मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् काँग्रेस केन्द्रीय कार्यसमितिले गरेका निर्णय

शनिबार, १० पुस २०७८, १५ : १३
शनिबार, १० पुस २०७८

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पहिला बैठक चारवटा निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा महामन्त्री गगन थापाले प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले निम्न निर्णयहरू गरेको छ :

१) नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यो प्रथम बैठक जननायक वीपी कोइरालाको विचार, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला लगायत अग्रज नेतृत्वको अनवरत संघर्ष र सफल नेतृत्वप्रति उच्च सम्मान व्यक्त गरेको छ । संघर्ष र सफलताको अनेक चरणमा सहादत प्राप्त गरेका योद्धाहरूप्रति यो बैठक असीम श्रद्धा व्यक्त गर्दछ ।

१४ औँ महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रूपान्तरणको गहिरो भावना आत्मसात् गर्दै इतिहासले सुम्पिएको जिम्मेवारीलाई एकताबद्ध ढंगले सम्पादन गर्ने सङ्कल्प र दृढता प्रथम बैठक व्यक्त गरेको छ ।

२) नेपाली काँग्रेसको चौधौं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ । महाधिवेशन तयारी मूल समिति, अर्थ सङ्कलन समिति, भोजन तथा आवास व्यवस्थापन समिति, स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समिति, स्वास्थ्य समिति, सांस्कृतिक समिति र स्वयंसेवक व्यवस्थापन समितिलाई यो बैठक धन्यवाद ज्ञापन गरेको छ ।

महाधिवेशन सफलताका लागि शुभकामना र शुभेच्छा प्रकट गर्नु स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ, उद्घाटन समारोहमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरू र विशिष्ट विदेशी पाहुनाहरू सबैमा यो बैठक आभार र धन्यवाद प्रकट गरेको छ । शुभकामना सन्देश पठाउनु हुने विभिन्न मुलुकका विभिन्न राजनीतिक दलका प्रमुखहरुप्रति पनि यो बैठक हार्दिक धन्यवाद प्रकट गरेको छ ।

देशभरिको क्रियाशील सदस्यताको छानबिन गरी नवीकरण गर्ने र नयाँ सदस्यता प्रदान गर्ने कार्यको टुङ्गो लगाउन गठित केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिलाई धन्यवाद ज्ञापन गरेको छ । वडा तहदेखि केन्द्रसम्म पार्टीको सङ्गठनात्मक संरचनाको निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गरेकोमा केन्द्रीय निर्वाचन समिति र देशभर खटिनु भएका केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि साथीहरूप्रति यो बैठक धन्यवाद प्रकट गरेको छ ।

पार्टीको स्थानीय वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्म निरन्तर सहयोग पुर्‍याई यो अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सबै सुरक्षा निकाय, स्थानीय तहदेखि केन्द्रीय महाधिवेशनलाई अत्यन्त महत्त्वका साथ निरन्तर प्रसारण र प्रकाशन गरी आम श्रोता तथा पाठकहरूलाई सुसूचित बनाउन अहोरात्र खट्नु हुने स्वदेशी तथा विदेशी सबै सञ्चार माध्यमप्रति यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।

पार्टीको स्थानीय वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म अनवरत रूपमा अहोरात्र सक्रिय रही पार्टीलाई नयाँ जीवन र गतिशीलता दिनमा अतुलनीय योगदान पुर्‍याउने स्वदेश भित्र र विदेशमा समेत रहनु भएका नेपाली काँग्रेसको आधारस्तम्भ सम्पूर्ण क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधिहरू, प्रदेश अधिवेशन प्रतिनिधिहरू, महाधिवेशन प्रतिनिधिहरू एवं विभिन्न तहको नेतृत्व, पदाधिकारी र सदस्य साथीहरूप्रति पनि यो बैठक सम्मान, बधाई र धन्यवाद प्रकट गरेको छ।

३. २०७८ माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गरेको छ ।

४. २०७८ माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप