बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

१६ जिल्लामा काँग्रेस अधिवेशन : कुन पक्षबाट को–को छन् सभापतिका आकांक्षी ?

बुधबार, १४ पुस २०७८, १७ : १७
बुधबार, १४ पुस २०७८

नेपाली काँग्रेसले १४ औं महाधिवेशनअघि बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ । प्रदेश २ का ८ जिल्ला र बागमतीका ४, गण्डकीको १, लुम्बिनी प्रदेशको एक र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा अधिवेशन हुन बाँकी छ ।

प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको चापका कारण १६ जिल्ला अधिवेशन गर्न सकेको थिएन । अब २७ गते जिल्ला अधिवेशन हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई बताए ।

त्यसका लागि २४–२५ गते निर्वाचन अधिकृत सम्बन्धित जिल्लामा पुगिसक्ने उनको भनाइ छ । घिमिरेका अनुसार निर्वाचन समितिले सुरुवामा खटाएकै निर्वाचन अधिकृतलाई जिल्ला अधिवेशनका लागि पठाउने छ ।

काँग्रेसले सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जिव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा धिरेन्द्र चौधरी, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको थियो ।

कैलालीमा टेकप्रसाद सुवेदी, अछाममा देवराज भट्ट र बाँकेमा रेवतीरमण भट्टराईलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । चितवनका निर्वाचन अधिकृतले राजीनामा दिएकाले अर्को पठाएको छैन ।

मकवानपुरमा गोवी सुवेदी सिन्धुपाल्चोकमा देव महत र सिन्धुलीमा लेखबहादुर खड्काले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । उनीहरुले जिल्ला अधिवेशन गराउने छन् ।

कुन जिल्लामा को–को छन् सभापतिका आकांक्षी ?

धनुषा

प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको धनुषामा यसपटक काँग्रेस महाधिवेशनको रौनक बढेको छ । पूर्व उपसभापति विमलेन्द्र निधिको गृह जिल्ला धनुषामा जिल्ला अधिवेशनको रौनक बढेको छ । सभापति देउवा पक्षका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको गृह जिल्लासमेत रहेको धनुषामा निधिको जबरजस्त पकड छ ।

निधि धनुषा जिल्ला कार्यसमितिका वर्तमान सभापति महेश शंकर गिरीलाई दोहोर्याउने पक्षमा रहेको बुझिएको छ ।

१३ औं जिल्ला अधिवेशनमा सर्वसम्मत सभापति चुनिएका गिरी १४ औं मा पनि सर्वसम्मत सभापतिमा दोहोरिने मुडमा देखिन्छन् । गिरीले सर्वसम्मत रुपमा ल्याएका उपसभापति सन्तोष यादव, सचिव विश्वेश्वरप्रसाद यादव, सहसचिव नरेश यादव र कोषाध्यक्ष राजलाल महतोले अहिलेसम्म गिरीलाई चुनौती नदिएको अवस्था छ । यद्यपि, सन्तोष र विश्वेश्वरले सभापतिका लागि भित्रभित्रै लबिङ गरिरहेको बुझिएको छ ।

सप्तरी

सप्तरीमा वर्तमान सभापति दिनेशकुमार यादव केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् । दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने भएपछि उनी केन्द्रीय सदस्य बनेका थिए । योसँगै सप्तरीमा काँग्रेसले अब नयाँ नेतृत्व पाउनेछ । जसका लागि देउवा टिमबाट जिल्ला सचिव शत्रुधनप्रसाद यादव, क्षेत्रीय सभापति रामप्रसाद मण्डल र नेतृ निर्मलादेवी यादवलाई प्रवल दाबेदारका रुपमा हेरिएको छ ।

यस्तै १३ औं जिल्ला अधिवेशनमा पौडेल टीमबाट सभापतिका प्रत्यासी रामदेव साह यसपटक फेरि उठ्ने तयारीमा देखिन्छन् । नेताहरु रामकुमार यादव, बद्रीनारायण यादव र नारायण चौधरीले पनि जिल्ला नेतृत्वका लागि आन्तरिक लबिङ गरिरहेको अवस्था छ ।

महोत्तरी

महोत्तरीको क्षेत्र नम्बर ३ मा अधिवेशन नभएकाले जिल्ला अधिवेशनमा केही अन्योलता छ । केन्द्रीय सदस्य तथा जिल्ला सभापति महेन्द्रकुमार रायले २७ गते नै जिल्ला अधिवेशन हुने बताए । दुई दशक बढी नेपाली काँग्रेसको नेतृत्व गरेका राय जिल्ला राजनीतिबाट केन्द्रीय राजनीतिमा आएका छन् ।

अब महोत्तरीमा नयाँ नेतृत्वका लागि देउवा पक्षका सुशील यादव र शेखर कोइराला पक्षका नागेश्वर यादव आकांक्षी देखिएका छन् । सभापतिमा आकांक्षा देउवा पक्षका सन्दीप नारायण पाठक र कोइराला समूहका बजरङ्गी नेपालीको क्षेत्रमा क्षेत्रीय अधिवेशन समेत भएको छैन ।

जिल्ला सभापति हुनका लागि उनीहरु महाधिवेशन हुनुपर्ने हुन्छ । क्षेत्रीय अधिवेशन नभएकाले नेपाली र पाठक महाधिवेशन प्रतिनिधिका रुपमा आउँछन् आउँदैनन् टुंगो छैन ।

सर्लाही

सर्लाहीमा जिल्ला अधिवेशन अनिश्चित छ । सर्लाही क्षेत्र नम्बर २ को अधिवेशन पुनः गर्न माग गरेर निर्वाचन समितिमा उजुरी परेको छ । समावेशी ढंगले महाधिवेशन प्रतिनिधि चयन हुन नसकेको भन्दै पुनः अधिवेशन गराउन माग गरिएको छ ।

सोही क्षेत्रबाट वर्तमान सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला थप अन्योल भएको हो । २ नम्बर क्षेत्रमा पुनः निर्वाचन नभए जिल्ला अधिवेशन हुन नक्ने सभापति रायले रातोपाटीलाई बताए । देउवा समूहबाट सभापति राय दोहोरिने रणनीतिमा  थिए ।


रौतहट

रौतहटमा विगतमा भन्दा १४ औं महाधिवेशनको रौनक र परिस्थिति केही फरक छ । जिल्लाका प्रभावशाील नेता मानिएका मोहम्मद अफताब आलम ज्यान मुद्दाको अभियोगमा कारगारमा छन् । जिल्लाको पार्टी राजनीतिलाई आफ्नै सेरोफेरो घुमाउँदै आएका आलम जेलमा हुनु र जिल्ला सभापति कृष्णप्रसाद यादव ‘रिङ आउट’ भएका कारण रौतहट काँग्रेसमा १४ औं जिल्ला अधिवेशन नयाँ परिस्थितिका बीच हुने भएको हो । प्रदेश २ को सभापति भएका यादवले कसलाई अगासड सार्छन एकिन भएको छैन ।

जिल्ला सभापतिका लागि सुनील यादव, हृदयनाराण यादव र रामचन्द्र गिरीको नाम चर्चामा छ । सुनील र हृदयनाराण देउवा टीममा दाबेदार हुन् भने रामचन्द्र गिरी कोइराला समूहबाट सभापतिको उम्मेदवार हुन प्रयास गरिरहेका छन् । यद्यपि प्रदेश २ का सभापति कृष्ण यादवले सर्वसम्मतबाट नेतृत्व चयनको प्रयास गरिरहेका छन् ।

बारा

दुईवटा उपमहानगरपालिका र ४ वटा निर्वाचन क्षेत्र भएको बारा जिल्लामा काँग्रेस सभापतिका लागि रस्साकस्सी सुरु भएको छ । केन्द्रीय सदस्यद्वय उमाकान्त चौधरी र फर्मुल्लाह मन्सुरको गृहजिल्ला बारामा जिल्ला तहका नेताहरु नेतृत्वको दौडमा लागिसकेका छन् ।

वर्तमान जिल्ला सभापति जयचन्द्र चौरसिया महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि देउवा समूह नयाँ उम्मेदवारको खोजीमा छ । देउवा टिमबाट सभापति पूर्व सभापति राजेशचन्द्र यादवको छोरा राजेशराय यादव सभापतिको तीव्र लबिङ गरिरहेका छन् ।

यस्तै कोइराला टिमबाट नेता रमानन्द यादव, पूर्व सभापति लालबाबुसिंह र पूर्व पार्टी सचिव रामअयोध्या यादवले सभापतिका लागि लबिङ गरिराखेका छन् ।

सिरहा

काँग्रेस निवर्तमान कोषाध्यक्ष सीतादेवी यादव र नेता प्रदीप गिरीको गृहजिल्ला सिरहामा जिल्ला अधिवेशनको रौनक बढेको छ । यहाँ देउवा पक्षीय वर्तमान जिल्ला सभापति रामचन्द्र यादव दोहोरिने रणनीतिमा छन् । उनले आफू त्यसको तयारीमा रहेको रातोपाटीलाई बताए ।

देउवा पक्षबाट रामचन्द्रको विरुद्धमा रामसुन्दर चौधरी पनि सभापतिको उम्मेदवार हुने लाइनमा छन् । यादवसँग चौधरीले १३ औं अधिवेशनमा प्रतिस्पर्धा गरेका थिए । यस्तै कोइराला टिमबाट नेताहरु अम्बरबाबु, अमिर यादव लगायतको पनि सभापतिमा दाबी छ ।

वर्तमान जिल्ला सभापति देउवा पक्षको भए पनि कोइराला समूह सिरहामा तुलनात्मक बलियो मानिन्छ ।

पर्सा

प्रदेश २ मा एकमात्र महानगरपालिका भएको पर्सामा काँग्रेस नेतृत्वका लागि नेताहरुले आन्तरिक रणनीतिमा व्यस्त देखिएका छन् । सभापतिका आकांक्षीहरुले कार्यकर्ताको सहयोग र केन्द्रीय नेतृत्वसँग आर्शिवाद खोजिरहेको पाइन्छ । १३ औं महाधिवेशनताका देउवा प्यानलबाट पर्सा सभापति बनेका अजयकुमार द्विवेदीलाई अझै एक कार्यकाल दोहोरिने सुविधा छ ।

काँग्रेस विभाजन हुँदा देउवा नेतृत्वको काँग्रेस (प्रजातान्त्रिक) का जिल्ला सभापति बनेका द्विवेदी १३ औं जिल्ला अधिवेशनबाट काँग्रेसको सभापति बनेका थिए । उनी फेरि पनि सभापति बन्ने रणनीतिमै रहेको बुझिएको छ ।

द्विवेदीको विकल्पमा १३ औं अधिवेशनका प्रत्यासी जनार्दन क्षेत्रीले तयारी थालेका छन् । १३ औं अधिवेशनमा देउवा टिमबाट द्विवेदी र क्षेत्रीबीच प्रतिस्पर्धा भएको थियो । यस्तै उपसभापति प्रकाश उपाध्याय, सचिव श्याम कट्टेल लगायतका नेताहरु पनि सभापतिका लागि लबिङ गरिरहेका छन् ।

पर्सामा यसपटक पनि ‘देउवा भर्सेस देउवा’ हुने परिस्थिति देखिन्छ । निधि र देउवा आमनेसामने हुने परिस्थितिले प्रदेश २ का जिल्लामा नयाँ समीकरण बन्ने सम्भावना पनि देखिन्छ । प्रदेश २ को अधिवेशनमा देउवा र निधि कोइराला पक्षबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा देउवा पक्षले पदाधिकारीसहित अधिकांश सदस्य पनि जितेको छ ।

कैलाली

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा काँग्रेसको जिल्ला सभापतिको आउँछ भनेर चासोका साथ हेरिएको छ । जनसंख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा जिल्ला सभापतिका आकांक्षीको सूची लामो छ ।

१३ औं महाधिवेशन अन्तर्गत जिल्ला सभापति बनेका नरनारायण शाह (मनु) सुदूरपश्चिमका महामन्त्री बनिसकेका छन् । दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेका उनी जिल्ला राजनीतिबाट प्रदेशमा उक्लिएपछि कैलालीमा नयाँ सभापति आउने पक्का छ ।

त्यसका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, गणेश देउवा लगायतको नाम चर्चामा छ । कैलालीमा देउवा टीममा अन्तरविरोध देखिएकाले कोइराला पक्षको साथ लिएर ‘देउवा भर्सेस देउवा’ हुने अनुमान गरिएको छ ।

अछाम

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामध्ये दुईवटा निर्वाचन क्षेत्र भएको अछाममा काँग्रेस सभापतिका लागि देउवा पक्षमै प्रतिस्पर्धा हुने देखिएको छ । देउवा टिमबाट वर्तमान सभापति भरतकुमार स्वारले दोहोरिन खोजेका छन् ।  पूर्वसभापति पुष्पबहादुर शाहले पनि सभापतिका लागि लबिङ बढाएका छन् ।

केन्द्रमा शेरबहादुर देउवालाई नेता मान्ने उनीहरु जिल्लामा आ–आफ्नो कसरतमा छन् । यता शेखर कोइराला समूहबाट राजन कुँवर सभापतिका दाबेदार छन् । महामन्त्री गगन थापा निकट कुँवरले जिल्ला सभापतिका लागि उम्मेदवारी समेत घोषणा गरिसकेका छन् ।

नवलपुर

कान्छो जिल्लाका रुपमा चिनिएको नवलपरासी पूर्व (नवलपुर) मा काँग्रेसको जिल्ला सभापतिमा मदन भट्ट अधिकारी, महेन्द्रध्वज जिसी र बालकृष्ण घिमिरे पनि सभापतिका आकांक्षी देखिएका छन् । अधिकारी र बालकृष्ण घिमिरे शशांक कोइराला निकट मानिन्छन् भने महेन्द्रध्वज जिसी वरिष्ठ नेता रामचन्द्र पौडेल पौडेल निकट हुन् ।

वर्तमान जिल्ला सभापति विष्णु लामिछाने गण्डकी प्रदेश महामन्त्री भएपछि नवलपुर नयाँ नेतृत्व आउन लागेको छ । प्रदेश महामन्त्री लामिछानेले सर्वसम्मत रुपमा जिल्ला सभापति चयनको प्रयास भइरहेको बताए ।

बाँके

बाँकेमा जिल्ला सभापतिका ५ आकांक्षी देखिएका छन् । वर्तमान जिल्ला सभापति किरण कोइराला जिल्ला राजनीतिबाट रिङआउट भएकी छन् ।  १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन् । नयाँ जिल्ला सभापतिका लागि सुरेन्द्र हमाल, निरञ्जन सिजापति, राजकुमार बर्मा, बादशाह कुर्मी, नारायण गौडेल रुचि देखाएका छन् ।

देउवा पक्षबाट हमाल, सिजापति, बर्मा, कुर्मीबीच सभापतिका लागि रस्साकस्सी छ  भने शेखर कोइराला प्यानलबाट गौडेल सभापतिको उम्मेदवार योजनामा छन् ।

चितवन
काँग्रेस चितवनको नेतृत्वका लागि आधा दर्जन नेताको दाबी छ । कैलाश कोइराला, उत्तम जोशी, प्राडा सूर्यकान्त घिमिरे, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल र विजय शर्मा भुषाल सभापतिको दौडमा छन् ।
कोइराला, जोशी, घिमिरे, खनाल र भुषाल शेखर कोइराला समूहबाट सभापतिका लागि लबिङ गरिरहेका छन् भने देउवा पक्षबाट मिलनबाबु श्रेष्ठ उम्मेदवार भन्ने तयारीमा छन् ।

मकवानपुर

बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा काँग्रेस जिल्ला अधिवेशनको चहलपहल सुरु भएको छ । वर्तमान जिल्ला सभापति इन्द्र बानियाँ बागमती प्रदेश सभापति बनेपछि मकवानपुरमा नयाँ नेतृत्व आउनेछ ।

त्यसका लागि उपसभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा, अशोक शाक्य र आनन्दराम पराजुली देउवा समूहबाट सभापतिमा दाबी गरिरहेका छन् । नेता प्रकाशमान सिंह निकट नेविसंघका महामन्त्री प्रभात दाहाल र शेखर कोइराला निकट रगुरमण न्यौपान पनि सभापतिको आकांक्षी देखिएका छन् ।

सिन्धुपाल्चोक

सिन्धुपाल्चोक सभापतिका लागि आधा दर्जज नेता दौडमा छन् । देउवा समूहबाट प्रेमध्वज लामा, विष्णुविक्रम थापा र विकास तामाङ सभापतिका दाबेदार छन् ।

शेखर कोइराला समूहबाट सभापतिमा शिव सुनार,  बिलबहादुर तामाङ र बंशलाल तामाङको दाबी छ । वर्तमान सभापति विकास लामा केन्द्रीय राजनीतिमा आएपछि जिल्लामा नयाँ नेतृत्व आउने भएको छ । लामा केन्द्रीय सहमहामन्त्रीमा पराजित भएका थिए ।

सिन्धुली

सिन्धुली जिल्ला सभापतिका लागि वर्तमान जिल्ला सभापति उज्ज्वलप्रसाद बराल दोहोरिने रणनीतिमा छन् । शेखर कोइराला समूहको प्रतिनिधित्व गर्दै उनी सभापतिमा दोहोर्‍याउने तयारीमा छन् । तर कोइराला समूहकै वर्तमान उपसभापति खड्गबहादुर वाइबा र पूर्वसचिव उपेन्द्र पोखरेल पनि सभापतिका दाबेदार हुन् ।

आफू सभापतिमा दोहोरिने तयारीमा जुटेको भन्दै बरालले वाइबा र पोखरेलसँग छलफल भइरहेको बताए । यस्तै देउवा समूहबाट माणिक ढकाल र प्रेमचन्द्र दाहालले सभापतिमा दाबी गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप