बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ओलीलाई मनाउन प्रचण्ड र देउवा बालकोट जाने

शनिबार, १० पुस २०७८, १५ : २८
शनिबार, १० पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आरोप लगाएका छन् । एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको भन्दै प्रचण्डले उसले गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप समेत लगाए । सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्था एमालेले त्यो माग राख्नु राम्रो नरहेको प्रचण्डको भनाई छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै प्रचण्डले एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको बताए । उनले कुनै पनि हालतमा संसद विघटन हुन नदिने दृढता व्यक्त गरे । 

एमसीसीका सन्दर्भमा बोल्दै अध्यक्ष प्रचण्डले आफुहरु विदेशी लगानी वा सहयोग आउनै नदिने पक्षमा नरहेको बताए । उनले भने, ‘विदेशी लगानी वा सहयोग आउनै नदिने भन्ने होइन, सहयोग लिनुपर्ने पक्षमा हामी छौ, तर एमसीसीको बारेमा हरेक पक्षसँग छलफल गरेर अगाडि बढ्न जरुरी छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउँदा एमाले (प्रतिपक्षी दल) नआएको बताउँदै अध्यक्ष प्रचण्डले एमाले बैठकमा नआए आफूहरु नै बालकोट जाने बताए ।

के हुन्छ राष्ट्रिय सम्मेलनमा ?

अध्यक्ष प्रचण्डले आइतबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा अगामी दिनमा माओवादी केन्द्र कसरी अगाडि बढ्ने विषयमा विचार विश्लेषण हुने बताए । एमाले, काँग्रेस र राप्रपाभन्दा विल्कुल फरक ढंगले राष्ट्रिय सम्मेलन हुने बताउँदै उनले जलवायु परिवर्तनदेखि कृषि, आर्थिक समृद्धि लगायतका विषयमा छलफल हुने बताए ।

उनले भने, ‘विश्वमा चलिरहेको पूँजीवादी प्रणाली कति उचित छ, वायुमण्डलमा कार्बन उत्सर्जनदेखि विभिन्न खालका रोगब्याधी, खाद्यान्न संकट आदि संसारभर देखिन थालेको छ, यी सब पूँजीवादले विकास गरेको हो, यस अवस्थामा समाजवादलाई कसरी अगाडि बढाउने त्यो कुरामा गम्भिर हुन आवश्यक छ । ’ अध्यक्ष प्रचण्डले शान्ति प्रकृयामा आएपछि विश्वका थुप्रै दस्तावेजहरु अध्ययन गरेको र त्यसको आधारमा अघि बढिरहेको समेत बताए ।

‘हामी जनताबाट कतै टाढा भएको त होइन भन्ने विषयमा पनि गम्भिर रुपमा छलफल हुन्छ राष्ट्रिय सम्मेलनमा’ अध्यक्ष प्रचण्डले भने, ‘जनतासँग निश्चित समयमा बस्ने, समाजवादलाई तलैबाट कसरी उठाउने बारेमा छलफल गर्छौ ।’ यो जनतासँग जोड्ने कुरा मात्र होइन, पार्टीका नेताहरुलाई पनि रुपान्तर गर्ने उद्देश्य रहेको बताउँदै उनले भने, ‘किसानको घरमा जाने, कारखानाहरुको मजदुरको घरमा जाने, श्रमिकको घर घरमा जाने वातावरण बनाउने विषयलाई प्राथमिकता दिन जरुरी छ ।’

संविधान ठूलो बलिदान र संघर्षबाट प्राप्त भएको बताउँदै उनले यसको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने समेत बताए । संसद विघटन गलत छ भने कुरामा सबै वर्ग ध्रुवीकृत भएको बताउँदै अध्यक्ष प्रचण्डले प्रतिगमनको विरुद्धमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप