बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा शेखरको वरियता विवाद : यसरी राखिएको थियो २० औँ नम्बरमा

कोइराला पक्ष असन्तुष्ट, देउवा पक्ष भन्छ– ठीकै छ !
सोमबार, १२ पुस २०७८, १९ : ५२
सोमबार, १२ पुस २०७८

नेपाली काँग्रेसमा सभापतिका प्रत्याशी शेखर कोइरालाको वरियता २० औँ नम्बरमा राखिएपछि तरङ्ग उत्पन्न भएको छ । काँग्रेसको विगतको अभ्यास र परम्पराविपरीत सभापति शेरबहादुर देउवाले शेखरलाई २० औँ वरियतामा राखेको भन्दै काँग्रेसभित्र टिप्पणी सुरु भएको छ ।

शनिबार केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औँ नम्बरमा राखिएको छ । शेखर पक्षीय कार्यकर्ता उनको वरियतालाई लिएर सभापति देउवामाथि सामाजिक सञ्जालबाटै खनिएका छन् । तर, देउवा पक्षीय नेताहरू भने कोइरालालाई २० औँ वरियतामा राख्नु स्वाभाविकै भएको बताउँछन् ।

१४ औँ महाधिवेशनमा सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका शेखरलाई वर्तमान र पूर्वपदाधिकारीपछिको वरियतामा राखिएको छ । काँग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्द्वीलाई सभापतिपछिको वरियता दिने गरिएको थियो । १० औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो ।

त्यतिबेला सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरियता निर्धारण गरिएको थियो । तर १४ औँ महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा दोस्रो भएका शेखरलाई २० औँ नम्बरमा राखिएकोमा उनी पक्षीय नेता कार्यकर्ताको चित्त दुखाइ छ । तर, देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन् ।

वरियतामा शेखर अब केन्द्रीय सदस्यको शीर्षस्थानमा रहेका छन् । १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरियता ३५ औँ नम्बरमा थियो । सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले यसपटक कोइरालालाई २९ नम्बरमा राख्न खोजेका थिए । खड्काले तयार पारेको वरियताको सूचीमा केही शीर्ष नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न बाँकी हुँदा नै शेखरलाई २९ नम्बरमा राखिएको थियो ।

​रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, सुजाता कोइराला प्रकाशशरण महत लगायतलाई मनोनीत गर्दा शेखरको वरियता यसपटक पनि ३५ औँ नम्बरमै पुग्ने अवस्था थियो ।

शेखरलाई २९ औँ वरीयतामा राखिएको थाहा पाएपछि उनलाई वर्तमान पदाधिकारीपछि केन्द्रीय सदस्यको पहिलो वरियतामा राख्ने माग लिएर उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा देउवाको कार्यकक्षमा पुगे । तर, केन्द्रीय समिति बैठकअघि उनीहरूले गरेको जोडबलमा शेखरलाई अन्ततः २० औँ वरियतामा राखियो । अब वर्तमान र पूर्वपदाधिकारीपछि पहिलो हुने गरी वरियता कायम गर्दा शेखर २० औँ नम्बरमा पुगेको नेताहरू बताउँछन् ।

महामन्त्री थापा भने पार्टीको परम्पराअनुसार शेखर कोइरालाको वरियता निर्धारण नगरिएकोमा असन्तुष्ट देखिएका छन् । वरियताका विषयमा रातोपाटीसँगको कुराकानीमा थापाले काँग्रेसको १० औँ महाधिवेशन स्मरण गरे ।

‘१० औँ महाधिवेशनमा धेरै सिनियर नेता हुनुहुन्थ्यो । त्यतिबेला पनि शेरबहादुर देउवालाई तेस्रोमा राख्नुहुन्छ कि हुँदैन भन्ने कुरामा गिरिजाप्रसाद कोइरालासँग रहेका नेताहरुले प्रश्न उठाएका थिए’, थापाले रातोपाटीसँग भने, हामी उहाँभन्दा सिनियर हो, हामी मान्दैनौँ भन्ने कुरा उठेको थियो । तर, गिरिजाप्रसाद कोइरालाले मसँग प्रतिस्पर्धा गरेको मान्छेलाई तेस्रो वरियतामै राखेर जान्छु भन्नुभयो ।’

त्यसपछि १२ औँ महाधिवेशनमा देउवा पराजित हुँदा पनि सुशील कोइरालाले दोस्रो वरियता दिएको थापा स्मरण गर्छन् । उनका अनुसार १३ औँ महाधिवेशनमा देउवासँग रामचन्द्र पौडेल पराजित हुँदा पनि त्यही अभ्यास भएको थियो ।

सभापतिमा दोस्रो मत प्राप्त गर्ने उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुने पार्टी विधानमा व्यवस्था भए पनि वरियताबारे विधानमा कुनै उल्लेख छैन । थापा अगाडि भन्छन् ‘हाम्रो विधानले दोस्रो वरियतामा राख पनि भन्दैन, नराख पनि भन्दैन । वरियता कसरी राख्ने भन्ने काँग्रेसमा परम्परा जस्तो भनेको छ । यो मूलतः पार्टी सभापतिको निर्णय हो ।’

वरियताका विषयमा विगतको अभ्यास र परम्परालाई हेरी उदार भएर आफूसँग प्रतिस्पर्धा गरेका नेतालाई पनि ठाउँ दिन आफूले सभापतिलाई सुझाव दिएको महामन्त्री थापाको भनाइ छ । यसरी जाँदा  पार्टीलाई फाइदा हुने उनी बताउँछन् ।

पार्टीलाई भागबण्डावाला गुटरहित बनाउन निर्णय मात्र गरेर हुँदैन । न्याय हुने गरी निर्णय गर्नुपर्छ । वरियतामा उहाँले विगतको अभ्यासलाई निरन्तरता दिएर जाँदा नै उपयुक्त हुन्छ,’ कोइराला प्यानलबाट महामन्त्री बनेका थापाले भने, ‘तर यो विषय अब पार्टी सभापतिकै विवेकमा छोडिदिनुपर्छ । धेरै टिप्पणी गर्दा पनि असुहाउँदो पनि हुन्छ । उहाँको निर्णयलाई मान्ने हो ।’

वरियताक्रमले मात्र सबै कुरा नभएको भन्दै वरियता क्रमसँग मात्र जोडेर हेर्न नुहने पनि थापाको भनाइ छ । ‘पार्टी सभापतिसँग अभूतपूर्व मौका आएको छ ।  उहाँ एउटा समूहबाट सभापति हुनुभयो । त्यो समूहको पार्टी संरचनामा बर्चश्व देखिएको छ । त्यसबाट अभूतपूर्व शक्ति प्राप्त गर्न अनुकुलतामा छ,’ थापाले भने, ‘उहाँसँग ४० प्रतिशत मत ल्याएको उम्मेदवारले सार्वजनिक रुपमा म भागबण्डावाला राजनीतिमा लाग्दैन भनिरहेको छ । त्यसैले पार्टी सभापति सबैको बराबर हो । उहाँ सबैभन्दा माथि हुनुहुन्छ भन्ने कुरा चाहिएको छ ।’

सभापति देउवालाई सही निर्णय गर्नका लागि सही समयमा सही सुझाव पनि दिएको उनले बताए । थापाले भने, ‘म उहाँको सहयोगी हो । उहाँलाई र पार्टीलाई फाइदा हुने गरी मैले सुझाव दिएको छु । आगामी दिनमा पनि दिन्छुृ ।’

देउवा पक्षका नेताको बेग्लै तर्क

सभापति देउवा पक्षीय एक पदाधिकारीले भने दोस्रो, तेस्रो वरियतामा शेखरलाई कसरी राख्ने भन्दै प्रश्न उठाए । उनले भने, ‘उहाँ काँग्रेसको क्रियाशील सदस्य भएको दुई दशक भएको छैन । सभापतिको उम्मेदवार भएकै भरमा कसरी उहाँलाई दोस्रो– तेस्रो वरियतामा राख्ने ? यहाँ  पाँच दशक काँग्रेसमा जिन्दगी सुम्पेका नेताहरू पनि केन्द्रीय कार्यसमितिमा हुनुहुन्छ ।’

पार्टीका वरिष्ठ नेता र पूर्वपदाधिकारीमध्ये शेखरको वरियता माथि हुनुपर्छ भन्ने कुरा वाहियात भएको उनको भनाइ छ । ‘रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहजस्ता नेतालाई उहाँ (शेखर कोइराला) को मुनि कसरी राख्न सकिन्छ ?,’ उनी भन्छन्, ‘आज उहाँलाई दोस्रो वरियता दिँदा भोलि रामचन्द्र दाइहरुलाई के आधारमा केन्द्रीय समितिमा ल्याउने ? पदाधिकारी समेत नभएको मान्छेलाई पूर्वपदाधिकारी भन्दा माथि राख्नुपर्ने ? उम्मेदवार भए पुग्यो ? तपाईंहरु (मिडिया)ले वाहियात कुरा उचालिराख्नुभएको छ ।’

वरिष्ठ नेता पौडेल र सभापति–महामन्त्रीका प्रत्याशीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने देउवाको तयारी छ । ती पदाधिकारीले शेखरको नाम केन्द्रीय सदस्यको टपमा राख्ने कुरामा पनि असहमति जनाए । उनले भने, ‘दुई पटक केन्द्रीय सदस्य भएको मान्छेलाई केन्द्रीय सदस्यको टपमा राख्ने कुरामा म पनि मलाई चित्त बुझेको छैन । सभापतिज्यूले छाडिदेऊ भन्नुभयो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप