शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : संकटाको सहज जित, आर्मी र थ्री स्टारले गोल रहित बराबरी

आइतबार, ११ पुस २०७८, १९ : ३५
आइतबार, ११ पुस २०७८

चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टारले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँड्दा आइतबार कै अर्को खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)माथि सहज जित निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको दिनको दोस्रो खेलमा आर्मी र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँड्दा दिनको पहिलो खेलमा संकटाले बिबिसीलाई ३–० ले पराजित गरेको हो । थ्री स्टारसँग बराबरी खेल्दा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी छनोट खेल्ने मौका गुमेको छ । यससँगै थ्री स्टारले पछिल्ला तीन खेलमा लगातार बरारबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ भने बिबिसीमाथि सहज जित निकालेको संकटाले लिग वरियतामा सुधार गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

बराबरीपछि आर्मीले ५ खेलमा १० अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ भने ६ खेलबाट ७ अंक जोडेको थ्री स्टार सातौं स्थानमा उक्लिएको छ । लिग अन्तर्गत दिनको पहिलो खेलमा एक तर्फी जस्तो प्रदर्शन गरेको संकटालाई जित दिलाउन उत्तम राईले उत्कृष्ट प्रदर्शन गरे । उत्तमले टोलीका लािग दुई गोल गरे । यस्तै लक्ष्मण रुचालले एक गोल थप्दै संकटालाई सहज दिलाउन सफल भए ।

दशरथ रंगशालामा संकटाले पहिलो हाफमा निकालेको तीन गोलको अग्रता जितका लागि पर्याप्त भएको थियो । सुरुआतबाट नै दबाब दिएर खेलेको संकटाले खेलको १३ औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । जोर्डन जुनियरको पासमा उत्तमले हेडमार्फत उत्कृष्ट गोल गरेर टोलीको लागि खाता खोलेका थिए । २८ औं मिनेटमा उत्तमले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । फोडे फोफानाको पासमा उत्तमले पेनाल्टी क्षेत्रबाट सहजै गोल गरेका थिए ।

त्यसपछि खेलको ३८ औं मिनेटमा लक्ष्मणले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए । ब्रिगेडका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै लक्ष्मणले सहज गोल गर्न सफल भएका थिए । त्यसपछि बाँकी समयमा दुबै तर्फबाट थप गोल हुन सकेन र संकटाले पहिलो हाफमा निकालेको अग्रता नै स्पष्ट अंक जोड्न निर्णायक बन्यो । जितसँगै संकटाले ६ खेलमा १२ अंक जोडेको छ । जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको संकटाले ६ खेलबाट ३ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ । उता पराजित बिबिसीले जारी प्रतियोगितामा तेस्रो हार बेहोेरेको छ । ६ खेलबाट १ जित र २ बराबरी खेलेर ५ अंक जोडेको बिबिसी तालिकाको ११ औं स्थानमा छ । खेलमा संकटाका फोडे फोफाना प्लेयर अफ दि म्याच चुनिँदा संकटाकै उत्तम इमर्जिङ प्लेयर अफ दि म्याच घोषित भए । लिगमा सोमबार एक खेलमात्र हुनेछ । दशरथ रंगशालामा हुने खेलमा सातदोबोटो युथ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप