प्रचण्डलाई भगवान घोषणा गर्नुपर्छ भन्ने हाम्रो मान्यता छैन तर....
विसं. २०६९ सालको हेटौडा महाधिवेशनको हलमा प्रतिनिधि बनेर उभिने अवसर पाएको बेला समूहको धारणा प्रस्तुत गर्दै भनेको थिएँ, ‘भीषण जनयुद्ध २०५७ मा ऐतिहासिक दोश्रो राष्ट्रिय सम्मेलनले विकास गरेको ऐतिहासिक प्रचण्डपथ थियो । तपाईले आफ्नै पथको किन सजिलै स्थगित गर्ने निर्णय लिनुभयो र हटाउने निर्णय लिनुभयो ?’
तपाईले सबैको चित्त दुःखाउने जवाफ दिनुभएको थियो । सिंगो पार्टीको चित्त दुख्ने गरी आत्मसमीक्षा गरेर तपाईले कसरी जवाफ दिन सक्नुभयो ? विगत ३ दशकदेखि देश माओवादीको एजेण्डामा हिँडिरहेको छ । नेपालमा राजनीतिक युग बदल्ने काम हामी माओवादीले गरेका छौँ । प्रगतिशील संस्कृतिको उच्च केन्द्रीकरण भएको छ । यसर्थ हाम्रो समूहका तर्फबाट अत्यधिक मतसहितको दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवादलाई हाम्रो मौलिकतामा समेट्दै र केन्द्रीकरण गर्दै यस महाधिवेशनबाट प्रचण्ड विचारका रुपमा सबै बिचार समेटियोस् वा प्रचण्ड बिचारलाई अघि सारियोस् ।
यसो गर्दाखेरि हामीलाई बोध छ, सायद अगामी दिनमा प्रचण्ड बिचार नमान्नेहरु एकता गर्न नआउन सक्छन् । हामी एकताबिरोधी हैनौँ । हामी संकुचित हुनुहुँदैन । हामीले लिएको बिचारलाई सम्मान गर्ने र हामीले बनाएको इतिहासलाई सम्मान गर्दै हाम्रा कमरेडहरु एकता गर्न आउनुहुन्छ भने कमरेडले हात फैलाउनुपर्छ । अन्यथा म अध्यक्ष कमरेडलाई मेरो समूहको प्रतिनिधित्व गर्दै सचेत पनि गराउन चाहन्छु कि साना साना झुण्ड भित्र्याएर एकता भन्ने र आफूभित्र भएका उर्जाशील क्रान्तिकारी कमरेडहरुको मनोबल गिराउने काम बन्द गरिनुपर्छ ।
पार्टी नेतृत्वले कमरेडहरुप्रति भरोसा राख्नुपर्छ, जसले आफ्ना प्रिय आफन्तहरु गुमाएर सहिद परिवारको रुपमा हुनुहुन्छ, जसले शरीरको अंग गुमाएर बैशाखी टेक्दै हिँडिरहनुभएको छ, ती जनमुक्ति सेना र वाइसिएलहरु, जसले जिविकोपार्जनको खोजी गर्दै खाडी मुलुकमा पुगेर पनि नेतृत्वको खबरदारी गरिरहेका छन् । ती आम समुदाय, जसलाई माओवादी पार्टीको सहारा चाहिएको छ, तपाईको भरोसा त्यसैमा छ, तपाईले भरोसा यसैमा गर्नुपर्छ । यसो भयो भने हामी कार्यकर्ता कमजोर हुने छैनौँ ।
साथै तपाईले दस्तावेजमा जे–जे आत्मसमीक्षा गर्नुभएको छ, त्यो आम जनता, सहिद परिवारप्रति केन्द्रित छ, त्यसलाई अक्षरशः पालना गर्नुपर्नेछ । नेता र नेतृत्व फरक कुरा हो । नेताहरु हजार–हजार जन्मिएका रहेका हुन्छन्, नेतृत्वले युगलाई अगाडि लैजान सक्षम हुनुपर्छ । यदि त्यस्तो अभूतपूर्ण नेतृत्व कोही छ भने त्यो माओवादी केन्द्रको प्रचण्ड हो ।
कहिलेकाँही हामी नेतृत्वलाई भगवान मान्छौँ र अनावश्यक पूजा गर्छौं । कहिलेकाँही उग्र क्रान्तिकारिता प्रस्तुत गर्छौं र नेतृत्वको आलोचना गर्छौं । महाधिवेशनको हलमा प्रचण्डको ठूलो फोटो राखेर खुसुक्क अध्यक्षकहाँ गएर चाप्लुसी गर्नेहरु पनि क्रान्तिकारी हैनन् । जरुरी कामबाहेक नेतृत्वकहाँ कहिल्यै नपुग्ने र कमसेकम अध्यक्षको एकथान फोटो सिरानीमा राख्न गर्व गर्ने कमरेडहरु पाइने छैन, याद गर्नुहोला ।
जसलाई प्रचण्डको तस्बिर देखेर झोक चल्छ, उसलाई कुनै दिन माओ, लेनिन र कमरेड मार्क्सको तस्बिरमा कसैले थुकेर परिवर्तन विरोधीको कित्तामा भीख माग्न पुग्दछ, हाम्रो निकट इतिहासले स्थापित गरिसकेको छ ।
भगवान घोषणा गर्नुपर्छ भन्ने हाम्रो मान्यता छैन । हाम्रो आन्दोलनप्रति, हाम्रो नेतृत्वप्रति, हाम्रो इतिहासप्रति, हाम्रो योद्धाहरु प्रति गर्व गर्न सिकौँ । जसको रगत र पसिनाले यो परिवर्तन भएको छ । त्यसकारण हाम्रो समूहले महाधिवेशन हलसँग अनुरोध गर्छ कि कमरेड प्रचण्डलाई औपचारिक रुपमा गणतन्त्र नायक र २०५२ सालदेखि २०६२÷६३ सालसम्मका सम्पूर्ण होलटाइमर योद्धाहरुलाई गणतन्त्र सेनानीको उपाधिबाट सम्मानित गरियोस ।
गुटबन्दी हाम्रो संस्कृति बन्ने खतरा बनेको छ । यसको समाधानको उपाय बिधिमा खोज्न आवश्यक छ । संगठनमा जिम्मेवारीको विषय गलत हैन । यसलाई समाधान गर्ने विधि व्यवस्थित हुनुपर्छ । कम्युनिष्ट पार्टीमा नेतृत्व छान्न मतपेटिका निर्विकल्प विषय हैन । टीका लगाएर नेतृत्व छान्ने पद्दति पनि ठीक छैन । नेतृत्व चयनमा संगठनात्मक व्यवस्था ठीक बनाउँदै कम्तिमा ५० प्रतिशत चार–पाँच बर्षको कार्यसम्पादन मूल्याङ्कन हेरिने व्यवस्था विधानमा लेख्न आवश्यक छ । कम्तिमा २५ प्रतिशत मूल्याङ्कन ऐतिहासिक योगदानका लागि छुट्याउने हो भने पार्टीमा नयाँ र पुरानो भन्ने कुरा बन्द हुन्छ ।
कमसेकम एउटा क्रियाशील कार्यकर्ताले पार्टीमा सपना देख्न पाओस् । निश्चित समयमा नेतृत्वमा म त्यहाँ पुगेर जिम्मेवारी सम्हाल्न सक्छु भन्ने कार्यकर्तासम्बन्धी नीति बनाउन जरुरी भएको छ ।
निरन्तर राजनीतिक–वैचारिक प्रशिक्षण एवं छलफलबाट सांस्कृतिक रुपान्तरणका लागि ठोस रुपमा विधियुक्त बनाउन आवश्यक छ । हरेक वडा र पालिकास्तरमा आफ्नै स्थायी कार्यालय बनाउन र कार्यालयमा एउटा हल बनाउने, एउटा पुस्तकालय अनिवार्य राख्ने, कम्तिमा १५ दिनमा एउटा वैचारिक छलफल चलाउने कुरा विधिमै राखेर हामीले निर्देशन गर्न आवश्यक छ ।
एकाधिकार र दलाल पुँजीवादको सुक्ष्म विश्लेषणसहित वर्गविश्लेषण दस्तावेजमा आउन जरुरी छ । विश्वस्तरमा एकाधिकारयुक्त पुँजीको अवस्था र नेपालजस्ता देशमा समाजको विश्लेषणबारे कुरा आएको छ । तर, यसको सूक्ष्म चरित्र कुन रुपमा गाउँघर गोठसम्म पुगेका छन् । युवाको दिमागमा दलाल पुँजीवादको भूत सवार भइरहेको छ र उनीहरु देशविहीन भइरहेका छन् । दलाल पुँजीबादले उनीहरुको संकृतिमाथि अड्डा जमाएको छ ।
कसले कसरी दलाल पुँजीवादका बिरुद्ध लड्न सक्छ त्यसबारे स्पष्ट गर्न आवश्यक छ । कालिमाटीबाट ५० घोगा मकै किनेर एक सय रुपैयाँ नाफा खान मकै पोल्ने दाजुभाइ दिदीबहिनी, किराना पसलबाट एक नाङ्लो सामान किनेर नाङ्ले पसल थापेर सय रुपैयाँ कमाउने बुढाबुढी आमा र बा । गुदपाकको एक डब्बा झोलामा हालेर बेच्दै बसेका सबै कमरेडहरु, माओवादी कार्यकर्ताको टार्गेटमा पर्ने दलालहरु र दलाल पुँजीको एउटै बास्केटमा हालेर दलाल भनिने खतरा छ ।
नेपालमै उत्पादित उद्योग कलकारखानामा आइपीओ र त्यसमा भएका लगानीका सन्र्दभमा राष्ट्रिय पुँजीपति अर्थात नेपालको उद्योगधन्दा कलकारखाना, राष्ट्रिय व्यवसायीहरु र उनीहरुकहाँ काम गर्ने मजदुरका सन्र्दभमा पार्टीको स्पष्ट र ठोस रुपमा अभिव्यक्त हुन आवश्यक छ । उत्पादन शक्ति र बजार व्यवस्थापनको मोडलको सन्र्दभमा स्पष्ट हुन आवश्यक छ । विशेष गरी उत्तरआधुनिकतावादको प्रभावबाट के असर परेको छ भन्नेबारे पनि ठोस नीति बनाउन आवश्यक छ ।
विश्वका १० धनीहरुको सुची अध्यक्ष कमरेडको दस्तावेजबाट हटाउन आवश्यक छ । जलवायु परिवर्तनको असरबारे नेपाली जनमानसमा कम बुझाइ पाइयो । यसलाई सरलीकरण गरेर जनतालाई बुझाउनका लागि विशेष योजना बनाउन आवश्यक छ ता कि उसलाई शासक वर्गप्रति घृणा पैदा होस् । विपद व्यवस्थापनका लागि पार्टीकै तर्फबाट एउटा टिम बनाउन आवश्यक रहेको छ ।
हेटौडा महाधिवेशनमा पनि हामीले उत्पादन बिग्रेडको परिकल्पना गरेका थियौँ । के कारणले त्यो सफल हुन सकेन ? शान्तिप्रक्रियामा आइसकेपछि धेरै भन्दा धेरै कार्यकर्ताहरु सहभागी भएर सामुहिक कामहरु नभएको होइन । तर, सफल मोडेलहरु सायदै कतै होलान् । पैसाहरु लुट्ने र स्वयं पार्टी नै बदनाम भएका धेरै घटनाहरु छन् । यसको गहिरो समीक्षा गर्नुपर्छ ।
विषेश गरी कृषि र उत्पादन समस्याको विषय हैन, समस्या बजारको हो । बजार दलाल पुँजीवादको चंगुलमा परेको छ । तिनै तहको सरकारले गर्ने पहल, आयातमा कडाई, उत्पादनमा दिने सहुलियत र बजारको ग्यारेन्टीसहितको कार्यक्रम सबल हुन जरुरी छ । त्यसका लागि के पहल हुनुपर्ने हो, ठोस रुपमा आएन ।
समावेशीताको विषयमा पुनर्विचार गर्न आवश्यक छ । समावेशिताको विषयमा दलीय हिसावले हामीले बहस गरेनौँ भने स्वयं समावेशीताभित्रका सामन्त र दलालहरु समावेशी कोटाबाट माथि पुग्ने र माओवादीमाथि नै प्रहार गर्ने अवस्थाबारे थप बहस गर्नुपर्ने बेला आएको छ । विभिन्न जात–जाति एवं वर्ग समुदायभित्र कम्तिमा ५ देखि १० बर्षभित्र जो गरिब छ, उसका लागि वर्गीय कोटा पनि बनाउन आवश्यक छ ।
साथै, पार्टीभित्र समावेशी क्लष्टर ठीक छ भन्ने हाम्रो धारणा छ, समस्या के बढ्दै गइरहेको छ भने एउटै नेताले माफी मागिरहने र नेतृत्व खाइरहने चलन रोक्न ठोस ब्यवस्था राख्न आवश्यक छ । मानौं कुनै क्लष्टरमा १५ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ, तर त्यसको पार्टी सदस्य संख्याको क्लष्टरको ७ जना मात्र केन्द्रीय सदस्य हुने व्यवस्था देखियो भने ८ जना खाली राखिदिने व्यवस्थाले मात्रै त्यो क्षेत्रको बाध्यकारी प्रतिनिधित्व हुन सक्छ ।
युवाहरुका लागि ४० बर्ष उमेर हद ठिकै थियो । परिपक्व नेताहरुको रिटायर्ड हुने उमेर हद पनि तोकिएको भए कार्यनीति सहजै लागू हुने थियो । महिलाहरुको नेतृत्व पदाधिकारीमा पनि ३५ प्रतिशत होस् र जनमुक्ति सेनाहरुको बारेमा उपयुक्त नीति बनाई जिम्मेवारी प्रदान गरियोस् ।
एकजना ब्यक्ति कतिपटक मन्त्री हुने ? कार्यकाल पूरा गरिसकेका सम्पूर्ण आदरणीय कमरेडहरुका समस्यालाई समेत ध्यानमा राख्दै हाम्रो प्रस्ताव यो पनि छ कि पार्टीभित्र अहिलेसम्म भएको सबै कार्यकाललाई एक कार्यकाल मानेर अध्यक्षमा २, पदाधिकारीमा ३, केन्द्रीय सदस्यमा ४ कार्यकाल भन्दा बढी नरहने गरी र सरकारमा पनि सोही नीतिका आधारमा प्रधानमन्त्रीमा २, मन्त्रीमा ३ र सांसदमा ४ कार्यकालसम्म राख्ने व्यवस्था गर्न हाम्रो सुझाव छ ।
राष्ट्रियताका सन्र्दभमा चुच्चे नक्साको सवालमा त्यसको स्वामित्व हामीले लिइयोस् र त्यहाँको भूभाग फिर्ता लिने कुरामा पनि ध्यान दिइयोस् । चीनको बारेमा यो समाजवादी हो कि, सामाजिक साम्राज्यवादी हो कि के हो ? पार्टीको दस्तावेजमा स्पष्ट पारियोस् ।
हाम्रो पार्टी सत्तामा हुँदा र नहुँदाको नीति एउटै बनोस् भन्ने हाम्रो समूहको माग छ । एनजीओ, आइएनजीओबारे स्पष्ट धारणा र पार्टी संघर्षको नीति स्थायी बनाउने हो कि अस्थायी बनाउने हो त्यसमा स्पष्ट पारियोस् ।
सरकार र पार्टीबीचको सम्बन्ध कस्तो हुने हो यो बारेमा प्रष्ट पारियोस् । प्रत्येक २ बर्षमा पार्टीको नीति सम्मेलनको आयोजना गरियोस् । अवकाशप्राप्त कमरेडहरुका लागि कम्युनिष्ट भेटघाट कार्यक्रम राखियोस् भन्ने माग छ ।
जिल्ला समन्वय समितिको सन्र्दभमा अहिले संख्या थपियोस् भन्ने जोडदार माग आएको छ । तलका कार्यकर्ता व्यवस्थापन समस्या हुन्छ भन्ने कुरा छ, प्रतिनिधिको सन्र्दभमा पनि ठिक व्यवस्था गरियोस ।
(माओवादीको जारी महाधिवेशनमा वागमती प्रदेशका तर्फबाट टोली नेता एवं प्रदेश अध्यक्ष सरल सहयात्रीले प्रस्तुत गरेको विचारको मुख्य अंश)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना