शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नदी नियन्त्रणको काम सुरु नहुँदा तटीय क्षेत्रका बासिन्दा चिन्तित

बिहीबार, १५ पुस २०७८, ०८ : ००
बिहीबार, १५ पुस २०७८

मध्य हिउँद लाग्दासमेत कटानको जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रणको काम सुरु भएको छैन । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीका कारण तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । 

गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको काम सुरु भएको छैन । कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । बजेट विनियोजन भएको केही पनि नदी नियन्त्रण योजनाको काम सुरु नभएको हो । गत बर्खामा बाढीले जिल्ला सदरमुकाम बेनीमा कालीगण्डकी, बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर ३ दूधेखोला, वडा नम्बर ४ सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको केन्द्र्र दरबाङ बजारमा कटान गरेको थियो । 

रुपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजना र मालिका गाउँपालिकाले ठेक्का लगाएको दरबाङ बजार संरक्षण योजनाको काम सुरु भएको छैन । ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी नियन्त्रण जस्तो संवेदनशील योजना निर्माणमा ढिलाइ भएको मालिका–६ दरबाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताए । 

“हिउँदमा नदीको सतह घटेको समयमा काम हुँदैन, बर्खा लागेपछि काम सुरु हुन्छ”, उनले भने, “गत वर्ष भएको ढिलासुस्तीले निर्माणाधीन पर्खालमा क्षति पु¥याएको घटना यसपालि नदोहोरिएला भन्न सकिँदैन ।” प्राकृतिक उपचारस्थलका रुपमा परिचित बेनी–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि बजेटको समेत व्यवस्थापन नभएको स्थानीय कुमार केसीले बताउनुभयो । मसारमा नदी कटानबाट दुई वटा घर भत्किएका र १५ परिवार विस्थापित भएका छन् । दुई सय घर कटानको जोखिममा छन् । 

सरस्वती मावि र ज्वालामाई भगवती आमा समूहको भवनसमेत कटानको जोखिममा छ । तत्कालै नियन्त्रणको काम सुरु नगरे आउने बर्खामा म्याग्दी नदीमा आउने बाढीले थप क्षति गर्ने खतरा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । बेनी नगरपालिकाको सहयोगमा नदी नियन्त्रण योजनाका लागि बजेट व्यवस्थापनको पहल गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा जाने तयारी गरेको उनले बताए । यसैगरी बेनी–२ बगरफाँटमा पनि नदी कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन नहुँदा जोखिमको चिन्ता बढेको स्थानीयवासी नारायण कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप