शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उखुको समर्थन मुल्य तोक्न किसानको माग : एक महिनामै सावा २ करोड घाटा

सोमबार, १२ पुस २०७८, ०८ : ४८
सोमबार, १२ पुस २०७८

उखु किसानहरुले उखुको समर्थन मुल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् । उखु क्रसिङ सिजन शुरु भइसक्दा पनि सरकारले उखुको मुल्य नतोक्दा किसानहरू घाटा व्यहोर्न बाध्य भएका छन् । किसानहरू उखु क्रसिङका लागि चिनी मिल तथा भेली क्रसर उद्योगमा लगि रहेका छन् । तर मुल्य निर्धारण नभएकै कारण क्रसर संचालकहरु किसानको बाध्यताको फाईदा उठाउँदै सस्तोमा प्रति क्विन्टल ४ सय रुपैंयामा उखु खरिद गरिरहेको उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

अध्यक्ष यादवका अनुसार यसवर्ष सरकारले उखुको लागत र चिनीको बजारलाई आधार बनाई उखुको मूल्यप्रति क्विन्टल ६२५ रुपैया तोक्नुपर्ने आग्रह गरे । गतवर्ष सरकारले ५४४ रुपैया प्रति क्विन्टल मुल्य निर्धारण गरेको थियो । विगतका बर्षदेखि यसरी मुल्याङ्कन नगरिकन मुल्य निर्धारण गर्दा किसानहरू ठूलो नोक्सान व्यहोर्दै आएकाले यसवर्ष तत्कालै उचित मुल्य निर्धारण गर्न उनले आग्रह गरे ।

उखु क्रसिङ सिजनको एक महिना बित्यो तर अहिलेसम्म सरकारले उखुको मुल्य निर्धारण गरेन जसकारण किसानहरू आफनो ऋण तिर्न र घरबार मिलाउन बाध्य भई ४ सय रुपैया प्रति क्विन्टलमा उखु बेचिरहेका छन् । यो मुल्य लागत र बजारको तुल्नामा २ सय २५ रुपैयाप्रति क्विन्टल कम रहेको देखिन्छ । यसरी किसानहरू क्विन्टलै पिच्छे २ सय २५ रुपैया घाटा खादा यस सिजनमा हालसम्म क्रसिङ भएको १ लाख क्विन्टल उखुमा २ करोड २५ लाख रुपैया किसानले घाटा खानु परिरहेको अध्यक्ष यादवले दुखेसो पाखे । उनले, अझै सरकारले तत्काल उखुको समर्थन मुल्य तोकेन भने यो घाटा रकम थप बढदै जाने चिन्ता व्यक्त गरे ।

जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हँुदै आएको छ । उखु खेतीमा हस आएकाले यसवर्ष जिल्लामा १० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा बागमती खाडसारी चिनी मिल, इन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनी मिल गरि ३ ठुला चिनी उद्योगहरु छन् भने सय बढी भेली क्रसर उद्योगहरु छन् । 

विगत ३ बर्षदेखि बागमती चिनी मिल बाहेक इन्दिरा चिनी मिल र लुम्बिनी चिनी मिल विभिन्न कारण देखाउँदै संचालनमा आएका छैनन् । यस वर्षपनि लुम्बिनी चिनी मिल र इन्दिरा चिनी मिल संचालनमा आउने सम्भावना कम देखिएकाले किसानहरू उखु कहाँ बेच्न भनि चिन्तामा छन् ।

त्यस्तै विभिन्न बहाना गर्दै भुक्तानीमा आलटाल गर्दै आएका लुम्बिनी चिनी मिल र इन्दिरा चिनी मिलबाट गरि किसानहरुले विगत ४ वर्षदेखिको १ करोड ६० लाख रुपैया भुक्तानी पाएका छैनन् । पुरानो बक्यौता रकम भुक्तानी नपाएपछि किसानहरुलाई घर व्यवहार मिलाउन र खेतीबारी गर्न निकै समस्या भएको गुनासो गरेका छन् । 


विगत ४ वर्षदेखिको इन्दिरा चिनी मिलको १ करोड ३० लाख र लुम्बिनी चिनी मिलको ३० लाख रुपैया किसानहरुले अझै भुक्तानी पाएका छैनन् । यता सम्बन्धित निकायले पनि पहल गर्न छोडेको किसानहरुको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप