ad
x
बालसंसार

कश्यपको कथा : अरूलाई मूर्ख बनाउन खोज्दा आफैँ मूर्ख बनेका व्यापारी

person explore access_timeपुस ११, २०७८ chat_bubble_outline0

संसारमा अनेक किसिमका ठग हुन सक्छन्, ठगी धन्धा चलाउने हुन सक्छन् । प्रहरी प्रशासन रोक्ने लागेकै हुन्छ, रोक्ने प्रयास गरेकै हुन्छ तर ठगहरू भने उनीहरूभन्दा एक पाइलो अगाडि पुगेर ठग्न सफल भइरहेका हुन्छन् । भाइबहिनीहरूका निम्ति यहाँ यस्तै कथा प्रस्तुत छ, जसले ठगहरूले कस्तोसम्म उपाय निकाल्दा रहेछन्, त्यस्ता मानिसको अवस्था कस्तो हुँदोरहेछ र त्यसबाट कसरी बच्न सकिँदो रहेछ भन्ने जानकारी दिनेछ ।


कुनै बेला एउटा गाउँमा एक नामूद व्यपारी आएका थिए । हेर्दा सज्जन लाग्थे, सहयोगी प्रतीत हुन्थे । खराब मानिस भनेर कसैले पनि अनुमान लगाउन सक्दैथे । बोलीचाली मीठो थियो, स्वभाव नरम । गाउँलेहरू सिधा थिए । आफूजस्तो छ अरूलाई पनि त्यस्तै देख्थे । उनीहरूले सजिलै विश्वास गरी व्यपारीलाई गाउँमा बस्ने व्यवस्था मिलाइदिए । 



जब आफूमाथि गाउँलेहरूको पूरा विश्वास रहेको प्रतीत भयो त्यसपछि व्यपारीले एउटा सुन्दर बाक्सा लिएर आए, जसको डक्कन सुन्दर रेशमी बस्त्रको थियो । बाक्सा देखेर गाउँलेहरूले सोधे–



‘के ल्याउनुभयो व्यपारीजी ! यति सुन्दर बाक्सामा पक्कै बहुमूल्य बस्तु हुनुपर्छ ।’



‘हो ठीक भन्नुभो ।’ व्यपारीले मुस्कुराउँदै भने–



‘यसमा त्यस्तै केही दिव्य बस्त्र छन् ।’



‘दिव्य बस्त्र ?’

‘हो दिव्य बस्त्र ।’

‘अनि विशेषता नि ?’

‘यसलाई लगाएपछि मनले चिताएको पूरा हुन्छ ।’

‘हामीले पनि लगाउन मिल्छ ?’

‘मिल्छ, मिल्छ, तपाईँहरूकै लागि त हो ।’

‘महङ्गो छ कि ?’

‘छैन खासै । छानीछानी लिन सक्नुहुन्छ, मूल्य भने सबैको एउटै ।’

‘देखाउनुस् त हेरौँ ।’

‘देखाउन त देखाउँछु तर एउटा शर्त छ ।’

‘शर्त ?’

‘हो शर्त ।’

‘कस्तो शर्त ?’

‘यही कि यसलाई धार्मिक मानिसले मात्र देख्न सक्छन्, पापीले सक्दैनन् ।’

‘गाउँलेहरू सोचे आफूहरू कोही पनि पापी छैनौँ । सकेको धर्मै गरेका छौँ । नसके पनि पाप चाहिँ गरेका छैनौँ भने शर्त मान्दा के फरक पर्ला ।’

यस्तैयस्तै सोचेर उनीहरूले देखाउन आग्रह गरे तर बाक्सामा केही पनि थिएन । अब गाउँलेहरूलाई आपद प¥यो । बाक्सा खाली छ भनौँ भने अरूको नजरमा पापी ठहरिनुपर्ने थियो । छ भनौँ बाक्सा खाली थियो । तैपनि पापी ठहरिनुभन्दा छ भन्नु नै उपयुक्त ठाने र अहाँ कति राम्रो कपडा भन्दै लगाएको अभिनय गर्न थाले । जोजोले हेर्थे त्यस्तै गर्थे । किनकि कसैलाई पनि अरूको नजरमा पापी ठहरिन मन्जुर थिएन । व्यपारीको जालमा फसेको चाल पाएर पनि मुख खोल्ने आँट कसैले गरेनन् । व्यपारी भने सजिलै गाउँलेलाई फसाउन सकिकोमा मख्ख पर्दै लिनुहोस्, मौका आउँछ पर्खैदैन, परेको बेला हीरा फोर्नुपर्छ हजुर ! भन्दै उक्साइरहेका थिए ।

समय बित्दै गयो उनको ठगी धन्दा पनि चली नै रह्यो । बिस्तारै यो कुरा पल्लो गाउँका चतुरभुज शर्मा (चतुरे) ले पनि थाहा पाए । उनी एक दिन कपडा किन्ने बाहानले व्यपारीकमो चालबाजी बुझ्न आए । व्यपारीले उनलाई पनि कपडाको विशेषता सुनाउँदै कपडा किन्न आग्रह गरे । चतुरे मौकामा चौका हान्न किन पछि पर्थे र आफू बस्त्र किन्न राजी भएको सङ्केत गर्दै भने–

‘अति उत्तम । किन्ने भनेकै यस्तै बहुमूल्य रेशमी बस्त्र नै हो, मान्नुहुन्छ भने एउटा होइन पूरै बाक्सा नै खाली गर्न तत्परछु तर मेरो पनि एउटा शर्त छ । कुनै पनि चीज एकैपटक किन्ने हो भने एउटा गाउँखाने कथा सुनाउने गर्छु । त्यसैले हामीले एकएक गाउँखाने कथा भन्नुपर्नेछ तर कथा हालसम्म सुनिएको पनि हुनुहुन्न, उत्तर जानिन भन्न पनि पाइने छैन र  अर्थ पनि खुलाउनुपर्नेछ । अन्यथा जित्नेपक्षको आदेश हार्नेपक्षले मान्नुपर्नेछ ।’

चतुरेको कुरा व्यपारीलाई ठीकै लाग्यो । यस्तो कथा सुनाउनेछु कि सकभर त उसले उत्तर दिनै सक्ने छैन । दिन सकेछ नै भने पनि केही छैन बाक्साभरीको कपडाको मूल्य तिनैपर्ने हुन्छ । दुवै हातमा लड्डु पाएको मौका किन गुमाउने ? यस्तैयस्तै सोच्दै भन्यो–

‘ठीकै छ तपाईँको शर्त मन्जुर छ तर मेरो पनि एउटा शर्त छ ।’

‘शर्त ?’

‘हो शर्त ?’

‘कस्तो शर्त ?’

‘यही कि कथा भन्ने अवसर पहिले पाउनुपर्छ ।’

चतुरेले उनको शर्त स्वीकार गरे, व्यपारी कथा सुनाउन लागे–

‘अघि कुनै बेला हामीले पालेका हात्ती मकैबारीमा हराएको थिए तर भयो के भने पछि तिनै हात्ती मकै पिस्दा जाँतोबाट निस्कन थाले । अब भन्नुहोस् यसको उत्तर के होला ?’

व्यपारीको चलाखी देखेर चतुरेले मुसुक्क हाँस्दै भने–

‘तपाईँका मकैबारीमा हराएका हात्ती घुन थिए, जो मकै पिस्दा जाँदोबाट बाहिर आए ।’

चतुरेको कुरा सुनेर व्यपारी नाजबाफ भए । त्यसपछि चतुरेलेको पालो आयो । उनले आफ्नो कथा सुनाउँदै भने–

‘अघि कुनै बेला हाम्रो घरमा पालेको नोकर श्रीसम्पत्ति लिएर भागेको थियो तर अचम्म आज आफैँ मेरो अगाडि उभिन आइपुगेको छ । अब भन्नुहोस् यसको अर्थ के होला ?’

अब व्यपारीलाई फसाद प¥यो । के भन्ने, भन्ने । हो भनौँ भने दुनियाँको अगाडि चोर सावित भएर उनले भने बमोजिमको सम्पत्ति फिर्ता गर्नुपर्ने थियो । होइन भनौँ भने उनको आदेश  मान्नुपर्ने अवस्था आयो । निकै बेर सोचेर उनले होइन भन्दै चतुरेको आदेशको प्रतीक्षा गर्न लागे । चतुरे यस्तै मौकाको प्रतीक्षामा थिए । उनले गाउँलेहरूबाट अहिलेसम्म असुलेको पैसा फिर्ता गर्न लगाए । अरूलाई मूर्ख बनाउन खोज्दा एकदिन आफैँले मूर्ख बन्नुपर्ने हुन्छ भन्ने बूढापाकाको भनाइ किन खेर जान्थ्यो र । व्यपारीलाई पनि त्यस्तै भयो । अरूलाई मूर्ख बनाएर ठग्दै हिडेका व्यपारी आफैँ ठगिएर अन्यत्रै लाग्न वाध्य भए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।