शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

महोत्तरीका मुसहर समुदाय अझै कोरोना खोपबाट वञ्चित

बुधबार, १४ पुस २०७८, १२ : ४१
बुधबार, १४ पुस २०७८

महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले  मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् ।

‘खोप अभियान कहाँ चलाइएको छ भन्नेसम्मको जानकारी नहुँदा हाम्रो समुदाय खोप लगाउनबाट वञ्चित बनिरहेको छ’ सुनिल सदाले भने । अनुकूल भएसम्म बस्तीमै पुगेर खोप अभियान चलाइदिन पनि मुसहर समुदायको अपिल छ । जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको बर्दिबासस्थित नमुना बस्तीमा बसोबास गर्ने मुसहरहरूले अहिलेसम्म कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन । बर्दिबासमा १५२ घरधुरी बसोबास गर्दै आएका छन् ।

स्वास्थ्य चौकी नजिक हुनेहरूले खोप लगाए पनि प्रायः मुसहरहरूले खोप लगाउन नसकेको बताएका छन् । पछिल्लो समय मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहलाई  विद्यालयमै पुगेर लगाउन अनिवार्य गरिएको छ । तर विद्यालयमा समेत नियमित उपस्थित हुन नसक्ने मुसहर समुदायका बालबालिकाहरू मोडर्ना खोप लिनबाट वञ्चित बनेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

जीविकोपार्जनका लागि दैनिक मजदुरी गर्नैपर्ने बाध्यताले कहिलेकाहीँ छोराछोरीसमेत विद्यालय जाँदैनन्। ‘विद्यालय नगएकै बेला खोप लगाएछन्, तर हाम्रा छोरीछोरीले लगाएका छैनन; सदाले भने ।

अहिलेसम्म जिल्लाको १५ वटै स्थानिय तहमा झन्डै ५४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । तर मुसहर बस्तीका मुसहरहरूले खोप लगाउन पाएका छैनन् । मुसहर समुदायका लागि बस्तीमै पुगेर खोप अभियान चलाउन स्थानीयको माग छ । ‘उनीहरूसँग सूचनाका लागी घरमा न रेडियो छ न त टेलिभिजन नै, सूचना नै टाँसेको भए पनि पढ्न लेख्न सक्दैनन्, त्यसैले बस्तीमै पुगेर कोरोना खोप लगाउन समबन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ बर्दिबासका स्थानीय रुद्र थापाले भने ।

बर्दिबास नगरपालिकाले एक वडा एक स्वास्थ्यकर्मी परिचालन गरेको छ । सर्वसाधारणहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिएको नगरपालिकाले जनाएको छ । नगरभरिका सर्वसाधारणहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर आवश्यक उपचारका लागि योजना बनाउने कार्यकारी प्रमुख रेवतीप्रसाद पराजुलीले जानकारी दिए । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिएसँगै नगरले सतर्कता अपनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप