शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसूति गृहमा पाठेघरसम्बन्धी ल्याप्रोस्कोपी सेवालाई तीव्रता दिइँदै

सेवा विस्तार गर्न जुनियर डाक्टरलाई तालिम सुरु
बुधबार, १४ पुस २०७८, ०७ : २८
बुधबार, १४ पुस २०७८

सरकारी अस्पतालहरूले भएका प्रविधि र दक्षताको सही रूपमा प्रयोग नगर्दा बिरामी निजी अस्पतालमा जान बाध्य छन् । आधुनिक शल्य चिकित्सा ल्याप्रोस्कोपी सेवा बिरामीले सरकारीभन्दा निजी अस्पतालबाट लिने सरकारी अस्पतालका चिकित्सकहरू नै बताउँछन् । नेपालमा धेरै थरीका रोगहरूको ल्याप्रोस्कोपी गरिन्छ । तर, महिलाको पाठेघरमा देखिने विभिन्न खालका स्वास्थ्य समस्याको ल्याप्रोस्कोपी सरकारी अस्पतालमा न्यून मात्रा हुने उदाहरण परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको तथ्याङ्कले देखाउँछ । 

यसअघि सातामा एक जनाको मात्रै ल्याप्रोस्कोपी प्रसूति गृह हुँदै आएको थियो । तर  पछिल्लो समय भने सातामा १० जनाको पाठेघरसम्बन्धी समस्या भएका महिलाको ल्याप्रोस्कोपी हुने गरेको अस्पताल जनाएको छ । थापाथली स्थित प्रसूति गृहका उप–निर्देशक डा. श्री प्रसाद अधिकारीका अनुसार स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोगहरू पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ ।

‘जति धेरै सर्जन भए त्यति धेरैलाई ल्याप्रोस्कोपी अप्रेसन गर्न सकिन्छ । ​पहिलापहिला दूरबिनबाट अप्रेसन गर्न पाठेघरमा केही छुट्छ कि भनेर बिरामीले शङ्का व्यक्त गर्थे’ डा. अधिकारीले भने, ‘अहिले अप्रेसन गर्नुपर्ने बिरामीमध्ये ९० प्रतिशतले ल्याप्रोस्कोपी अप्रेसन गर्न इच्छा जाहेर गर्छन् ।’ विगतमा एक महिनामा ४ वटा ल्याप्रोस्कोपी गर्दै आएको अस्पतालले हाल महिनामा ४० जनाको ल्याप्रोस्कोपी गरे पनि दक्ष जनशक्ति र प्रविधिले पूर्णता नपाउँदा समस्या भएको चिकित्सकहरू बताउँछन् । 

ल्याप्रोस्कोपीलाई नियमितता दिन चिकित्सकलाई तालिम

प्रसूति गृहमा ल्याप्रोस्कोपी सेवा १० वर्ष अघि सुरु भएको हो । तर, अस्पतालमा ल्याप्रोस्कोपी गर्ने सर्जन सरुवा हुँदा सो सेवा प्रभावित हुने गर्छ । सो सेवाको दायरा फराकिलो बनाउनका लागि अब अस्पतालका जुनियर डाक्टरहरूलाई तालिम दिन थालेको अस्पतालले जनाएको छ । जुनियर चिकित्सकहरूको एउटा ब्याचका करिब ५/६ जनालाई ल्याप्रोस्कोपीसम्बन्धी तालिम दिन सुरु गरेको डा. अधिकारीले बताए ।  

‘परिवार नियोजनका लागि ल्याप्रोस्कोपी गर्नु र पाठेघरको ट्युमर निकाल्नु, झरेको पाठेघरलाई ठाउँमा ल्याउनु फरक कुरा हो । पेट नचिरीकन पेटमा दुलो पारेर पाठेघरको अप्रेसन गर्नु फरक कुरा हो । त्यसैले जुनियर डाक्टरहरूलाई अस्पतालले तालिम सुरु गरेको हो,’ उनले भने ।

 पाठेघरको क्यान्सरको अप्रेसन ल्याप्रोस्कोपीबाट गर्न सकिने डा.अधिकारीले बताए । उनी भन्छन्, ‘पाठेघरमा देखिएका समस्यालाई दूरबिनमार्फत उपचार गर्न डाक्टरलाई तालिम नभै सम्भव छैन।’ 

त्यसैले प्रसूति गृहमा ल्याप्रोस्कोपी सेवाको दायरालाई अझै फराकिलो बनाउन आवश्यक भएकाले जुनियर डाक्टरलाई तालिम दिन सुरु गरेको उनले सुनाए ।

प्रविधि र जनशक्ति भएमा सेवा फराकिलो हुन्छ 

पछिल्लो समय विगतको तुलनामा प्रसूति गृहबाट ल्याप्रोस्कोपी सेवा लिनेको सङ्ख्या बढे पनि अझै जनशक्ति र प्रविधि व्यवस्थापन गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । विभिन्न डिर्पाटमा ७ जना सिनियर सर्जन डाक्टर भए पनि ल्याप्रोस्कोपीको मेसिनको अभाव रहेको अस्पतालका एक डाक्टरले बताए । उनले भने, ‘एक जनाको ल्याप्रोस्कोपी गरेपछि त्यस मेसिनको पार्टपुर्जा धोइपखाली गरेर त्यही मेसिनलाई कुरेर अर्को ल्याप्रोस्कोपी गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘इमरजेन्सीमा अर्को मेसिन भए अझै राम्रो सेवा दिन सकिन्थ्यो ।’ 

अस्पतालका डा.अधिकारी भने अन्य सरकारी अस्पताल जस्तो अप्रेसन गर्नका लागि लामो समयसम्म कुर्नु नपर्ने दाबी गर्छन् । इमर्जेन्सी सेवा दिनुपरेमा जस्तै, नलीमा बच्चा बसेका, सिष्ट भएर पेट दुखिरहेका बिरामीलाई तत्काल ल्याप्रोसकोपी सेवा दिइने उनको भनाइ छ ।  प्रविधि र दक्ष जनशक्तिको अभावका बाबजुद पनि ल्याप्रोस्कोपी सेवालाई तीव्रता दिन थालिएको डा. अधिकारी बताउँछन् । नेपालमा स्त्री रोग सर्जनको अभाव भएका कारण पाठेघरको अप्रेसन ल्याप्रोसकोपी मार्फत कम मात्रा हुने उनले सुनाए । 

सरकारी अस्पतालमा १० देखि २० हजारमा ल्याप्रोस्कोपी गर्न सकिन्छ । तर, निजी अस्पतालमा डेढ लाख दुई लाख तिरेर पाठेघरसम्बन्धी ल्याप्रोसकोपी गर्न बिरामी बाध्य छन् ।  

के हो ल्याप्रोस्कोपी ?

शरीरको भित्री अङ्गमा भएका समस्यालाई पत्ता लगाएर उपचार गर्ने ल्याप्रोस्कोपी एक अत्याधुनिक शल्य चिकित्सा पद्धति हो । पुरानो प्रविधिमा १० देखि १२ सेन्टिमिटर पेट चिरेर अप्रेसन गरिन्थ्यो । ल्याप्रोसकोपी गर्दा एक सेन्टिमिटरको दूरबिन एउटा र अर्को सानो ४  वटा ०.५ एमएमको प्वाल बनाएर अप्रेसन गरिन्छ । शल्यक्रिया गर्ने अङ्गमाथि प्वाल बनाएर क्यामरा राखेर भित्रको अवस्था हेरेर औजारको प्रयोग गरिने डा. अधिकारीले बताए । 

ल्याप्रोस्कोपीका फाइदा

– चिरेर गरेको अप्रेसनको दुखाइ भन्दा दूरबिनबाट गरिएको दुखाइ धेरै कम हुन्छ ।

–धेरै मोटो महिलाहरूलाई झन् राम्रो हुन्छ । पुरानो तरिकाबाट धेरै मोटा महिलाको चिरेर अप्रेसन गर्दा धेरै घाउ पाक्ने सम्भावना हुन्छ । दूरबिनबाट अप्रेसन गरिएको खण्डमा पाक्दैन ।

–चिरफार गर्न नपर्ने भएकाले बिरामी छिटो समयमा नै हिँडडुल गर्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप