आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने सीके राउतको धम्की

मङ्गलबार, १३ पुस २०७८, १६ : ०१
मङ्गलबार, १३ पुस २०७८

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्ना कार्यकर्तालाई रिहा नगरेमा सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने धम्की दिएका छन् ।​ सीके राउतका कार्यकर्ताले सिरहामा आमहड्तालको क्रममा आगजनी गरेपछि प्रहरीले त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न केहीलाई पक्राउ गरेको थियो ।

पक्राउ गरिएका आफ्ना कार्यकर्ता लाई २४ घण्टाभित्र रिहा नगरे सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई जनकारवाही गर्ने सीके राउतको चेतावनी छ ।

सिरहाको औरही गाउँपालिकाको कार्यालयले राखिएको गहुँको बिउ वितरण गर्न ढिलो गरेपछि किसानहरुले लुटेर लगेका थिए । सोही घटनामा प्रहरीले किसानमाथि मुद्दा चलाएपछि जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

सिरहा प्रहरीको हिरासतमा रहेका सीके राउतका कार्यकर्ताहरुले दर्जनौँ गाडीमा ताडफोड गर्नुका साथै ट्रकमा आगजनीसमेत गरेका थिए ।

सीके राउत नेतृत्वको पार्टीले गरेको आमहड्ताल र उच्छृङ्खल गतिविधि नियन्त्रण गर्ने क्रममा स्थानीय प्रशासनले बुधबारसम्मका लागि सिरहामा निषेधाज्ञा जारी गरेको छ ।

मंलबार सीके राउतले गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकिलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचारसमेत गर्न नदिएको समाचार आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले धम्की दिँदै लेखेका छन्, ‘यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँगको व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ । २०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’

जनमत पार्टीका कार्यकर्ताहरुले यसअघि धनुषाको जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निर्माण व्यवस्थापन आयोजनाको कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई सीके राउतको घर अगाडिको सडक नबनाएको भन्दै दुर्व्यवहार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप