शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिकटकले चर्चामा आएको वीरेन्द्रनगरको नयाँ पर्यटकीय गन्तव्य ‘सहिद पार्क’

आइतबार, ११ पुस २०७८, १० : ३७
आइतबार, ११ पुस २०७८

दैलेखको चामुण्डा बिन्द्रासैनी घर बताउने सुनिता शाहीले गत वर्ष फागुनतिर सुर्खेत (वीरेन्द्रनगर) बस्ने आफ्नो साथीको टिकटक देखिन् । टिकटकमा गायक रामकृष्ण ढकालको ‘चरीले त छाडेर गैगयो–गैगयो, एउटा नाता मुटुमा रैगयो’ बोलको गीत समावेश थियो । झण्डै १ मिनेटको सो टिकटकमा देखिएको मनोरम दृश्यले उनी मोहित भइन् ।

टिकटकमा राखिएको सो भिडियोमा कोही टिकटक बनाइरहेकै देखिन्थे भने कोही तस्वीर खिचिरहेका देखिन्थे । त्यसो त सुनिता पनि वीरेन्द्रनगरमै बस्दै आए पनि यस्तो ठाउँ त्यसअघि कहिल्यै देखेकी रहिनछन् । उनलाई पनि त्यो ठाउँ घुम्ने रहर जाग्यो ।

जुम्लाकी ती टिकटकवाली आफ्नी साथीलाई फोन गरेर सुनिताले भनिन्, ‘ओई केटी तेरो टिकटक हेरेँ यार.. क्या गज्जव लाग्यो । यो ठाउँ कहाँ हो के ? मैले त देखेकै थिएन त..! म आएपछि घुमाउन लैजान ल.. ।’

उनकी साथीले टिकटक बनाएको त्यो ठाउँ थियो वीरेन्द्रनगरको उत्तरतर्फ रहेको (वीरेन्द्रनगर नगरपालिका–४) भैरव सामुदायिक वनभित्र पर्ने ‘सहिद पार्क’ । हिजोआज सो पार्क अवलोकन गर्दै टिकटक बनाउने र तस्वीर खिच्ने युवायुवती प्रशस्त भेटिन्छन् ।

यो पार्क टिकटकका कारण अहिले निकै चर्चामा छ । वीरेन्द्रनगर बसेर यो पार्क अवलोकन नगरेकाहरु विरलै होलान् । सहिद पार्कको क्याप्सन लेख्दै टिकटक बनाउनेहरुको जमात बढेपछि अहिले यो पार्क आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्न पुगेको छ । अर्को अर्थमा भन्ने हो भने टिकटक र तस्वीर खिच्नेहरुका लागि यो पार्क मुख्य गन्तव्यस्थल बनेको छ ।

एउटा जङ्गलको बीचमा रहेको पार्क । खासै रमाइहाल्नुपर्ने कारण केही देखिँदैन । न सुन्दर वनावट छ । पार्कभित्र एउटा सहिद स्तम्भ छ । एउटा पोखरी छ । त्यो पोखरी भित्रको पानीको छिर्काहरुसँग आन्तरिक पर्यटक रमाइरहेका हुन्छन् । पार्कको दायाँतर्फ एउटा पिङ देखिन्छ । दायाँ दक्षिणतर्फ रुख छन् । रुखको बीच–बीचमा बस्ने ठाउँको व्यवस्था गरिएको छ । त्यो बाहेक अवलोकन गर्ने अन्य केही देखिँदैन । तर पार्क घुम्न आउनेहरुको लर्को अचम्मलाग्दो छ ।

वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखि त्यो स्थल झण्डै एक किलोमिटर उत्तरतर्फ पर्दछ । धेरैजसो युवा–युवती ‘डेटिङ’ गर्न र टिकटक बनाउनका लागि यहाँ आउने गर्दछन् । त्यही मध्येकी एक थिइन् सुनिता ।

प्रेम जोडीहरुका लागि ‘डेटिङ्’स्थल

टिकटकमा देखेर आफ्ना केही साथीहरुसँग ‘सहिद पार्क’ अवलोकन गर्न आएकी सुनितासँग भने जुम्लाकी उनकी टिकटकवाली साथी थिइनन् । सुनिताले उनको टिकटकका कारण घुम्ने मौका त पाइन् तर उनीसँगै टिकटक बनाउने रहर भने पूरा गर्न सकिनन् ।

‘कोरोनाले गर्दा आउन भ्याएकी थिइनँ,’ उनले भनिन्, ‘पार्क घुम्ने धोको बल्ल पूरा भयो । दुःखको कुरा,.ऊसँगै घुमेर टिकटक बनाउने रहर भने पूरा भएन ।’

त्यसो त सुनिताले प्रमोद खरेलको गीत ‘याद गर्न पनि कोही न कोही चाहिँदो रहेछ, कुनै मोडमा साथी पाइँदो रहेछ’ भन्ने गीतमा टिकटक बनाइन् ।

सुनिताजस्तै पार्कको अवलोकनमा आएका थिए वीरेन्द्रनगरका दीपक अधिकारी । साथीले घुम्न बोलाएका कारण उनी यस पार्कमा आइपुगेका थिए । ‘सम्भवतः उसले मलाई फोटो खिच्न र टिकटकको भिडियो बनाइदिन बोलाएको हुनुपर्छ,’ उनले भने, ‘ऊचाहिँ गर्लफ्रेन्डसँग आउने कुरा छ ।’

दीपकले भनेजस्तै यो स्थल युवा–युवतीका लागि ‘डेटिङ’ स्थल बनेको छ ।  प्रायः युगल जोडीहरु एकान्त, शान्त वातावरणमा रमाउन चाहन्छन् । त्यस्ता जोडीहरुका लागि आकर्षक गन्तव्य बनेको छ ‘सहिद पार्क’।

पार्कका कर्मचारीका अनुसार शनिबारको दिन सरकारी कर्मचारीदेखि सामान्य मानिससम्म जोडी बाँधेर यो पार्क अवलोकन गर्न आउँछन् ।

‘टिकटक हेरेकै भरमा प्रदेश बाहिरका धेरै मान्छेहरु अवलोकन गर्न आउने गरेको हामी पाउँछौं,’ सहिद पार्कमा टिकट काट्ने गुरुप्रसाद चालिसे भन्छन्, ‘अचेल त जन्मदिन मनाउनेहरु पनि यहीँ आउँछन् ।’

कसरी बन्यो सहिद पार्क ?

यो सहिद पार्क कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउनेहरुको नाममा बनाइएको हो । भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर कार्की भन्छन्, ‘आन्दोलनमा हाम्रो वडाका दुई जना (गोपाल रजवार, टिकाराम गौतिक)ले ज्यान गुमाउनुभएको छ । वनको साधारणसभाबाटै हामीले उहाँहरुको नाममा सहिद पार्क बनाउने घोषणा गरेका थियौं ।’

भंगेरी चौर (अहिले पार्कस्थल)मा विगतमा आवधिक बस्ती थियो । त्यसपछि जिल्ला भू–संरक्षण कार्यालयले नर्सरी स्थापना गरेको थियो । त्यसको अवधि सकिएपछि सो जमिन खाली भएकाले सहिद पार्क बनाइएको उनले बताए ।

कर्णाली प्रदेश सरकारले सहिद पार्क स्थापनाका लागि २ करोड रकम विनियोजन ग¥यो । ०७६ भदौ महिनादेखि पार्क निर्माणको काम थालनी गरेर ०७७ भित्रै सहिद स्तम्भ, पोखरी र अन्य संरचना निर्माण गरिएको कार्कीले बताए ।

उनका अनुसार त्यही रकमबाट पार्कको वरपर पर्खाल लगाउने काम गरिएको छ । त्यसपछि भने प्रदेश सरकारले पार्कको भौतिक संरचना निर्माणमा रकम विनियोजन नगरिदिएको कार्की बताउँछन् ।

उनी भन्छन्, ‘पार्कभित्र गर्नुपर्ने संरचनाको काम ९० प्रतिशत बाँकी नै छ । चालु आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरिएको छ । अहिले पार्कभित्र अस्थायी शौचालय बनाउन थालेका छौं ।’

पार्कसँगै वनस्पति उद्यान पनि बनाइने उनले बताए । त्यसका लागि झण्डै नौ करोड रकम खर्चिनुपर्ने छ । पार्कभित्र अब प्रेमको प्रतिक एउटा चित्र, चिल्ड्रेन पार्क बनाउने काम भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

टिकट सिस्टम

यो पार्क अवलोकन गर्न जानेहरुले २० रुपैयाँ शुल्क तिर्नुपर्छ । एक वर्ष अघिदेखि प्रवेश शुल्क लिन थालिएको हो । ‘एक वर्ष अघिसम्म खासै चहल–पहल थिएन,’ टिकट काट्ने कर्मचारी गुरुप्रसाद  चालिसे भन्छन्, ‘त्यसपछि मान्छेहरुको चहल–पहल बाक्लिन थालेपछि हामीले टिकट सिस्टम गराएका हौं ।’

प्रवेश शुल्कबाट उठेको रकमले त्यहीभित्रको संरचना निर्माणमा सहयोग पुगेको छ । टिकटकै रकमले पार्कस्थलभन्दा अघिको (तल खोला किनारबाट माथि) सिँढी बनाइएको छ ।

मुख्यमन्त्रीको निर्देशनमा प्रहरी बिट

कार्तिक १६ मा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही ‘मर्निङ वाक’ का लागि त्यही क्षेत्र वरपर गएका थिए । मानिसको चहलपहल बढेको देखेपछि शान्ति सुरक्षाका लागि प्रहरी बिट आवश्यक रहेको उनले महसुस गरे ।

उनले प्रहरी बिट स्थापना गर्न निर्देशन दिएअनुसार अहिले चारजना प्रहरीको टोली त्यहाँ खटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप