बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

शनिबार, १० पुस २०७८, १६ : ४५
शनिबार, १० पुस २०७८

काठमाडौं । धादिङ, बाँके, सिरहा, ललितपुर र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिका-७ बैरेनी बजारमा बा.१३ च ८१०९ नम्बरको स्कार्पियो र बा.३९ प ५७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश घलानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अम्भे भरोषा अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भई ना.७ ख २९ नम्बरको ट्रकले समेत मोटरसाइकललाई ठक्कर दिएको थियो । स्कार्पियो र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, बाँकेको राप्तीसोनारी गाउँपालिका-२ फाएरलाईनस्थित सडकमा बागमती प्रदेश ०२-०१५ प ५१४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक प्युठान फोली-२ बस्ने ३० वर्षीय मदन भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहाको बिष्णुपुर गाउँपालिका-१ खोरिया टोलस्थित भित्री सडकमा हाल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई सोही ठाउँस्थित पोखरीमा शनिबार बिहान खसेर दुर्घटना हुँदा ट्याक्टर चालक कर्जन्हा नगरपालिका-१० प्रयागपुर बस्ने २० वर्षीय मनोज कुमार महतोको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका-३ धोबीघाटस्थित सडकमा प्रदेश नम्बर ७-०१-००१ ख २९०१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-४ बागडोल घर भएका ७० वर्षीय बद्री श्रेष्ठको शनिबार बिहान मृत्यु भएको छ । शुक्रबार राति उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको कचनकबल गाउँपालिका-२ अंगुरभिट्टामा डब्लुबी ७४पी ९७१७ नम्बरको मोटरसाइकल र मे.४ प ९५०० नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.४ प ९५०० नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ बस्ने ४० वर्षीय शेषलाल राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप