शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी महाधिवेशन : जसले प्रचण्डलाई बनाइदिए ट्रयाक्टर ड्राइभर ! (भिडियो)

सोमबार, १२ पुस २०७८, १९ : ०९
सोमबार, १२ पुस २०७८

माओवादी केन्द्रको आठौँ महाधिवेशन स्थल कमलादीस्थित प्रज्ञा भवनको दोस्रो तला । जहाँ टाँगिएका मध्येको एउटा चित्रले धेरैको नजर तान्यो । चित्रमा प्रचण्ड ट्याक्टर चलाइरहेका छन् । चित्रमा प्रचण्डलाई ट्रयाक्टर ड्राइभर बनाइदिने चित्रकार हुन् केशवराज खनाल । उनले प्रचण्डलाई व्यङ्ग्य गर्नका लागि यो चित्र बनाएका भने होइनन् । प्रचण्डले देशलाई समाजवादी युगमा लाने हो भने कृषि क्षेत्रको विकास गर्नुपर्ने सन्देश दिनका लागि सो चित्र तयार पारिएको चित्रकार खनालले बताए । उनले चित्रको शीर्षक राखेका छन् ‘औद्योगिक क्रान्ति र समाजवाद’ । 

उनले चित्रको अर्थ खुलाउँदै भने–‘हामी विशेष गरी हामी अब जाने भनेको समाजवादी यात्रामा हो । यो चित्रको उद्देश्य पनि यही हो । अब हामी समाजवादमा जाँदा हामीले जति पनि अरू नीतिगत कुरा गरे पनि नेपाललाई आमूल परिवर्तन गर्न उत्पादनसँग नजोडिँदासम्म नेपालको आर्थिक समृद्धि सम्भव छैन । त्यो प्राप्तिका लागि राजनीतिक पार्टीले उत्पादनको नीति नलिई सुखै छैन । यसको नेतृत्व अब माओवादी केन्द्रले गर्नुपर्छ । माओवादी केन्द्रको मुख्य नेतृत्व भनेको प्रचण्ड हुनुहुन्छ । प्रचण्डबाट अब कृषि क्रान्ति मात्र नभई औद्योगिक क्रान्ति पनि हुनुपर्छ ।’

खनालले उत्पादनलाई राज्यसँग जोडेर विदेशबाट आएको रेमिट्यान्सलाई फेरी उतै फर्किने अवस्था रोक्नुपर्ने बताए । उनले कृषि क्रान्ति र औद्योगिक क्रान्तिलाई जोड दिनुपर्ने सन्देशमा रूपमा सो चित्र बनाएको उल्लेख गरे । 

प्रदर्शनीमा २ वटा चित्र राखेका खनालले अर्को चित्रमा पनि कृषि क्रान्तिलाई प्रचण्डले नेतृत्व गर्नुपर्छ भन्ने भावको चित्र बनाएका छन् । 

महाधिवेशन स्थलमा अखिल नेपाल ललितकला संघले सो चित्रकला प्रदर्शनी गरेको हो । २१ जना कलाकारका ३२ वटा चित्रकला प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका सबै चित्रले समाजवादी धारको सन्देश दिएको खनालले बताए । प्रदर्शनीमा राखिएका विभिन्न चित्रकलाहरूले माओवादी युद्ध, आर्थिक विकास, महिला मुक्ति एवं समाजवादमा जानुपर्ने भावहरू बोकेका थिए । 

माओवादी सेना र नेपाली सेनाको रगतबाट चित्र 

चित्रकार रवीन्द्र श्रेष्ठले शान्तिका लागि समायोजन शीर्षकमा केही वर्ष अघि नेपाली सेवा र माओवादी लडाकुको रगतबाट कोरेको चित्र पनि प्रदर्शनीमा राखिएको छ । चित्रमा बिचमा बुद्धको चित्र र दायाँ बायाँ रगतले कोरिएको कला रहेको छ । सशस्त्र युद्धमा माओवादी वा नेपाली सेना जो मारिए पनि नेपाली नागरिक मारिएको र फेरी यस्तो अवस्था नहोस् भन्ने सन्देश सहित सो चित्र कोरेको चित्रकार खनालले जानकारी दिए । 

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप