बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

७ दिनभित्र आरक्ष पीडितको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

मङ्गलबार, १३ पुस २०७८, १८ : ०२
मङ्गलबार, १३ पुस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरुको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी निवास बालुवाटारमा सोमबार कांग्रेस नेता एनपी साउदको नेतृत्वमा आएको आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

२०५८ सालमा तत्कालीन आरक्ष विस्तारका क्रममा देउवा प्रधानमन्त्री भएकै बेला विभिन्न बस्तीका नागरिकहरूलाई विस्थापित गरिएको थियो । विस्थापनाको २० वर्षसम्म पनि पुनर्स्थापना नभएपछि पीडितहरू राज्यलाई दबाब दिन फेरि एकपटक काठमाडौं आएका छन् ।

पीडितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विगतमा राजनीतिक अस्थिरताका कारण समस्या समाधान गर्न नसकिएको स्वीकार गर्दै अब कुनै हालतमा समाधान गर्ने दृढता व्यक्त गरे । 'यो राज्य यस्तै छ । कहिले के हुन्छ, कहिले के । केही गर्दा कहिले कोही रिसाउने, कहिले कोही,' ढिलाइको कारण खुलाउँदै देउवाले भने, 'अब म साँच्चिकै समाधान गर्छु । एक हप्ताभित्र रिजल्ट देखिनेछ ।'

भेटमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने नेता साउदले आफ्नो क्षेत्रका पीडितहरूको समस्या लामो समयदेखि समाधान हुन नसकेको र आफूले मुख देखाउने अवस्थासमेत नभएको, अफ्ठेरो भएको गुनासो प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग गरेका थिए ।

प्रधानमन्त्री देउवाको आश्वासनपछि आरक्ष पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम एक सातालाई स्थगित गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप