आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफले जित्यो

आइतबार, ११ पुस २०७८, १४ : १६
आइतबार, ११ पुस २०७८

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो । एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो । 

एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् । प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चिएकी थिइन् । 

यस अघि धनगढीको फाप्ला क्रिकेट मैदानमा कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको थियो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो । 

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन । यस्तै अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप