मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रवेश गर्ने क्रममा २ भारतीयमा कोरोना संक्रमण पुष्टि

बिहीबार, १५ पुस २०७८, १७ : १७
बिहीबार, १५ पुस २०७८

विराटनगरको रानी नाकामा दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको एन्टिजेन परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुलाई भारत नै फर्काइएको छ ।

भारतमा ओमिक्रनको नयाँ भेरियन्ट देखापरेपछि पहिलोपटक सीमा नाकामा गरिएको परीक्षणमा दुई भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकाले सीमा नाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले  भारतबाट नेपाल आउने दुई जना भारतीयमा कोरोना संक्रमण देखिएको बताए ।

स्वास्थ्य परीक्षण गर्ने क्रममा भारत पूर्णियका १४ वर्षीय बालक र अर्का एक भारतीयमा कोरोना संक्रमण देखिएको उनले बताए । ‘संक्रमण देखिएपछि उनीहरुलाई भारत नै फिर्ता पठाइएको छ’ यादवले भने । भारतीय मुलका १४ वर्षीय कालम धरानको एक नीजि विद्यालयमा अध्ययनरत्त रहेको समेत यादवले जानकारी दिए । अर्का एक भारतीय भने घुम्न पूर्वी नेपाल आएका थिए । 

यसभन्दा अघि एन्टिजेन परीक्षणका क्रममा कसैमा पनि कोरोना संक्रमित फेला नपरेको यादवले बताए । यादवका अनुसार आज सो नाकाबाट नेपाल प्रवेश गर्ने ११६ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल प्रवेशका लागि आएका दुई भारतीय नागरिकमा कोरोना संक्रमण देखिएकाले उनीहरुलाई भारतीय प्रहरीसँग समन्वय गरी भारत फिर्ता पठाइएको बताए । उनले कोरोना संक्रमणको उच्च निगरानीका लागि मुख्य नाका क्षेत्र रानीलाई व्यवस्थित गदै लैजाने पनि बताए ।े छिमेकी मुलुक भारतमा अहिले कोरोनाको संक्रमण फैलिरहेकाले नेपालमा पनि यसले जोखिम बढ्दै गएको जनस्वास्थ्य विज्ञ नवराज सुब्बाले बताए ।

‘खुला सीमा भएका कारण छोटी नाका लगायतका सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको संख्या बढ्न सक्छ ’जनस्वास्थ्य विज्ञ सुब्बा भन्छन्‘ नागरिक यस्ता विषयमा अहिलेसम्म सचेत देखिँदैनन्,फाटफुट कोरोनाका केस देखिन थालेको छ ।’ सरकार समयमै आवश्यक तयारीमा जुट्न आवश्यक रहेको उनले बताए ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा अहिले १०९ जना सक्रिय संक्रमित रहेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप