आयोगद्वारा निर्वाचन सञ्चालनसम्बन्धी कार्यशाला सम्पन्न
निर्वाचन आयोगको आयोजनामा निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा विभिन्न सञ्चारगृहका महिला सञ्चारकर्मीहरुका लागि काभ्रेको धुलीखेलमा कार्यशाला सम्पन्न भएको छ । तीन दिने कार्यशालामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सम्बोधन गर्दै निर्वाचन चक्रका सबै चरण र प्रक्रियामा सत्य, तथ्य र यथार्थ समाचार तथा विचारको सम्प्रेषणमार्फत स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चारजगतको भूमिका महत्वपूर्ण रहने बताए ।
सबै प्रकारका निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक दायित्व निर्वाचन आयोगको रहेको र आगामी वर्ष निर्वाचनको वर्ष रहेको बताउँदै उनले आयोगका नीति, रणनीति, कार्यक्रम र क्रियाकलापहरुको प्रभावकारिता अभिवृद्धिका लागि सञ्चार जगतले पनि उचित भूमिका निर्वाह गर्नुपर्ने बताए ।
निर्वाचन आयुक्त डा जानकी कुमारी तुलाधरको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैंगिकता तथा समावेशिता, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिंग, डिजिटल युगमा निर्वाचन र मिडिया, निर्वाचनमा गलत एवम् भ्रामक सूचना, मिथ्या समाचार र घृणाजन्य अभिव्यक्तिबाट हुने समस्या र समाधान लगायतका विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुति एवम् सहजिकरण गरेकी थिइन् ।
कार्यशालामा तुलाधरको सयोजकत्वमा आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित सदस्य रहेको एक प्यानल गठन गरी निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सञ्चार जगतको भुमिकाका सन्दर्भमा अन्तरक्रिया, छलफल मार्फत समेत विभिन्न जिज्ञाशाहरुको सम्बोधन गरिएको आयोगले जनाएको छ ।
उक्त कार्यशालामा विभिन्न टेलिभिजन, रेडियो, अनलाइन र प्रिन्ट मिडियाका २६ जना महिला सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान शेखलाई पछ्याउँदै बसिर अहमदले पनि अर्धशतक बनाए
-
बङ्गलादेशले रद्द गर्यो शेख हसिनाको पासपोर्ट
-
राप्ती नदीमा ४१ गोही छोडियो
-
नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन् : पूर्व कानुनमन्त्री शर्मा
-
हात्तीका कारण पर्यटकको मृत्यु भएपछि माहुतेविरुद्ध मुद्दा
-
कठ्याङ्ग्रिने चिसो : महोत्तरीका विद्यालय बन्द