आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

किसानको निहुँमा मधेसमा आन्दोलन चर्काउँदै सीके राउत

सिरहामा आमहड्ताल, दर्जनौ गाडी तोडफोड
आइतबार, ११ पुस २०७८, १४ : ५३
आइतबार, ११ पुस २०७८

गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको छ । तर घटना भएको औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले गाउँपालिकामा राखिएको गहुँको बीउ किसानले नभई जनमत पार्टीका नेता तथा कार्यकर्ताले लुटेर लगेको आरोप लगाएका छन् ।

गत पुस ६ गते सिरहाको औरही गाउँपालिका कार्यालयको एक कोठामा वितरणका लागि राखिएको गहुँको बीउ किसानले लगेका थिए । वितरणमा ढिलाई भयो भन्दै लाइन बसेका किसानहरू जथाभावी गहुँको बीउ लुटेर लागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने केहीमाथि मुद्दा चलाइएको छ ।

पक्राउ परेकालाई रिहाको माग गर्दै जनमत पार्टीले एक सातादेखि आन्दोलन गर्दै आएको छ । यसै क्रममा आइतबार सिरहा जिल्लामा आमहड्तालको आयोजना गरेको छ । सीके राउत अध्यक्ष रहेको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले हातमा भाटा तथा लाठी लिएर पसल, कलकारखाना, बन्द गराउँदै हिँडेका छन् ।

आन्दोलनकारीले दर्जनौं गाडीमा तोडफोड गर्नुको साथै केही गाडीमा आगजनीसमेत गरेको छ । सो पार्टीका नेताहरुले महेन्द्र राजमार्गमा ठाउँ ठाउँमा अवरुद्ध गरेका छन् । सिरहा, गोलबजारलगायतको क्षेत्रमा प्रहरी र आन्दोलकारीबीच झडप भएको छ । केही आन्दोलनकारी पक्राउ गरिएका छन् ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले यो आन्दोलन आफ्नो पार्टीभन्दा त्यहाँका स्थानीय किसानले गरिरहेको बताए । किसानहरुले गरिरहेको आन्दोलनलाई जनमत पार्टीले सघाएको मात्र दावी गर्दै उनले जनमत पार्टीका विद्यार्थी तथा युवाहरुले साथ दिएको बताए । प्रहरीले दमन गरेको कारण किसान, आमजनता आक्रोशित भएर कहीं कहीं तोडफोड गरेको बताउँदै उनले पक्राउ परेको किसानलाई रिहा, मुद्दा फिर्ता, किसानलाई समयमा मल, बीउ प्राप्त हुने सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताए ।

जनमत पार्टीले विभिन्न निहुँमा मधेसमा आन्दोलन चर्काउन खोजिरहेको छ । यसअघि जनकपुरमा एक कर्मचारीलाई कालोमोसो दलेर कुटपिट गर्दा सीकेका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए । सोही निहुँमा जनमत पार्टीले तराई मधेसभर आन्दोलन गरेको थियो । अहिले औरही गाउँपालिकाका घटनाका कारण जनमत पार्टीले आन्दोलनलाई चर्काइ रहेको छ ।​

उता औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले गाउँपालिकामा राखिएको गहुँको बीउ किसानले होइन, जनमत पार्टीका नेता तथा कार्यकर्ताले लुटेर लगेको आरोप लगाएका छन् । यादवका अनुसार किसानहरुलाई लाइनमै थिए, सुरक्षाकर्मी राखेर गहुँको बीउ वितरण गर्ने तयारी कर्मचारीहरुले गरिरहेका थिए । त्यतिकैमा सो पार्टीका केही नेता तथा कार्यकर्ताहरु आएर ताला तोडेर गहुँको बीउ लुटेर लगेको उनको दावी छ । सरकारी सम्पत्ति लुटेको भन्दै उनीहरुमाथि कारवाही चलाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप