आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मलाई थाहा थिएन, त्यो दिन अफगानिस्तानमा मेरो अन्तिम हुनेछ : पूर्वराष्ट्रपति गनी

बिहीबार, १५ पुस २०७८, १५ : ३०
बिहीबार, १५ पुस २०७८

अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले देश छाड्ने आफ्नो फैसलालाई सही भएको बताएका छन् । यस वर्षको अगस्तमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो । गनीले काबुललाई तबाहीबाट बचाउन आफूले देश छाड्ने निर्णय गरेको बताएका हुन् । 

बीबीसीसँग अन्तरवार्तामा गनीले १५ अगस्तको बिहान उठ्दा आफूलाई त्यो दिन अफगानिस्तानमा आफ्नो अन्तिम दिन हुने कुनै अन्दाज नै नभएको बताएका छन् । जब विमान काबुलबाट उड्यो, तब मात्र आफूलाई यस कुराको महसुस भएको उनको भनाइ छ ।

त्यतिबेला देश छाडेर जाँदा गनीले तिखो आलोचनाको सामना गर्नुपरेको थियो । गनी हाल यूएईमा रहेका छन् । अन्तरवार्ताका दौरान उनले तालिबानले काबुलमा नपस्ने सहमति जनाएको तर, दुई घण्टामा नै त्यो सहमति पालना नभएको पाइएको जिकिर गरे । गनीका अनुसार आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार र उनको पत्नी काबुल छाडेर जानमा सहमत भएका थिए । त्यसपछि एउटा कार आएर उनीहरूलाई रक्षा मन्त्रालय लिएर जाने प्रतीक्षा गरेका थिए । तर, त्यो कार कहिल्यै पनि आएन ।

गनीका अनुसार त्यसपछि राष्ट्रपतिका सुरक्षा प्रमुख अत्तालिँदै उनी भएको ठाउँमा आएर समय निकै कम भएको बताएका थिए । गनीले उनलाई काबुल छाडेर खोस्त जाने कुरा राखेका थिए तर सुरक्षा प्रमुखले खोस्त र जलालाबाद पनि तालिबानको कब्जामा पुगिसकेको उनलाई जानकारी दिए । 

गनीले आफूलाई विमान उड्दासम्म कहाँ जाने भन्ने थाहा नभएको दाबी गरे । त्यस्तै, देश छाड्दा आफूले पैसा लिएर भागेको कुरा पनि अस्वीकार गरे । सत्ताबाट हटेको तीन महिनापछि उनले काबुल तालिबानको कब्जामा जाने कुराको सबै जिम्मेवारी लिने पनि बताए । अन्तरवार्तामा उनले आफ्नो जीवन तबाह बनेको र आफूलाई बलीको बोको बनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप