक रहेको दावी गरे ।

चौधरीले भनेका छन्- ‘नयाँ दल दर्ता गरेर एमालेमा जान लागेको जुन समाचार बाहिर ल्याइएको छ, यसमा थारु समुदायलाई टुक्र्याएर आफ्नो स्वार्थ सिद्ध गर्ने समूहको स्वार्थ गाँसिएको छ । म एमालेमा जाने भए नयाँ दल दर्ता गर्ने नै थिइन । यो छुट्टै दल हो र एमालेमा जाने न कुनै सम्भावना छ न आकांक्षा नै । दल दर्ता गरेर भोलि राजनीतिक सहकार्य त कुनै दलसँग हुन सक्ला तर एमालेमा जाने भन्ने समाचार सरासर झुट हो । त्यो सम्भव नै छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप