शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के हो माओवादीले भनेको वैज्ञानिक राष्ट्रिय शिक्षा नीति ?

प्रचण्ड भन्छन्– शिक्षालाई सम्पूर्णरुपले राज्यको दायित्वभित्र लानुपर्छ
बुधबार, १४ पुस २०७८, ११ : ५५
बुधबार, १४ पुस २०७८

 जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन्–शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा । यी विषयलाई धेरैजसो राजनीतिक दलले चुनावी प्रचार सामग्री बनाउने गरेका छन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने यी विषयलाई उनीहरुले चुनावी हतियार बनाउने र आफ्ना दस्तावेजमा कैद गर्ने गरेपनि कार्यन्वयनको तहमा भने उनीहरुको कुनै चासो हुने गरेको छैन । देशको अधिक जनसंख्याले आधा पेट खाएर भएपनि शिक्षा र स्वास्थ्यमा डरलाग्दो खर्च गर्नुपर्ने बाध्यता छ । यद्यपी राज्यले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रुपमा संविधानमै व्यवस्था गरेपनि यसैमा मौलाएको व्यापारीकरणविरुद्ध ठोस कार्यक्रम लागु गर्न राज्यसत्तामा पुगेका राजनीतिक दलहरु हमेसा चुकिरहेका छन् ।

खासगरी १० बर्षे जनयुद्ध गरेर हाल संसदीय राजनीतिमा डेढ दशक बिताएको माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायतलाई सहज बनाउनुपर्ने बताउदै आएको छ । तर यो पार्टी सत्ता सञ्चालनको तहमा पुगेपनि जनताले यी विषयमा कुनै राहत महशुस गर्न पाएका छैनन् ।

माओवादी केन्द्रको जारी ८ औं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत आफ्नो राजनीतिक दस्तावेजमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाबारे पार्टीको नीतिमा चर्चा गरेका छन् । दुई पटक प्रधानमन्त्री भैसकेका प्रचण्डले संविधानले नै ग्यारेण्टी गरेको यो विषय समेत कार्यान्वयनमा आउन नसकेको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘शिक्षा, स्वास्थ्य र रोजगारी प्राप्तिको अधिकारलाई हाम्रो संविधानले मौलिक अधिकारको रुपमा स्थापित गरेको छ । तर, व्यवहारमा ती अधिकारहरूको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।’

प्रचण्डले आफ्नो पार्टीले यसमा विशेष पहल लिन जरुरी भएको भन्दै सभ्य र समृद्ध समाज निर्माणको मूल आधार शिक्षा भएको बताएका छन् । ‘शिक्षामा सुधारका निमित्त सबैभन्दा पहिलो कुरा वैज्ञानिक राष्ट्रिय शिक्षा नीतिको विकास गर्नु हो । शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको प्रक्रियालाई नियमन गर्दै र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने र प्रोत्साहित गर्ने नीति लिँदै अन्ततः शिक्षालाई सम्पूर्णरुपले राज्यको दायित्व भित्र पु¥याउनु पर्दछ’, प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन् । उनले तत्काल पुरानो पाठ्यक्रमको स्थानमा संविधानले निर्देशित गरे अनुसार समाजवाद उन्मुख वैज्ञानिक पाठ्यक्रम विकासमा जोड समेत गरेका छन् ।

त्यसैगरि पर्यावरण विनाश, पृथ्वीको तापक्रममा वृद्धि जलवायु परिवर्तन, पूँजीवादी उत्पादन प्रणालीले श्रृजना गरेको खानपिन र आहारविहारको संस्कृति समेतले मानिसहरुको स्वास्थ्यमा घातक असर पर्दा आज नयाँ नयाँ रोगको विकास भइरहेको पनि प्रचण्डले जनाएका छन् ।

‘उच्च रक्तचाप, डायबिटिज, क्यान्सर, मुटुरोग, किड्नी फेल हुने जस्ता रोगहरु गुणात्मक र भयावह रुपले विकास भइरहेका  छन् । नयाँ नयाँ रुपमा भाइरस आक्रमण हुने प्रक्रिया र अहिलेको कोरोना महामारीसम्म हेर्दासम्म मानव जाति माथि नै हमला भइरहेको देखिन्छ’, स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्याहरूको सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नुपर्ने प्रचण्डको भनाइ छ । मानिसको दैनिक जीवनचर्या, खानपिन, शारीरिक अभ्यास, खेलकूद, योगासन लगायत स्वास्थ्य जीवनका निमित्त आवश्यक चेतना अभिवृद्धिका निमित्त ठोस पहल गर्नुपर्ने बताउदै  पार्टीका तर्फबाट सबै तहमा स्वास्थ जीवनका लागि आवश्यक ठोस नीति, योजना र कार्यक्रम बनाई आम जनतालाई प्रशिक्षित गर्न जोड दिएका छन् । तर प्रचण्डले कस्तो ठोस नीति भन्नेबारे भने आफ्नो दस्तावेजमा केही खुलाएका छैनन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप