बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बोरामा भरेर राखिएका थिए २७५ किलो सुनचाँदी, फिल्मी शैलीमा लुकाइएको थियो कालो धन

आइतबार, ११ पुस २०७८, १७ : २५
आइतबार, ११ पुस २०७८

भारतको कानपुरमा अत्तर व्यवसायी पियूष जैनको घरबाट कालो धन भेटिने सिलसिला जारी भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । सुरुमा कानपुरबाट १७७ करोड भारु नगद भेटियो र अहिले उनको कन्नौजस्थित घरमा पनि खजाना भेटिएको छ । यहाँ आइतबार तेस्रो दिनपनि जैनको घर र कारखानामा सेन्ट्रल गुड्स एण्ड सर्भिस ट्याक्स (सिजिएसटी) र आइटीको अनुसन्धान जारी छ । शनिबार अबेर राती उनको घरमा एउटा गोदाम पनि भेटियो ।

यसमा २५० किलो चाँदी र २५ किलो सुनले भरिएका बोरा भेटिए । चाँदीको मूल्य करिब पौने दुई करोड भारु र सुनको मूल्य करिब १२ करोड भारु बताइएको छ । साथै, उक्त समूहले १०७ करोड नगद पनि पाएको छ । हालसम्म जम्माजम्मी २८४ करोड भारु भेटिइसकेको छ । प्रहरीले व्यापारीका दुई छोरा प्रत्युष जैन र प्रियांश जैनका साथै अन्य कारखानाको अनुसन्धानमा जुटेको छ ।

स्रोतले दिएको जानकारी अनुसार गोदाममा नोटले भरिएका ९ बोरा पनि भेटिएका छन् । यसमा धेरैजसो नोट दुई हजारका हुन् । बाँकी ५ सय भारुका नोट छन् । अहिले नै यो गन्न सकिने अवस्थामा छैन । नोट गन्नका लागि कानपुरबाट ७ वटा मेसिन मगाइएको छ । यसका साथै बैंक अधिकारीलाई पनि बोलाइएको छ । यद्यपि, यो ५० करोडको नगद भएको अनुमान छ । एउटा झोलामा साँचो मात्रै भेटिएका छन् । कानपुरपछि कन्नौजमा जैनको घरबाट भेटिएको नगद र गहना देखेर अधिकारी दंग छन् ।

लखनऊबाट बोलाइए आर्किटेक्ट

आइटीको समूहले हालसम्म जैनको कन्नौजमा तीनवटा घर र कारखानाबारे पत्ता लगाएको छ । समूहले चारैतिर अनुसन्धान थालेको छ । घरका भित्तामा यति गोप्य लकर  र दराज बनाइएका छन् कि यसबारे पत्ता लगाउन अधिकारीका लागि मुश्किल छ । यसैकारण आइतबार बिहान लखनऊबाट आर्किटेक्ट इन्जिनियरको समूहलाई बोलाइएको छ । करोडौं भारु र सुन भेटिएको जानकारी पाएपछि त्यहाँ थानाका थुप्रै फोर्स पनि लगाइएको छ ।

अत्तर कारोबारी पियूष जैन । फाइल तस्बिर

फिंगर प्रिन्ट भएका लकर, अबेर राती जैनलाई कन्नौज लिएर गयो टिम

कन्नौजमा छापामारीका बेला टिमले घरमा फिंगर प्रिन्ट भएका थुप्रै लकर भेटे । यी लकर यति बलिया थिए कि त्यसलाई फुटाउन पनि अत्यधिक मिहिनेत गर्नुपर्यो । यस्तोमा शनिबार अबेर राती टिम पियूष जैनलाई लिएर कन्नौज पुगेको छ । अब पियूष जैन र उनका छोरा प्रत्युषको फिंगर प्रिन्टबाट मात्रै यो लकर खोल्न सकिनेछ ।

पियूषलाई गोप्य स्थानमा राखेर सोधपुछ गरिँदैछ । रकम र गहनाका साथै कानपुरदेखि कन्नौज, लखनऊ, गुजरातसमेत विभिन्न स्थानमा करोडौंको सम्पत्ति भएको दस्तावेज भेटिएका छन्  । छापामारीको क्रममा भेटिएका यी दस्तावेज जफत गरिएको छ । यसका साथै एक–एक सम्पत्तिबारे अनुसन्धान गरिँदै छ ।

हालसम्मको यो सबैभन्दा ठूलो कारवाहीः

स्मरण रहोस्, कानपुरमा भेटिएको १७७ करोड र कन्नौजबाट जुन तरिकाले लगातार पैसा र सुनचाँदी बरामद भइरहेको छ, त्यसबाट स्पष्ट हुन्छ कि पियूष जैनबाट कूल २५० करोड भारुभन्दा पनि बढीको रकम बरामद हुनसक्छ । यो देशमा डायरेक्टर जनरल अफ जिएसटी इन्टेलिजेन्स (डिजीजीआई) को तर्फबाट गरिएको हालसम्मको सबैभन्दा ठूलो कारवाही हो ।

यो फोटो कानपुरमा व्यवसायी पियूषको घरको नोटको गन्तीको हो । यहाँ १७७ करोड भारु भेटिएको थियो । 

३० भन्दा बढी अधिकारी तैनाथः

कन्नौजमा कारवाही  गर्नका लागि करिब ३० अधिकारी तैनाथ गरिएको छ । ‘रेड’ फिल्मको जस्तै भित्ता भित्तामा अनुसन्धान गरिँदैछ । जताततैबाट पैसै पैसा भेटिएको छ । यहाँ पनि घरमा सुरक्षाको पूरा प्रबन्ध मिलाईको छ । फलामका निकै ठूला ढोका राखिएका छन् । प्रत्येक ढोकामा तीनवटा लक राखिएका छन् । थुप्रै ढोका खोल्न टिमलाई दुईघण्टा बढी समय लाग्यो । शनिबार अबेर रातीसम्म २० वटा ताल्चा काटिइसकेका छन् ।

व्यापार छोडेर भागे अत्तर व्यवसायीः

कन्नौजमा दुई अन्य अत्तर व्यवसायीमाथि भएको छापामारीपछि कन्नौजका यी अत्तर व्यवसायीमा कोकोहोलोको स्थिति छ । कन्नौजमा शनिबार बिहानदेखि नै धेरैजसो अत्तर कारखानाका ताल्चा खोलिएका छैनन् । थुप्रै अत्तर व्यवसायी आफ्ना चार्टर्ड अकाउन्टेन्टमार्फत् आफ्ना सबै कागजपत्रलाई बलियो बनाउन जुटेकमा छन् र कोही कन्नौज छोडेर भागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप