बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र पाउन जनतालाई सास्ती

महानगरमा ४  हजार बढी आवेदन पेन्डिङ, नक्कली खोप कार्डले झनै समस्या
सोमबार, १२ पुस २०७८, ०९ : ४४
सोमबार, १२ पुस २०७८

जनकपुरकी रेखा श्रेष्ठ क्यूआर कोडसहितको विद्युतीय प्रमाणपत्रका लागि टेकुस्थित परिवार कल्याण महाशाखा कार्यालयको शाखाको कोठाकोठा चाहरिरहेकी थिइन् । ‘क्यूआर कोडको फारम भरेको ४ दिन बितिसक्यो, आज साँझ ५ बजेसम्म इजरायलका जानका लागि सबै कागजात पत्र पठाइसक्नु पर्ने’ भन्दै खोप प्रमाणपत्रका लागि भौँतारिरहेकी थिइन् ।

यस्तै काठमाडौँ बाँसबारीका विशाल पोखरेलले कोभिड–१९ प्रमाणपत्र पाए पनि खोप कार्ड र  प्रमाणपत्रमा खोप लगाएको मिति फरक–फरक लेखिएकाले सच्याउन घरी काठमाडौँ महानगर कार्यालय घरी टेकु धाउँदा दिक्क भएको सुनाए । खोप कार्ड अनुसार खोप लगाएको प्रमाणपत्र मिति सच्याउनका लागि अनलाइन फारम भरेको ५ बित्दासमेत प्रमाणपत्र नपाएको उनको गुनासो थियो । यसरी अनलाइन फारम भरेर लामो समयसम्म प्रमाणपत्र नपाएको, प्राप्त गरेको अनलाइन प्रमाणपत्रमा त्रुटी भएको र खोप प्रमाणपत्र कहाँबाट कसरी प्राप्त गर्ने भन्ने बारे बुझ्न टेकुस्थित परिवार कल्याण महाशाखाको कार्यालयमा दिनहुँ सयौँको भिड लाग्ने गर्छ ।

केन्द्र सरकारले क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिने जिम्मेवारी स्थानीय तहलाई दिए पनि दिनहुँ परिवार कल्याण महाशाखामा अझै पनि मानिसको भिड लाग्ने गर्छ । परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार खोप प्रमाणपत्रका लागि विगतमा कोभिड–१९ को क्यूआर कोड दिँदै आएको महाशाखाले स्थानीय निकायलाई नै जिम्मेवारी दिएको हो ।

प्रमाणपत्र प्राप्त प्रक्रिया बारे जानकारी नपाउँदा जनतादेखि महाशाखाकै कर्मचारीले पनि सास्ती खेप्दै आएका छन् । ‘परिवार कल्याण महाशाखा कार्यालयको प्राङ्गण मै क्यूआर कोड यहाँबाट पाइदैन, अनलाइन फारम भरेर प्रमाणपत्र नपाएको खण्डमा अन्तिम खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुहोला,’ भन्नकै लागि एक कर्मचारीलाई प्राङ्गणमै खटाएको अवस्था छ । 

सिंहदरबारको दक्षिण गेटअगाडि रहेको काठमाडौँ महानगरको स्वास्थ्य शाखामा खोप प्रमाणका लागि अनलाइन फारम नभरीकन टेकु पुगेर पुनः महानगर कार्यालयका आइपुगेको बझाङका केशर रोकायाले भने, ‘भोलिको लागि कतारको फ्लाइट छ  । म्यानपावरले टेकुमा खोपको क्यूआर ल्याउनु भनेर आएको हो ।’

यसरी क्यूआर कोड प्रमाण पत्र लिने प्रक्रिया थाहा नपाएर अनि क्यूआर कोडका लागि फारम भरेको लामो समयसम्म नपाउँदा काठमाडौँ महानगर र परिवार कल्याण महाशाखामा भिड् लाग्ने गर्छ । यति मात्रै होइन क्यूआर कोड प्रमाणपत्र लिन ग्रामीण भेगबाट विदेश जानका लागि काठमाडौँ आएका धेरै जना होटलमा ३/४ दिनसम्म बस्न समेत बाध्य छन् ।  काठमाडौँ महानगरपालिकामा मात्रै ४ हजारभन्दा बढी क्यूआर कोड फारम पेन्डिङमा छ ।

महानगरबाटै क्यूआर कोड पाउन सास्ती 

दोस्रो मात्रा खोप लगाएकाले  प्रक्रियाअनुसार आवेदन भरेर पनि काठमाडौँ महानगरबाट समयमै प्रमाणपत्र नपाएको गुनासो बढ्न थालेको छ । उपत्यकाबाहिर अन्तिम खोप लगाएकाहरूले खोप प्रमाणपत्रका लागि काठमाडौँ महानगरपालिकामै आवेदन दिँदा समस्या भएको महानगरपालिका स्वास्थ्य शाखाका कोभिड—१९ फोकलप्रसन ज्ञानबहादुर ओली बताउँछन् ।

अनलाइन फारम भर्नेले बठ्याइ गर्दा समस्या भएको उनले बताए । ‘कोरोनाविरुद्धको खोप अन्तिम मात्रा उपत्यका बाहिर लगाएका छन्,’ उनले भने ‘खोप कार्डमा प्रस्ट बाहिरी जिल्लामा खोप केन्द्रको स्ट्याम्प लगाएको छ । तर, विदेश जानेहरूले अनलाइन फारम भर्दा बठ्याइँ गरेर काठमाडौँको भित्रकै खोप केन्द्र भनेर उल्लेख गरेका छन् ।’ यस्तै, खोपको दुवै मात्रा बाहिर लगाए पनि खोप प्रमाणपत्रका लागि काठमाडौँ महानगरपालिका थाहा नपाएर आउनेहरू पनि धेरै रहेको उनले बताए । 

‘सुरुवाती समयमा परिवार कल्याण महाशाखाले क्यूआर कोड दिने भएकाले सिधै टेकु पुग्ने गर्छन्,’ उनले भने, ‘टेकु पुगेपछि बल्ल पालिकालाई क्यूआर कोडको जिम्मा दिएको बताइन्छ त्यसपछि सिधै टेकुबाट मानिसहरू महानगर आइपुग्छन् । कहाँबाट अन्तिम खोप लगाएको हो, त्यही सम्पर्क गर्नुपर्छ भनेर भनिएन । त्यसैले धेरै मानिस अलमलिएका छन् ।’ पहिला टेकुबाट क्यूआर कोड पाइन्थ्यो अहिले काठमाडौँ महानगरमा गएपछि पाइन्छ भनेर धेरै मानिस भ्रममा रहेको  महानगरपालिकाका स्वास्थ्य शाखाका ओलीको बुझाइ छ । उनले ७/८ दिनयता अनलाइन आवेदनहरूको काम पेन्डिङमा रहेको बताए ।  ‘इमर्जेन्सी भएकालाई महानगरको कार्यालयमै आउनुभएको छ,’ उनले भने, ‘हामी सेवा दिइरहेका छौँ ।’

महानगरमा ४  हजार बढी आवेदन पेन्डिङ  

काठमाडौँ महानगरमा मात्रै ४ हजार बढी क्यूआर कोडको आवेदन पेन्डिङ रहेको छ । पछिल्लो समय काठमाडौँ महानगरले ३ तीन वटा युजर बनाएर तीन जनाले बिहान, दिउँसो र साँझ गरेर सेवा दिइरहेको ओलीले बताए ।

 ‘आवेदन दिएर धेरै जना इमेल आउँछ भनेर बस्नुहुन्छ, मेल आउँदैन । त्यहीँ साइडमा गएर फेरि जन्म मिति राखेर हेर्नुपर्छ । धेरैले त्यसरी हेर्नुहुन्न अनि किन म्यासेज अनि मेल आएनन् भन्दै आउनुहुन्छ । कोड नम्बर आइसकेको हुन्छ । त्यसैले पनि पेन्डिङमा छन्,’ उनले भने ।

क्यूआर कोडसम्बन्धी सबै स्थानीय तहलाई  जिम्मा दिइएको भए पनि कर्मचारी यस विषयलाई गम्भीरता साथ लिँदैनन् । उता क्यूआर कोड प्रमाणपत्रका प्राप्तिबारे पूर्ण रूपमा प्रक्रिया थाहा नपाउँदा जनता सास्ती खेप्न बाध्य छन्  । परिवार कल्याण महाशाखाले सबै स्थानीय तहलाई क्यूआर कोड प्रमाणपत्रका लागि तालिम दिएर तयारी अवस्था राखेको बारम्बार बताउँदै खाए पनि क्यूआर कोड प्रमाणपत्रको अनलाइन आवेदन प्रक्रिया र प्राप्ति प्रक्रिया बारे बुझाउन नसक्दा समस्या भएको छ ।

खोप कार्ड नै नक्कली  

कोरोना विरुद्धको खोप लगाएपछि क्यूआर कोड बनाउन आउनेहरूले खोप लगाएको नक्कली कार्डले अनलाइन आवेदन भर्ने गरेको पाइएको छ । जोन्सन एण्ड जोन्सन खोप लगाएको फेक कार्डबाट क्यूआर कोडका लागि आवेदन दिनेहरूको आवेदन पनि पेन्डिङ रहेको काठमाडौँ महानगरले जनाएको छ । नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाउने व्यक्तिभन्दा खोप कार्ड बढी पाइएको परिवार कल्याण महाशाखाले जनाएको छ । साउन ४,५,६ गने जोन्सन एण्ड जोन्सन खोप अभियानको रूपमा सञ्चालन गरिएको थियो । त्यसपछि विदेश जानेहरूका लागि काठमाडौँका वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा जोन्सन एण्ड जोन्सन दिइएको थियो । तर, त्यस समयमा नेपाल प्रहरी र सैनिक अस्पतालमा जोन्सन एण्ड जोन्सन खोप लगाएको कार्डसहित क्यूआर कोडका लागि आवेदन पर्ने गरेको महानगरका एक कर्मचारीले बताए ।

त्यस समयमा जोन्सन एण्ड जोन्सन खोप नै नलगाइदिएका अस्पतालहरूको स्ट्याम कार्ड लगाएको कार्डसहित आवेदनलाई अस्वीकार गर्ने गरेको महानगरको भनाइ छ ।

काठमाडौँ महानगरले जोन्सन एण्ड जोन्सनको खोप लगाएको भनेर आवेदन दिने दैनिक २० वटा कार्ड रिजेक्ट हुने गरेको उनले बताए ।  यस्तै, दैनिक महानगरले दैनिक साढे ४ सयदेखि ५०० आवेदनको भेरिफाइ गर्छ । महानगरले ८६ हजार जनाको क्यूआर कोड आवेदन भेरिफाइ गर्ने गर्छ । परिवार कल्याण महाशाखाका अनुसार, हालसम्म दुई लाख ८४ हजारले क्यूआर कोड लिइसकेको छन् ।  

क्यूआर कोडका लागि आवेदन दिने  तरिका

प्रमाणपत्रका लागि आवेदन भरिसकेको २४ देखि ४८ घण्टाभित्र प्रमाणीकरण  समय लाग्छ  । त्यसपछि आफ्नो आवेदनको अवस्था बुझ्न https://vaccine.mohp.gov.np/search मा गइ आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखेर खोज्न सकिन्छ । आवेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्नुपर्ने हुन्छ । आवेदन अस्वीकृत भएको खण्डमा  विवरण सच्याएर पुनः अर्को दिन प्रमाणपत्र डाउनलोड गर्न सकिने भनिएको छ । त्यो गर्दा पनि प्रमाणपत्र नआएमा अन्तिम खोप पुरा गरेको पालिकामा जान परिवार कल्याण महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप