सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै

मङ्गलबार, १३ पुस २०७८, १२ : २३
मङ्गलबार, १३ पुस २०७८

 बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ । पुर्चौंडी नगरपालिका–७ र ८ मा पर्ने कालीढुङ्गा र घर कट्टयामा फलामखानी रहेको बताइन्छ । उक्त क्षेत्रको  सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट खानी तथा भूगर्भ विभागको टोली आएको हो ।  सुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए । 

उनले भने,“वस्तुस्थिति अवलोकन गरिसकेका छौँ, सम्भ्याव्यता अध्ययनमा छौँ, पहिला फलाम उत्खनन गरिएका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्छौँ र त्यसपछि जमिनमुनि फलाम रहे नरहेको बारे अध्ययन हुन्छ ।” भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसिसटेन्ट र म्याग्नेटियम तरिकाबाट अध्ययन हुने जानकारी दिए । सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ। भूगर्भविद्को टोलीले तयार पारेको प्रतिवेदनअनुसार फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया सुरु हुने बताइएको छ । 

फलाम खानी सञ्चालन गर्न सके पुर्चौडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने वडा नं ८ वडाध्यक्ष जनकबहादुर विष्टले बताए । सम्भाव्यता अध्ययनका लागि विभागका सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी आइपुगेको हो । उक्त टोलीमा जियोलोजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप