बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सांसदहरूको माग : भिजिट भिसामा कडाइ गरौँ

‘क्षमतावान् कामदार पठाउन नसक्दा वैदेशिक रोजगार नै धरापमा’
सोमबार, १२ पुस २०७८, १६ : ०७
सोमबार, १२ पुस २०७८

भिजिट भिसामा विकृति र विसङ्गति बढिरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरूले बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरूले दुःख पाउने गरेको भन्दै सांसदहरूले भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरूले कानुनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताए । नेपाली कामदारहरूलाई आफूले गर्ने कामको बारेमा पूर्ण जानकारी हुनुपर्ने र दक्ष कामदार मात्र पठाउनुपर्नेमा उनले जोड दिए । उनले भने – ‘विभिन्न चोर बाटो बाट जाने गरेको यो भिजिट भिसाको नाममा वा अन्य भिसाको नाममा जाने र कानुनी व्यवस्थापन राम्रो सँग नभएको कारणबाट नेपाली कामदारहरूले दुःख पाउने अवस्था रहेको मैले महसुस गरेँ । त्यसैले यसलाई समितिको निर्देशन र विद्यमान कानुनहरूको बिचमा एउटा तारतम्य मिलाएर हामीले सहज रूपले अगाडी कसरी बढाउने त्यतापट्टि सबै पक्ष मिलेर सहज गर्नुपर्छ भन्ने मेरो धारणा छ । सहज नगरिँदाको अवस्थामा विभिन्न किसिमले आपराधिक घटनाहरू घट्ने गरेको र नेपालीहरूले दुःख पाउने रहेछ । नेपाली कामदार कुन काममा जाने हो, त्यसको पूर्ण जानकारी हुनुपर्ने र त्यो विषयमा पोख्त तालिमको व्यवस्थापन गरेर स्किल्ड म्यानपावरको रूपमा मात्रै पठाउने व्यवस्था गरौँ । त्यसका लागि कहाँ कहाँ कानुन संशोधन गर्नुपर्छ, ऐन, नियम तर्जुमा गर्नुपर्छ त्यो गरुम् ।’

सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राखिन् । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उनको भनाई छ । उनले भनिन् – ‘हाम्रो नागरिक योग्य भएर नै जानु वेश हुन्छ । त्यसको लागि सरकारले के के गरिरहेको छ ? के के प्रशिक्षण दिइरहेको छ ? उनीहरूको भाषाको पनि अभाव हुन्छ । योग्य बनाएर पठाइदिए राम्रो हुन्छ । अप्ठ्यारोमा दूतावास, घरमा सम्पर्क गर्न पनि दिँदैन भनेको सुनिन्छ । यो सबै कुराको ग्यारेन्टी हुनुपर्‍यो जुन ठाउँमा जानुहुन्छ घर, दूतावासमा सम्पर्क गर्न सकुन् ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान् कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताए । स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने उनले बताए । उनले भने – ‘क्षमतावान् कामदार पठाउन नसक्दाखेरी हाम्रो वैदेशिक रोजगार व्यवसाय धरासायी भयो । विप्रेषण धेरै घटिरहेको छ । हामीले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्ने हो भने वैदेशिक रोजगारीलाई नै हामीले प्रश्रय दिनुपर्छ । र क्यापेवल मेनपावर, प्रोफेसनल मेनपावर पठाउनुपर्छ । डाक्टर, इञ्जिनियर, नर्सहरू तयार गरेर, सिकर्मी, डकर्मीहरूलाई तालिम दिएर पठाउनुपर्छ । सातै प्रदेशमा ट्रेनिङ सेन्टर स्थापना गर्न लागिरहेका छौँ । भिजिट भिसा एकदमै गैर कानुनी हिसाबमा गयो । भिजिट भिसामा देखिएको विकृति र विसङ्गतिलाई हटाउनुपर्ने देखियो ।’

सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यस सँग सम्बन्धित सरकारी निकायहरू गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरू बसेर देखिएका विकृति र विसङ्गति हटाउनुपर्ने बताए । उनले यस कामका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत अग्रसरता लिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप