बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

डलरको तुलनामा कमजोर बन्दै भारू, चार महिनामै २.२ प्रतिशतले ओरालो

सोमबार, १२ पुस २०७८, १३ : ४१
सोमबार, १२ पुस २०७८

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारू) निरन्तर कमजोर बन्न थालेको छ । यो वर्ष सन् २०२१ को पछिल्लो चार महिनामा डलरसँग भारू २.२ प्रतिशतले कमजोर बनेको अमेरिकी समाचार संस्था ब्लूमवर्गले उल्लेख गरेको छ । ब्लूमवर्गले सार्वजनिक गरेको रिपोर्टअनुसार अन्य एसियाली मुलुकको मुद्राको तुलनामा डलरसँग भारू धेरै कमजोर बनेको हो ।

यो क्रम अझै जारी रहन सक्ने ब्लूमवर्गले उल्लेख गरेको छ । यही विषयमा टिप्पणी गर्दै जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा.प्रविन झा भारू कमजोर हुनेक्रम विगत ५÷७ वर्ष अगाडि देखिनै सुरू भएको बताउँछन् । भारतीय समाचार संस्था दि वायर हिन्दीसँगको कुराकानीमा उनले भारू डिमनिटाइजेसनदेखि नै ओरालो गतिमा लागेको बताए ।
उनले भने, ‘कोभिड–१९ महामारी आउनु अघिदेखि नै भारू डलरको तुलनामा ओरालो लागिरहेको थियो । जसलाई कोभिड महामारीको भयावह स्थितीमा थप मद्दत पुग्यो ।’ यसका साथै, भारत पेट्रोलियम पदार्थ प्रयोगमा पूर्णरुपमा परनिर्भर छ । पेट्रोलियम पदार्थको भारतीय माग धान्न वर्षेनी अर्बौ डलर बाहिर जान्छ । जसले अर्थतन्त्र कमजोर बनाउन थप मद्दत पुगेको झा बताउँछन् ।

भारुको तुलनामा डलर बलियो बन्दै जाँदा पेट्रोलियम पदार्थको आयात गर्दा ठूलो रकम बाहिरिन्छ । पेट्रोलियम पदार्थको आयात गर्दा डलरमै भुक्तानी गर्नुपर्छ । यस्तै, भारतले विदेशी मुलुकबाट ठूलो परिणामको वस्तु आयात गर्छ । उक्त वस्तु आयात गर्दा पनि डलरमै भुक्तानी गर्नुपर्छ । यसले भारतीय मुद्रास्फीति झनै बढ्ने आँकलन गरिएको छ । 

यसका साथै, कोभिड महामारी यता भारतबाट विदेशी लगानीकर्ताले ३४ हजार करोड भारू आफ्नो मुलुक फिर्ता लगेका छन् । कतिपय विदेशी लगानीकर्ताले लगानी नै फिर्ता लगेको र कतिपयले लगानबाट आएको मुनाफा फिर्ता लगेका हुन् । छोटो अवधिमै यति ठूलो रकम फिर्ता जाँदा अर्थतन्त्रमा चाप परेको बताइन्छ । 

भारतीय अर्थतन्त्र महामारीपछि सुधारतर्फ बढेको अर्थविद्हरूको भनाई छ । यद्यपि, अपेक्षाभन्दा कमजोर गतिमा सुधार भइरहँदा समस्या भएको बताइन्छ । भारतीय अर्थतन्त्र कमजोर बनेपछि भारूको तुलनामा डलर बलियो हुन्छ । तर, यही अवधिमा चीन, फिलिपिन्स, माल्दिभ्स र अन्य एसियाली मुलुकको मुद्रा डलरको तुलनामा स्थिर छन् भने कतिपय मुलुकको मुद्रा बलियो बन्दै छन् ।

डलरसँग भारू कमजोर बन्दा नेपालमा पनि डलरको मूल्य बढेको बढ्यै छ । नेपाल र भारतबीच स्थिर विनिमयदर रहेकाले अमेरिकी डलरको तुलनामा भारू बलियो बने नेपाली रुपैयाँ पनि बलियो बन्छ । यस्तै, डलरसँग भारू कमजोर बने त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि पर्छ । अहिले एक अमेरिकी डलरको मूल्य १२०.३४ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप