मन्त्री बनेको साढे दुई महिनापछि डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी
![मन्त्री बनेको साढे दुई महिनापछि डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी](https://rpcdn.ratopati.com/media/albums/dobate_bishwakarma_2_D5HHZBOXKw.jpg)
मन्त्री बनेको साढे दुई महिनापछि गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद्को बैठकबाट कार्यसम्पादन नियमावली पारित गराएकाले आज भोलिमा आफूसँग रहेको आन्तरिक मामिला मन्त्रालय विश्वकर्मालाई सुम्पन लागेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री पोखरेलको मातहतमा रहेको मन्त्रालय अलग गरेर विना विभागीय मन्त्री विश्वकर्मालाई जिम्मेवारी दिनका लागि कार्यसम्पादन नियमावलीको अनुसूचीमा परिवर्तन गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्था मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘मुख्यमन्त्री पोखरेलको मातहतमा रहेको मन्त्रालय अलग गर्ने गरी आज मन्त्रिपरिषद्को बैठकले कार्यसम्पादन नियमावली अनुमोदन गरिएकाले उहाँले जिम्मेवारी पाउनुहोला,’ उनले भने, ‘तर, अहिले म पोखरा बाहिर भएकाले जिम्मेवारी नै दिइसकेको जानकारी भएन, आज वा भोलि नै जिम्मेवारी पाउनुहोला ।’
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालय छुट्टै थियो । अघिल्लो सरकारले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय मात्र राखेर आन्तरिक मन्त्रालय मुख्यमन्त्रीको जिम्मामा राखेको थियो । अहिले त्यही मुख्यमन्त्री पोखरेलको जिम्मामा रहेको मन्त्रालय विश्वकर्मालाई दिइएको हो । योसँगै गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय पुगेको छ ।