शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ पक्राउ

बुधबार, १४ पुस २०७८, १९ : १०
बुधबार, १४ पुस २०७८

साढे १५करोड भन्दा बढी रकम हिनामिनामा संलग्नता देखिएपछि सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) नवीन सुवेदी पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सिईओ सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।

बैंकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् । धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठुलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सिईओ लगायतका उच्च अधिकारीहरू शङ्काको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

‘घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ,’, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने । बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकमान्तर गरेको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सिईओ नवीन सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको छ ।

बबिताको नाममा फर्जी खाता सिईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । रेमिट शाखाका प्रमुख भट्टराई पनि सिईओ सुवेदीका नातेदार हुन् । भट्टराई उनका फुपुका छोरा हुन् ।

हिनामिना भएको रकममध्ये धेरै बबिताको खातामा र हिमाल भट्टराईको विभिन्न पाँच वटा बैंकको खातामा एक करोड रुपैयाँ जम्मा भएको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । यसैगरी सिईओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल जेठी सासु बानी पोखरेल लगायतको खातामा रकम पठाएको दाबी उजुरीमा गरिएको छ । ‘उक्त खाता पनि अरू नै व्यक्तिबाट सञ्चालन गरी कारोबार भएकोले सूक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ,’ उजुरीमा भनिएको छ ।

पछिल्लो ६ वर्षयता फर्जी कारोबारको कागजात बनाएर रेमिट्यान्सको यति ठुलो रकम हिनामिना भएको हो । यही प्रकरणमा बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट ९जीएसडी० प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । साबिकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि नामबाट वित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप