सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा

बुधबार, १४ पुस २०७८, १६ : ४४
बुधबार, १४ पुस २०७८

नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा आएको छ । लाहाचोकमा १३२÷३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेसनवाट कास्कीको माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति दिइनेछ । 

यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले भने “पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउनेछन् भने विद्युत् चुहावट समेत घट्नेछ ।” 

आयोजना अन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजना अन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणाधीन रहेको छ । सन् २०१८ जुलाई २१ वाट सुरु भएको उक्त आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै बन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप