के तपाईं नयाँ घर बनाउँदै हुनुहुन्छ ?
गाँस, बास र कपास हाम्रा आधारभूत आवश्यकता हुन् । प्राकृतिक विपत्तिबाट आफू र आफ्नो ‘गाँस–कपास’ जोगाउन बास (घर) चाहिन्छ । यथार्थता यही हो कि घरले हामीलाई आश्रय मात्र नदिई व्यक्तिगत सरसामानलाई समेत ओत दिन्छ ।
रोजगारीका अवसर, वातावरणीय कारण, शैक्षिक उद्देश्य, पारिवारिक पुनर्मिलन, पूर्वाधारको उपलब्धता जस्ता विभिन्न कारणले मानिसहरु नयाँ ठाउँमा बसाइँ सर्दछन् । बसाइँ नयाँ ठाउँको होस् वा पुख्र्योली थातथलोको, सहज बसाइँका लागि आफ्नै आवास होस् भन्ने सबैको एक सपना हुन्छ ।
हालको कोभिडको जस्तो महामारी हुँदाको असहज अवस्थामा हाम्रो जीवनको दुई तिहाइभन्दा बढी समय घरभित्र नै बित्यो । आजकल घरलाई आवश्यकता सँगै प्रतिष्ठासँग पनि जोड्न थालिएको छ । हामी को हौं ? हाम्रो ब्यक्तित्व र जीवनशैली कस्तो छ ? घरले नै दर्शाउँछ ।
लगभग ३ हजार वर्ग फिटको साढे दुई तले घर निर्माण गर्न ६ देखि ९ महिनाको समय लाग्दछ । आफ्नो पेशा व्यवसायमा व्यस्त हुनुपर्ने व्यक्तिले घर निर्माणमा त्यो समय दिन गाह्रो पर्ने हुँदा तयारी घरहरु खरिद गर्नेहरु पनि प्रशस्त हुन्छन् । परिवार संख्या, पेशा व्यवसाय तथा आयस्रोतको आधारमा हामीहरुका आवश्यकता र रुची पनि फरक हुन्छन् । व्यापारिक प्रयोजनको लागि निर्माण गरिएका तयारी घरहरूको बनावट हाम्रो वास्तविक चाहनासँग मेल खाने सम्भावना कम हुन्छ । त्यसैले डिजाईनरमार्फत् आफ्नो आवस्यकता अनुसारको घर डिजाइन गराई निर्माण गर्ने प्रचलन बढ्दै गएको छ ।
बाहिरी भाग आकर्षक त हुनैपर्छ तर मोटा पिलर, फराकिला स्लोप छाना, भद्दा कार्नेस, लामा क्यान्टिलेभर आदिले अनावश्यक खर्च त बढ्छ नै, संरचनासमेत बोझिलो हुन्छ । किचेन कोठामा बार्दली हुनुपर्छ र मापदण्डले मिलेसम्म बैठक कोठा, मुख्य सुत्ने कोठा तथा मोहडातर्फ समेत बार्दली राख्नुपर्छ । छतको कौसी खुल्ला तथा घाम लाग्ने दिशातर्फ राख्नुपर्छ, सिमानामा जोडेर घर बनाएको तर्फ राख्नु हुँदैन ।
सबैको चाहना हुन्छ, आफ्नो घर आफन्त तथा छिमेकीहरूको भन्दा हेराईमा अब्बल होस् । त्यसैले डिजाइनरलाई विभिन्न बान्कीका थ्रीडी बनाउन लगाउँछौं । निर्माण गर्दा बाहिरी स्वरुप आकर्षक देखाउनमै धेरै समय र साधन खर्चिन्छौ । तर, वास्तविक आवश्यकता तथा सहजताको बारेमा कम ध्यान दिई रहेका हुन्छौं । अत्याधुनिक सजावट र महँगा सरसामानको जोरजामले घरको आकार र आडम्बर त मिल्छ तर हाम्रो घर प्रयोग गर्न सजिलो र वातावरण मैत्री छैन भने सन्तुष्टि मिल्दैन, आरामदायी हुँदैन ।
हाम्रो घर चार दिवारमा अडिएको छानो मात्रै होइन, यससँग हाम्रो भावनात्मक सम्बन्ध बढी महत्वपूर्ण हुन्छ, जहाँ हामीले आफूलाई सुरक्षित र प्रसन्न महसुस गर्न सकियोस् ।
नयाँ घर बनाउँदा होस् वा पुरानो घरमा थप निर्माण गर्दा सम्बन्धित स्थानीय निकायबाट निर्माणको स्वीकृति लिनुपर्छ । डिजाइनरमार्फत् तयार भई स्वीकृत भएको नक्सा अनुसार नै निर्माणकार्य गर्नुपर्छ । सुरुको प्लानिङमा राम्रो तयारी गर्न नसक्दा ७५ प्रतिशत मानिसहरु घर बनाउँदै जाँदा डिजाइनमा केही न केही परिवर्तन गर्दछन् । स्वीकृत नक्सा र फिल्डको निर्माण कार्यमा फरक परेमा निर्माण सम्पन्न प्रमाण पत्र लिने बेलामा झमेला त हुन्छ नै, घर पनि प्रयोग गर्न सहज नहुन सक्छ । यस लेखमा नयाँ घरको डिजाइन गर्दा वा गराउँदा छुटाउनै नहुने केही महत्वपूर्ण जानकारी दिने प्रयास गरिएको छ ।
प्रयोजन निर्धारण
घर मुख्य गरी आवासीय र व्यापारिक प्रयोजनको लागि निर्माण गरिन्छ । घरको प्रयोजन अनुसार नै पार्किङ कति चाहिन्छ, खाली जग्गा कति र कता छोड्नुपर्छ ? उचाई र तल्ला संख्या कति बनाउने ? झ्याल, भर्याङ, कोठा आदिको नाप कति राख्ने ? लगायत निर्माण सामग्री छनौट सम्मको निर्धारण हुन्छ ।
डिजाइनर छनौट
सामान्य जग्गा नापजाँच गर्न तथा हल्का डिजाईन सफ्टवेयर चलाउन सिकेको मान्छेले पनि आफूलाई ईन्जिनियर, डिजाइनर भनेर परिचय दिएको थुप्रै भेटिन्छ । अध्ययन र अनुभव भएको डिजाइनरसँग मात्र हाम्रो आवश्यकता अनुसारको उपयुक्त संरचना डिजाईन गर्ने कला हुन्छ । हामीसँग भएको सीमित जग्गामा प्रचलित मापदण्डभित्र रहेर ‘सस्तो, राम्रो, बलियो’ संरचना डिजाईन गर्नु पक्कै सजिलो काम होइन । त्यसैले त भनिन्छ, ‘अध्ययन र अनुभव भएको डिजाइनर छनौट गर्न सक्नु आधा घर बनाई सक्नु जस्तै हो ।’
मापदण्ड र आवश्यकता
जग्गा रहेको स्थान, क्षेत्रफल, भवनको प्रयोजन समेतको आधारमा अधिकतम ग्राउण्ड कभरेज, निर्माण गर्न पाउने जम्मा क्षेत्रफल, बाटो र सिमानातर्फको सेटब्याक आदि समेटेर सबै स्थानीय निकायहरुले निर्माणसम्बन्धि मापदण्ड तयार गरी लागु गरेका हुन्छन् । हाम्रो पेशा र व्यवसाय, परिवार संख्या, आर्थिक स्रोत आदिले हामीलाई आवश्यक कोठा संख्या, फ्लोर एरिया, अन्य भौतिक सुविधा आदिको निर्धारण गर्दछ । हामीसँग उपलब्ध भएको जग्गामा सो ठाउँको प्रचलित मापदण्ड अनुकुल हुने गरी मात्र डिजाईन गर्नुपर्छ । जग्गाको क्षेत्रफलले पुग्छ भने फ्लोर एरिया बढाएर तल्ला संख्या घटाउँदा दैनिक प्रयोगमा सहज हुन्छ । विशेष गरी भरयाङ्ग र बाथरूमको डिजाईन गर्दा प्रयोगकर्ताको उमेर समूह, शारीरिक अवस्था समेतलाई ध्यान दिनु पर्छ ।
जग्गाको भूगोल
जग्गाको मोहडा, आकार, बाटोको अवस्था, भिरालोपना आदिले हाम्रो घरको डिजाईनलाई बढी प्रभाव पार्दछ । भिरालो जमीनलाई काटेर वा पुरेर सम्म बनाई भवन निर्माण गर्दा खर्चिलो मात्रै होईन, संरचना कमजोरसमेत बन्ने जोखिम हुने हुँदा स्टेप डिजाइन गर्नुपर्छ । तला थपिदै जाँदा फ्लोर एरिया पनि बढ्दै जाने हुँदा भिरालो भाग काट्ने र पुर्ने काम पनि कम हुन्छ । सकेसम्म सबै कोठाहरुमा घाम पर्ने, प्रशस्त हावा छिर्ने र निस्कन सक्ने गरी डिजाईन गर्नुपर्छ । बाटोतर्फ जग्गाको गहिरो भागमा पर्ने गरी कम्पाउण्ड गेट तथा पार्किङ राख्नुपर्छ । जग्गाको होचो र पुरिएको भागतर्फ सकेसम्म धेरै जग्गा खालि छोड्नु पर्छ ।
भित्री भागको बनावट
कोठाहरु को नाप लगभग ३ः४ को अनुपातमा बनाउनुपर्छ । प्रयोजनअनुसार कोठाहरुको नाप पनि फरक फरक हुनुपर्छ । चार जनाको मध्यम वर्गको परिवारको लागि बैठक कोठा १२x१६ फिट, मुख्य सुत्ने कोठा ११x१४ फिट, साधारण सुत्नेकोठा १०x१२ फिट, किचेन र डाईनिङ्ग कोठा १०x१७ फिट, पाहुना कोठा ९x१२ फिट सम्मको हुनु पर्दछ । मुख्य सुत्ने कोठाभित्र छुट्टै बाथरुम, सबै कोठाहरुमा कम्तीमा ६x२ फिटको क्लोजेट, किचनमा ६x५ फिटको स्टोर, मूल ढोकाको लबीमा ४x२ फिटको क्लोसेट हुनु राम्रो हुन्छ ।
घरको मोहडामा पर्ने गरी र तल्ला अनुसार फरक फरक डिजाईन हुने गरी भर्याङ बनाउनु हुँदैन । तल्ला अनुसार पाईपलाईन मिल्ने गरी र दुईवटा सुत्ने कोठाको लागि कम्तीमा एउटा बाथरुम हुनुपर्छ । कोठामा छिर्ने र कोठाबाट बाथरुम तथा बार्दलीतर्फ जाने ढोकाहरु डाएगोनल पर्ने गरी राख्नु हुँदैन । बाथरुमको ढोका बैठक कोठा तथा किचन र डाईनिङ्गबाट देखिनु राम्रो हुँदैन ।
बैठक कोठालाई घरको मध्यभागमा राखेर अनावश्यक प्यासेजको भाग हटाउन सकिन्छ । तलको तलामा बैठक कोठा, किचन र डाईनिङ्ग तथा पाहुना कोठा र माथिका तलाहरुमा सुत्ने कोठाहरु बनाउनुपर्छ ।
बाहिरी भागको बनावट
बाहिरी भाग आकर्षक त हुनैपर्छ तर मोटा पिलर, फराकिला स्लोप छाना, भद्दा कार्नेस, लामा क्यान्टिलेभर आदिले अनावश्यक खर्च त बढ्छ नै, संरचनासमेत बोझिलो हुन्छ । किचेन कोठामा बार्दली हुनुपर्छ र मापदण्डले मिलेसम्म बैठक कोठा, मुख्य सुत्ने कोठा तथा मोहडातर्फ समेत बार्दली राख्नुपर्छ । छतको कौसी खुल्ला तथा घाम लाग्ने दिशातर्फ राख्नुपर्छ, सिमानामा जोडेर घर बनाएको तर्फ राख्नु हुँदैन ।
छिमेकीको कम्पाउण्ड गेट, बरन्डा, छतको कौसी आदिसँग जोडेर हामीले पनि त्यस्तै संरचना बनाउनु हुँदैन । बनाउनै परेमा छिमेकीको तर्फ कम्तीमा ६ फिट अग्लो पर्खाल लगाउनुपर्छ । झ्यालतर्फ घामपानी छेक्ने नाममा अनावश्यक लामा छत बनाउनु हुँदैन, झ्यालको लिन्टललाई थोरै बढाएर सनसेड बनाउन सकिन्छ ।
स्ट्रक्चरल डिजाईन
पिलर सधैं सिधा लाइनमा र बिमहरु क्रस भएको ठाउँमा हुनुपर्छ । कोठाको सिलिङ नराम्रो देखिन्छ भनेर बिमको साईज घटाउने तथा हटाउने गर्नु हुँदैन । सामान्य फल्स सिलिङ्ग राखेर थोरै खर्चमा त्यस्ता बिम छोप्न सकिन्छ । पिलरको नाप र डन्डीको संख्या जगदेखि घरको माथिल्लो भागसम्म एउटै हुनुपर्छ । सकेसम्म अनावस्यक प्रोजेक्सन हटाएर इट्टा आकारको घर बनाउनुपर्छ । हात्तीपाईलाको बिचमा नउभिएको पिलरलाई स्ट्राप बिम डिजाइन गरी केन्द्रको पिलरसँग जोडिएको हुन्छ, खर्च घटाउने नाममा यस्ता बिम हटाउनु हुँदैन ।
विविध
अटो क्याड, स्केच अप, रेभिट, नेविस्वर्क, आर्की क्याड, फ्युजन ३६०, स्ट्याडप्रो, स्याप २००० आदि सफ्टवेयर आजकाल घरको आर्किटेकचरल तथा स्ट्रक्चरल डिजाइनमा प्रयोग भइरहेका छन् । घर डिजाइन गर्ने भन्नाले आजकल आफ्नो स्थानीय निकायमा नक्सापासको लागि पेश गर्न मापदण्ड अनुसारको टू–डी नक्सा बनाउनेदेखि घरको बाहिरी–भित्री भागको थ्री–डी तथा ईन्टेरियर डिजाइन समेतको प्याकेजलाई बुझ्न थालिएको छ । घरको बाहिरी भागको र भित्र कोठाहरुमा राखिने सामानसहितको ईन्टेरियरसमेत हेरेर मात्र घरको डिजाइनलाई पूर्णता दिनुपर्छ ।
घरको डीपीसी भित्रको भागमा नै पार्किङ बनाउने हो भने गाडी गुड्ने भागको टाई–बिम होचो बनाउनुपर्छ । घर निर्माण गर्दा कम्तिमा ३० प्रतिशत र क्षेत्रफलको आधारमा त्यो भन्दा धेरै खाली जग्गा छाड्नुपर्ने हुँदा बाहिर खाली भागमा पार्किङ राखेर मापदण्ड मिलाउन सकिन्छ । पार्किङ धेरै आवस्यक पर्ने ब्यापारिक प्रयोजनको घरमा भुईतल्ला पुरै भाग पार्किङको लागि प्रयोग गर्ने भएमा धेरैजसो स्थानीय निकायहरुले माथि एक तला बढी नक्सापास गरिदिन सक्छन् । ईनार लगायतका पानीको स्रोतबाट कम्तिमा ६ मिटर टाढा हुने गरी घरको सेप्टिक ट्याङ्क राख्नुपर्छ ।
नयाँ घर डिजाईन गर्दा यी कुराहरुमा ध्यान पुर्याउन सकियो भने हाम्रो घर प्रयोग गर्न सजिलो र सुरक्षितसमेत हुन्छ ।
ईन्जिनियर फुयाँलसँग भवन निर्माण अनुमति तथा निर्माण लगायतका कार्यमा काठमाडौं महानगरपालिकामा दुई दशकभन्दा बढीको अनुभव छ ।