ad
x
रङ्गमञ्च

आधुनिक रङ्गमञ्च प्रवर्तक मल्लको घरमा पाइला टेक्दा...

person explore access_timeपुस १३, २०७८ chat_bubble_outline0

नेपाली नाटकको परम्परा शाही राजदरबार र श्री ३ का दरबारभित्र देखाएर सुरु भएको थियो । त्यतिबेला मञ्चको सजावट र स्टेजदेखि ध्वनि व्यवस्थापनसम्मको काममा भारतीय रङ्गकर्मीहरूको दबदबा थियो । रङ्गमञ्चमा त्यो परनिर्भरता प्रचण्ड मल्ललाई कत्ति उचित लागेन, त्यो परम्परा तोड्न रङ्गमञ्च अध्ययन गर्न उनी २०२४ सालमा रसिया गए । रसियाबाट फर्केपछि देखाइने नेपाली नाटकमा रङ्गमञ्चको सजावट, परिवेश निर्माण, पात्रअनुसारको पोसाकलगायत सबै कुरा उनले सम्हाल्न थाले । नेपाली रङ्गमञ्चलाई मौलिक आधुनिक सजावट भित्र्याउने रङ्गकर्मी प्रचण्ड मल्ल यस धर्तीबाट यही पुस २ गते सदाका लागि विदा भए ।


मल्लको घरमा छिर्दा



उनको देहवसानको खबर पाएपछि परिवार भेट्न साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’सँग रातोपाटीकर्मी उनको घर पुग्यो । मीनभवनबाट अलिकति उकालो चढेपछि बायाँतर्फ उनको घर रहेछ ।



फिका नीलो रङको गेट खोलेर भित्र पस्यौँ । आँगनमा टेबलमाथि सेतो दौरासुरुवाल, खैरो कोट, कालो टोपी लगाएको तस्बिरमा फूल र रुद्राक्षको माला लगाइएको थियो । तस्बिर नै बोल्छ जस्तो, हाँस्न हाँस्न खोजेको, ठूला ठूला आँखा र कान । जयश्रीराम लेखिएको कपडाले टेबल ढाकेको, टेबलमा केही फलफूल, कलश र अगरबत्ति बालिएको थियो । सबै प्राणीको पृथ्वी यात्रा यस्तै हो भन्ने मनमा लाग्यो । तपाईंको वैकुण्ठमा बास होस् भन्दै हात जोडेर श्रद्धाञ्जली अर्पण पनि गर्यौँ । केही दिन अघिसम्म रंगमञ्चकै लागि चिन्तन गर्ने प्रचण्ड मल्ल अब तस्बिरमा सीमित भएका थिए ।



सन्तानको नाउँमा मल्लकी एक मात्र छोरी छिन् । बाबुछोरी मात्र भएको परिवारमा अब छोरी मुनु मल्ल मात्र एक्लै छिन् । छोरीले माथि नै आउन भनेपछि बाहिरैबाट बनाएको सिँढी चड्दै माथिल्लो तलामा पुग्यौँ । घरमा मल्लकी छोरी, उनका दाजुका छोरा प्रकाश र अमेरिकाबाट आएका जेठीसासूका छोरा तीनजना बसेका रहेछन् । २०६९ सालमा पत्नीको देहान्तपछि घरमा प्रचण्ड मल्ल र छोरी मात्रै रहेछन् ।



मल्ल आफूले लेखेका नाटकहरूको प्रकाशनको विषयमा साहित्यकार श्रीओम श्रेष्ठ रोदनसँग छलफलमै थिए । फोनमा पटक पटक कुरा हुन्थ्यो । कोभिडका कारणले भेटघाट पछि सारेका थिए । ‘एउटा पुरस्कार पनि स्थापना गर्नुपर्ने छ भन्नुहुन्थ्यो । छवटा पूर्णाङ्की नाटक तयार गरिसकेँ, म त लेखेको लेख्यै छु भन्नुहुन्थ्यो,’ रोदनले उनले भनेको सम्झिए ।



ढोकाबाट भित्र  छिर्दा बायाँतर्फ २÷३ वटा अक्सिजनका सिलिन्डर । र्याकमा केही किताब र छेउको टेबलमाथि बालकृष्ण समको तस्बिर । उनी बालकृष्ण समबाट प्रशिक्षित थिए । समको तस्बिरमा रुद्राक्षको माला पहिर्याइएको थियो । सायद त्यो आफ्ना गुरुप्रतिको सम्मान थियो । त्यहीँ छेउमा थिए उनलाई विभिन्न सङ्घ संस्थाले दिएका सम्मान र कदरपत्र, साथमा सम्मान लिँदै गर्दाका क्षणलाई कैद गरेका तस्बिरहरू । त्यो सबैभन्दा पुरानो तस्बिर हुनुपर्छ, जुन उनलाई नाट्य क्षेत्रमा मार्गदर्शन दिने र मञ्चनमा अभिनय गर्न प्रेरित गर्ने बालकृष्ण समसँगको तस्बिर; त्यसमा उनीसहित ११ जना नाट्यकर्मीहरू सामूहिक रूपमा उभिएका छन् । त्यही लहरमा सम नाटक घर, पुरानो बानेश्वरमा खिचिएको सत्यमोहन जोशीसँगको तस्बिर । राजा वीरेन्द्रले गरेको सम्मानको तस्बिरसहित धेरै तस्बिर त्यहाँ सँगै छन् । पूर्व राजा, प्रधानमन्त्री, विशिष्ट व्यक्तिहरूले उनलाई सम्मान गरेका क्षण कैद गरेका थुप्रै तस्बिर पनि रहेछन् । तर जीवनको अन्तिम घडीमा उनले एक्ली छोरीबाहेक अरु कोहीको साथ पाएनन् । ​

 

रोग

कोरोना महामारी सुरु भएपछि मल्ल घरबाट बाहिर निस्किएनन् । ‘दुई वर्षदेखि कुनै कार्यक्रममा पनि जानुभएन । घरभित्रै लेख्ने, पढ्ने गर्नुहुन्थ्यो । माथि कौसीमा गएर घाम ताप्नु हुन्थ्यो,’ छोरी मुनुले भनिन्– ‘उमेरले पनि ८८ वर्षको उहाँको शारीरिक अवस्था पनि कमजोर थियो । शरीरले थाम्न सक्दैन भन्ने लागेर कोभिडको खोप पनि लिनुभएको थिएन ।’

उनमा दीर्घ रोग केही पनि थिएन, प्रेसर हल्का र दम २.५ माइल्ड थियो । कोराकटहरू तानेपछि सामान्य हुन्थ्यो दम पनि । अल्सर थियो तर २०५८ सालमा अपरेसनपछि त्यो ठीक भइसकेको थियो ।

बाँच्नका लागि एकेडेमीबाट अवकासपछि पाउने पेन्सन त उनीसँग थियो तर राष्ट्रले एउटा स्रष्टाका रुपमा दिनुपर्ने सम्मान र सुविधा उनलाई दिन सकेन । नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका संस्थापक उपकुलपतिसमेत रहेका उनको योगदान नेपाली रङ्गमञ्चले कहिल्यै बिर्सिन सक्दैन । 

निद्रा नलाग्ने सामान्य समस्या पहिलेदेखि नै थियो उनमा । ‘कहिलेकाहीँ २ बजे नै उठेर बस्नु हुन्थ्यो । ढाडको समस्या थियो, उत्तानो परेर पल्टिन नमिल्ने, कोल्टे परेर मात्र सुत्ने गर्नुहुन्थ्यो,’ छोरी मुनुले सुनाइन्– ‘कहिले राति ननिदाएर बिहानतिर मस्त निदाउनु हुन्थ्यो । कहिलेकाहीँ आज त मजाले निद्रा लाग्यो, ४ बजेसम्म मजाले निदाएँ भन्नुहुन्थ्यो ।’ निधनको दुइ दिनअघि मंसिर २९ र पुस १ गते भने आँखा झिमिक्क पनि नपारेको छोरी मुनुले बताइन् । उनी निद्राको औषधि खान मान्दैन थिए । बानी पर्छ भनेर हप्काउँथे । उनले ४ वर्षअघि सिद्धि पोलिक्लिनिकमा निमोनिया विरुद्धको भ्याक्सिन लिएका थिए । तर निमोनियाले नै ज्यान लियो ।

खाना

खानामा त्यति सौखिन थिएनन् उनी । पछिल्लो समय चिया बिस्कुट, रोटी, दूध मात्र हल्का खाना खान्थे । चुरोट भने धेरै तान्थे । ‘बिरामी भएपछि चुरोट नखानुस् भन्थ्यौँ तर एकान्तमा हुँदा खानु हुँदो रहेछ’, छोरी मुनुले अगाडि थपिन्– ‘२९ गते पनि छतमा गएर चुरोट तान्नुभएछ ।’ ड्रिङ्कस् पनि २९ गते अगाडिसम्म अलिअलि लिएका रहेछन् । ८८ वर्षको मान्छेलाई के कडाइ गर्नु भन्ने लागेर छोरीले छुट दिएकी थिइन् । मृत्यु हुनु दुई साता अघिदेखि नै खाना निकै कम गरेको छोरीले सुनाइन् ।

कसरी भयो निधन ?

मङ्सिरको २९ गते उनको शरीरमा अचानक अक्सिजनको मात्रा घटेर ६७ मा झर्योे । नजिकैको सिभिल अस्पताल लान खोज्दा जान मानेनछन् । ‘छिमेकीसँग सहयोग माग्न गएँ, म बाहिर गएको समयमा फोन आएछ’, छोरी मुनुले भनिन्– ‘फोन उठाउन खोज्दा लड्नु भएछ ।’ उनलाई नजिकैका मेडिकल पर्सनले घरमै आएर नेबुलाइजर लगाएर अक्सिजन दिए । ज्वरो चाहिँ १०२ थियो । छोरीले भनिन्, ‘सिटामोल दिएपछि ठिकै भएको थियो । तर त्यसको भोलिपल्ट निकै गाह्रो बनायो र सिभिलका डाक्टरलाई घरमै बोलाएर छातीको चेकजाँच गराएँ । छाती एकदमै ठीक छ, अक्सिजन चाहिँ कम भयो, अलि बढाइदिन्छु भन्नुभयो । केही सन्तुलनमा पनि आयो ।’

दिउँसो केही सञ्चो भएपछि उनले छतमा गएर पत्रपत्रिका हेर्दै मजासँग घाम तापे । घाम ढल्किँदै गएपछि बेलुकी कोठामा आएर दुईटा रोटी र दूध खाए ।  छोरीसँग रमाएर गफ गरे । भोलिपल्ट बिहान दुई बजे भने उनलाई धेरै गाह्रो भयो । छोरीले डाक्टरलाई घरमै बोलाइन् । डाक्टर आएर प्रेसर हेरे, छाती हेरे । सबै ठीक छ, राम्रो छ भने । अक्सिजन लेबल अलि कम देखिएको थियो । ‘अक्सिजन लगाएको बेला पनि टाउको एकदमै चिसो भयो भन्नुहुन्थ्यो, अनि तेल लगाइदिन्थे, तताई दिन्थेँ, मालिस गरिदिन्थे । कस्तो छ भन्दा अलि अलि ठीक भाछ भन्नुहुन्थ्यो । औषधि लेखिदिनुभयो, किनेर ल्याइयो’ छोरीले भनिन् ।

त्यतिबेलै आफूलाई ट्वाइलेट लागेको भन्दा छोरीले लगिन् तर ट्वाइलेट भएन । उनी बेसुरा कुरा गर्न थालेको छोरीले महसुस गरिन् । केही छिनमा हातखुट्टा छोड्न थाले । त्यसपछि छिमेकी बोलाएर सिभिल अस्पताल पुर्याइयो । एक्सरेमा दाहिने फोक्सोमा खराबी देखियो ।

सिभिलमा उपचारको क्रममा राम्रो रेस्पोन्स नभएपछि नर्भिक लाने तयारी हुँदैथियो । उनको अक्सिजन लेबल घटेर ३७ मा झर्यो । डाक्टरहरुले कोसिस गर्दै थिए । १० मिनेटपछि उनको सेन्स नै हरायो । २५ मिनेट सीपीआर गरे तर सफल भएन । अन्ततः पुस २ गते बिहान दिउँसो २ः१० बजे सिभिल अस्पतालको प्राङ्गणमा उनले अन्तिम सास लिए ।

किरियापुत्री

पशुपति आर्यघाटका ब्राह्मण उनको किरिया बसेका छन् । नियमपूर्वक १३ दिन कोरामा बसेबापत ती ब्राह्मणलाई ५० हजार रुपैंया दिने वाचा परिवारको छ । पछिल्लो समय छोरा नहुनेको छोरीले नै किरिया गर्ने चलन चलेको छ । उनकी छोरी किरिया नबस्नुको कारण खुलाइन्, ‘दागबत्ती मैले नै दिएँ तर स्वास्थ्यले साथ नदिएपछि बस्न सकिनँ । मैलाई गाह्रो भयो भने यताउति हेर्दिने, अह्राउने खटाउने मान्छे पनि कोही छैन । त्यही भएर नबसेकी हुँ ।’ छोरी मुनुले भनिन्, ‘किरियापुत्री बस्नेको पारिश्रमिक चाहिँ पशुपति विकास कोषले नै तोकेको हुँदो रहेछ, ५० हजार । त्यसबाहेक खाने, बस्ने, लुगाफाटो, दानदक्षिणा छुट्टै दिन्छु ।’

मल्लका कृति

मल्ल आफूले लेखेका नाटकहरूको प्रकाशनको विषयमा साहित्यकार श्रीओम श्रेष्ठ रोदनसँग छलफलमै थिए । फोनमा पटक पटक कुरा हुन्थ्यो । कोभिडका कारणले भेटघाट पछि सारेका थिए । ‘एउटा पुरस्कार पनि स्थापना गर्नुपर्नेछ भन्नुहुन्थ्यो । छवटा पूर्णाङ्की नाटक तयार गरिसकेँ, म त लेखेको लेख्यै छु भन्नुहुन्थ्यो,’ रोदनले उनले भनेको सम्झिए । उनका  ‘नेपाली रंगमञ्च’, ‘भातृप्रेम’, ‘तिलगंगा ः ऐतिहासिक नाटक संग्रह’लगायत ७० भन्दा बढी नाटक प्रकाशित छन् भने सय भन्दा बढी नाटक निर्देशन गरेका छन् । एउटा नाटकको पाण्डुलिपि भने नाट्य प्रज्ञा प्रतिष्ठानमा टाइपमा छ ।

मल्लले अभिनय गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायत नाटक चर्चित छ । ‘गंगालालको चिता’, ‘तिलगंगा’, ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’, जस्ता चर्चित नाटक निर्देशन गरेका मल्लले ‘विश्वास’ फिल्ममा कला निर्देशन पनि गरेका थिए ।

जन्मस्थान

उनको जन्मस्थान धेरैले वाराको कलैया बताउँछन् । तर उनको जन्मस्थान काठमाडौंको रञ्जना हल छेउको गुच्चा टोल भएको रोदनलले बताए । तर उनका बारे थेसिस गर्नेहरूले कलैयामा जन्मिएको उल्लेख गरेका छन् ।

तत्कालीन समयमा उनका पिता सरकारी सुब्बा थिए । बुबाको वीरगन्ज सरुवा हुँदा सँगै गएका थिए । सो समय रक्सौलको थिएटरमा नाटक हेर्थे । त्यहीको प्रभावले उनको झुकाव नाटकतिर  भयो । सुरेन्द्र मल्ल ‘डमरु’ले बालकृष्ण समसँग भेटाइदिएपछि उनको रङ्गमञ्च यात्राको औपचारिक सुरुवात भएको हो ।

बालकृष्ण समको नेपाल कला मण्डलबाट मल्लले नाट्ययात्रा सुरु गरेको थिए । समकै निर्देशनमा ‘भीमसेनको अन्त्य’, ‘प्रल्हाद’, ‘राजेन्द्रलक्ष्मी’ आदि नाटकमा अभिनय गरेका थिए । ‘समले प्रशिक्षित गरेका अन्तिम नाट्य कलाकार प्रचण्ड मल्ल नै हुन् । रङ्गकर्मको यो पुस्ता नै अब सकियो,’ रोदनले भने, ‘समको निर्देशनमा खेल्ने सूर्यनाथ शर्मा, सुभद्रा अधिकारीका श्रीमान् कृष्णमान अधिकारी, सिद्धान्तराज जोशी सबै सकिए । समका समकालीन होइन कि उहाँले भित्र्याएका त्यसपछिका पुस्ता मात्र हुन् अशेष मल्लहरू, हरिहर शर्माहरू । उहाँका समकालीन कोही पनि छैनन् अब ।’

नेपालमा अहिले जति पनि रङ्गमञ्च छन्, सबैको स्टेज मल्लले नै बनाएका हुन् । रसिया गएर रङ्गमञ्चसम्बन्धी औपचारिक अध्ययन गर्ने पहिलो नेपाली पनि हुन् उनी । नाटकमा कहाँ लाइट राख्ने, कति पर्दा राख्ने, रोल अनुसारको भेषभूषा र ड्रेसको परिकल्पना उनले नै सुरुवात गरेका हुन् । त्योभन्दा अगाडि भारतीयहरूको परामर्शमा गर्नुपथ्र्यो । उनले ध्वनिमा बादल लागेर चट्याङ परेको दृश्य पनि तयार गरेका थिए । लाइटबाट दृश्य निकाल्ने, ध्वनिबाट इफेक्ट निकाल्ने सीप उनमा थियो । एक किसिमले भन्ने हो भने उनी रङ्गकर्मका पिता नै हुन् ।

बाँच्नका लागि एकेडेमीबाट अवकासपछि पाउने पेन्सन त उनीसँग थियो तर राष्ट्रले एउटा स्रष्टाका रुपमा दिनुपर्ने सम्मान र सुविधा उनलाई दिन सकेन । नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका संस्थापक उपकुलपतिसमेत रहेका उनको योगदान नेपाली रङ्गमञ्चले कहिल्यै बिर्सिन सक्दैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।