शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयको जोगिएला त साख ?

आन्दोलनको निशाना बनेका उपकुलपतिको यस्तो छ योजना
मङ्गलबार, १३ पुस २०७८, ११ : ०८
मङ्गलबार, १३ पुस २०७८

‘नालायक भिसी विश्वविद्यालय छोड्, नालायक भिसी मुर्दावाद’ जस्ता नारा गत साउनमा मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा झण्डै एक महिना नै लाग्यो । उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहविरुद्ध सोही विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित थिए । आन्दोलनका क्रममा उनको पुत्ला दहनसमेत भयो ।

डेढ वर्ष अघिमात्र उपकुलपति भएर आएका सिंहले विश्वविद्यालयको शैक्षिक स्तर उकास्ने, प्रशासन चुस्त–दुरुस्त राख्ने भन्दा पनि आन्दोलनका बीच कसरी आफू टिक्ने भन्नेमै केन्द्रित भएर अहिलेसम्मको कार्यकाल बिताएका छन् ।

उपकुलपति सिंह आफ्नै शैलीका कारण आलोचित बन्दै गएका छन् । उनको रुखो शैलीका कारण आफूहरुको पेसागत मर्यादा, पदीय गरिमामाथि आँच पुगेको भन्दै चारजना उपप्राध्यापकले राजीनामा समेत दिएका थिए भने दुई जना प्राध्यापकलाई उनले असार २२ मा ‘अक्षम्य अपराध’ गरेको भन्दै बर्खास्त गरिदिएका थिए ।

उपकुलपति सिंहले रुखो शैलीमा अरुप्रति अपमानजनक व्यवहार गरेको भन्दै प्राध्यापक संगठन र विद्यार्थी संगठनहरु उनीविरुद्ध एक भए । तर पनि उनको शैलीमा परिवर्तन हुन सकेन । उपकुलपतिको व्यवहार तथा शैली, उनीविरुद्धको आन्दोलन लगायतका कारणले विश्वविद्यालयको साख निरन्तर गिर्दो छ ।

तथापि उपकुलपति सिंहको कार्यकालमा विश्वविद्यालयले बजेट कार्यान्वयनको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

बजेट कार्यान्वयन तीव्र, आम्दानीमा वृद्धि र बेरुजु सम्परीक्षण

उपकुलपति सिंहको हालसम्मको कार्यकालमा विश्वविद्यालयले बजेट कार्यान्वयनको क्षेत्रमा राम्रो प्रगति गरेको छ । आर्थिक वर्ष ०७६÷७७ मा विश्वविद्यालयको कुल आम्दानी ५२ करोड २५ लाख ९५ हजार थियो भने ०७७÷७८ मा आम्दानी वृद्धि भइ ५५ करोड १३ लाख ८६ हजार ६० रुपैयाँ भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५१ प्रतिशत अर्थात् २ करोड ८७ लाख ९१ हजार ६० रुपैयाँ बढी हो ।

यस्तै आर्थिक वर्ष ०७७÷७८ मा विश्वविद्यालयको कुल बजेट ८० करोड ५० लाख १४ हजार थियो, जसमध्ये २६ करोड ४१ लाख ७७ हजार पुँजीगत र सञ्चालनतर्फ ५४ करोड ८ लाख ३७ हजार रुपैयाँ थियो । सो बजेटअन्तर्गत ५३ करोड २९ दाख ४२ हजार अर्थात् ६६.२० प्रतिशत कार्यान्वयन भएको छ । त्यसमध्ये पुँजीगत तर्फ ५६.०५ र सञ्चालनतर्फ ७१.१५ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।

यस्तै गत आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त पुँजीगत बजेट १५ करोडमध्ये १४ करोड ८० लाख ९२ हजार अर्थात् ९८.७२ प्रतिशत बजेट कार्यान्वयन गरिएको उपकुलपति सिंहले बताए ।

यस्तै गत आवमा विश्वविद्यालयको बेरुजु २६ करोड रहेकोमा अहिलेसम्म आइपुग्दा झण्डै ११ करोडभन्दा बढी रकम बेरुजु सम्परीक्षण भइसकेको सिंहको दाबी छ ।

करिब एक अर्ब आम्दानी हुने अनुमान

उपकुलपति सिंहले चालु आर्थिक वर्षमा विश्वविद्यालयको आम्दानी करिब एक अर्ब हुने अनुमान गरेका छन् । विश्वविद्यालयको अनुदानमा वृद्धि, सञ्चालनमा रहेका तथा थप शैक्षिक कार्यक्रमबाट उठ्ने शुल्क, गुणस्तर सुनिश्चितता तथा स्वायत्तता अनुदान, अनुसन्धान तथा विकासबाट प्राप्त हुने शीर्षकहरुबाट चालु आर्थिक वर्षको अन्तिमसम्म ९९ करोड ८७ लाख २२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उनको भनाइ छ ।

उनका अनुसार चालु आर्थिक वर्षको खर्चका लागि अनुमान गरिएको बजेट नै विनियोजन गरिएको र विगतको वर्षभन्दा २४.०६ प्रतिशतले वृद्धि भएको सिंहको भनाइ थियो ।

भौतिक संरचनाको विकास

विश्वविद्यालयले चालु आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा रहेका ६ वटा शैक्षिक तथा प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । यस्तै विद्यार्थीका लागि थप कक्षा कोठाको व्यवस्थापन गर्न व्यवस्थापन केन्द्रीय क्याम्पस भवनमा १ तला थप गर्न १ करोड ६६ लाख २३ हजार बराबरको बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा बहुवर्षीय नयाँ भवन निर्माण आयोजना अन्तर्गत केन्द्रीय पुस्तकालय, परीक्षा व्यवस्थापन कार्यालय, मानविकी तथा सामाजिक शास्त्रको भवनमा २ तला थप, केन्द्रीय क्याम्पसको भवन, शिक्षा केन्द्रीय क्याम्पस र विद्यार्थी युनियनको भवनमा १÷१ तला थप्ने योजना रहेको उनले सुनाए ।

विश्वविद्यालयको स्तरवृद्धिमा उपकुलपति सिंहको योजना

मध्यपश्चिम विश्वविद्यालयको ग्लोबल वरीयता ११ हजार ७०४ छ । उपकुलपति सिंहले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त वरीयता सुधारका लागि योजना बनाउनुपर्नेमा जोड दिए ।

‘हामीले त्यसका लागि अन्तर्राष्ट्रिय जर्नलहरुमा हाम्रा विद्यार्थी र प्राध्यापकहरूका आर्टिकल प्रकाशित गर्नुपर्छ । त्यसको प्रोत्साहन स्वरुप प्रतिलेख १० हजारका दरले उपलब्ध गराइने छ,’ उनले भने ।

यस्तै विश्वविद्यालयले ‘एमयु अवार्ड’ दिने भएको छ । राम्रो काम गर्नेलाई पुरस्कृत तथा नराम्रो काम गर्नेलाई दण्डित गर्ने नीति विश्वविद्यालयले लिएको बताउँदै उनले १५ विधाका ४० जनालाई ‘एमयु अवार्ड’ दिने  घोषणा समेत गरे ।

अवार्डको राशि ५ हजारदेखि तीन लाख सम्मको छ । जसमा सामान्य कार्यालय सहयोगीदेखि डिनसम्म पुरस्कृत हुन सक्ने उनको भनाइ छ ।

उपकुलपति सिंहले विश्वविद्यालयको गरिमा उच्च राख्न र शैक्षिक क्षेत्रको विकासका लागि अबको केही महिनभित्रै विश्वका विभिन्न देशबाट २५ जना पिएचडी गरेको व्यक्तिलाई ल्याउन लागिएको जानकारी दिए ।

भ्रष्टाचारमा शून्य सहनशीलता

उसो त उपकुलपति सिंहले सुरुवातदेखि नै भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताका साथै विभिन्न विकृति हटाइने दाबी गर्दै आएका थिए । तर पनि यस दिशामा उनले खासै प्रगति गर्न सकेका छैनन् । उनले आगामी दिनका लागि भन्दै तयार पारेका रणनीतिमा भने भ्रष्टाचार नियन्त्रणलाई पनि जोड दिइएको छ ।

आफूले विश्वविद्यालयलाई आधुनिक तरिकाले अघि बढाउन खोज्दा खोज्दै पनि राजनीतिक संरक्षणको आधारमा केहीले  आफूमाथि निरन्तर प्रहार गरिरहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा उनले भने, ‘म विश्वविद्यालय बनाएरै छाड्छु, म एक रुपैयाँ भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । मलाई काम गर्न दिनुहोस् । उनले पत्रकार सम्मेलन मार्फत नै आफ्नो सम्पति विवरणसमेत सार्वजनिक गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप