ad
x
साहित्य

‘नेपाली साहित्य पनि नोबेल पुरस्कार पाउन लायक छ’

person explore access_timeपुस १०, २०७८ chat_bubble_outline0

साहित्य लेखनको यात्रा


म अहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ छु । मेरो जन्म सन् १९४६ जुलाई २ मा भारतको लखनउमा आमा देवी तथा बुवा गम्भीरसिंहको कोखबाट भएको हो । मेरो औपचारिक शिक्षा स्नातकसम्म रहेकोमा शास्त्रीय सङ्गीतमा डिप्लोमा गरेकी छु । भारतमा शिक्षादीक्षा लिएर नेपालका विभिन्न विद्यालयमा अध्यापन गराएँ ।



भारतको सिलोङमै गीत लेख्न थालेकी थिएँ । एसएलसी दिँदा सायद १८ वर्षकी थिएँ होला । त्यही समयदेखि मेरो सक्रिय साहित्यिक यात्राको सुरुवात भयो । केही त्यस्ता असल मान्छे भेटेँ जो मेरो साहित्य सिर्जनाको वृद्धि विकासका लागि देवदूत जस्ता भएर आए । उनीहरूले गर्दा नै म अगाडि बढेकी हुँ । डीआर सुब्बालाई म मामा भन्थेँ । रामप्रसाद ज्ञवाली, जसलाई म कहिल्यै पनि बिर्सन सक्दिनँ । उहाँहरुले साहित्य लेखनमा धेरै सहयोग गर्नुभयो । ज्ञवालीको घर बडा बजारमा थियो । त्यो बजारमा म बुदुना माछा लिन जान्थेँ । उहाँले मलाई घरमा बोलाएर किताब र पत्रपत्रिका दिनुहुन्थ्यो । चिया खुवाउँदै कथा सुनाउनुुहुन्थ्यो । उहाँले लेखनमा प्रोत्साहन गरेको म कहिल्यै बिर्सिन सक्दिनँ ।



त्यतिबेला हिन्दी कथाहरू धेरै पढ्थेँ । त्यहाँ हिन्दी साहित्यिक पत्रिका पनि आउँथ्यो । मलाई कथा जोड्न र लेख्न सुरु गर्ने प्रेरणा चाहिँ आमाबाट पाएँ । उहाँले रामायणका हरेक पात्रहरूलाई लिएर कथा भन्नुहुन्थ्यो । महाभारतका कथा पनि भन्नुहुन्थ्यो । यी कुराले मलाई साहित्यतर्फ डोर्यायो ।



सन् १९५९ मा भारतको मेघायलबाट प्रकाशित हुने आशा पत्रिकामा छापिएको ‘बौलाही’ शीर्षकको कविता मेरो पहिलो सिर्जना हो । सुरुमा कविता र गीतबाट साहित्य सिर्जना गरे पनि मैले प्रायः कथा विधामा कलम चलाएकी छु । नजुरेको जोडी (२०३०), गमलाको फूल (२०३३), साँघु तरेपछि (२०३९), चौतारो साक्षी छ (२०४६), माया ठकुरीका कथाहरू (२०४८), आमा जानुहोस् (२०६४), प्रियंवदा (२०६९) मेरा प्रकाशित कथा सङ्गह हो । यस्तै, इन्द्रधनुष (२०६१) गीति सङ्ग्रह र चरी चिरबिर (२०६९) बालकथा सङ्ग्रह पनि प्रकाशित छ ।



मैले पाएका केही सम्मानमा रत्नश्री स्वर्ण पदक (२०३५), मैनाली कथा पुरस्कार (२०४१), ‘मैना पुरस्कार’ (२०६१), ‘खिल शर्मा राजीवलोचन जोशी पुरस्कार’ (२०६३), ‘दीपज्योति सम्मान’ (२०६६) आदि छन् ।



नेवार नै हुन्, राजाको नजिकको मान्छे भन्थे । उनले माया ठकुरी नेपालमै बस्ने हो भने पढाउने, सङ्गीत शिक्षा दिने सबै खर्च नेपाल सरकारबाटै हुन्छ भने । मैले त्यतिबेला आफ्नै देशमा बस्ने, फर्किन्छु भनेँ । अल्लारे वयमा त्यसबेला मलाई आफ्नो देश त्यही भारत नै हो जस्तो लाग्यो ।



थिएन साहित्यिक परिवेश

अहिलेको जस्तो उत्साहवद्र्धक साहित्यिक परिवेश त्यसबेला थिएन । त्यहाँ नेपाली सङ्गीत कला समिति भन्ने एउटा संस्था थियो । त्यो संस्थामा पढेलेखेका मानिस सबै जाने गर्थे । डीआर सुब्बा मेरो बुबासँगै पल्टनमा काम गर्नुभएको अवकाशप्राप्त भारतीय आर्मी पनि त्यस संस्थामा हुनुहुँदो रहेछ । मैले एसएलसी पास गरिसकेपछि उहाँले ‘माया तिमी लेख्दिरहिछौ, गीत पनि लेखेको रहेछ, तिमी सङ्गीत कलामा आउनुपर्छ’ भन्नुभयो । तर त्यहाँका पढेलेखेका महिलाहरूले मलाई नानाथरीको आरोप लगाउँदै सङ्गीत कला समितिमा राखिए हामी छोड्छौँ भनेछन् । अनि मामा (डीआर सुब्बा) ले तिमीहरू छोड्ने हो भने छोड, उसले आफ्नो क्षमता देखाउँछे । ऊ बिग्रेकी केटी हो भन्ने तिमीहरूसँग के प्रमाण छ ? भन्नुभएछ ।

मैले सङ्गीत समितिमा गएपछिको पहिलो गीत ‘हेर न हेर क्या राम्रो फूल फुल्यो है हिमालमा’ गाएँ । यो गीत मैले आफैँ लेखेकी थिएँ । यसबारे मेरो एउटा सम्झना छ । राजा महेन्द्रको जन्मोत्सव टुुँडिखेलमा हुनेवाला थियो । कार्यक्रमका लागि हामी भारतबाट आएका थियौँ । हामीलाई शङ्कर होटलमा राखिएको थियो । प्रेमध्वज प्रधान त्यतिबेला जवान थिए, उनलाई देखेर उताबाट आएका केटीहरू सबैले मनपराए । एकदमै हिरो थिए । मलाई पनि खुब राम्रो लाग्ने । कतिबेला गीत गाउँछन् भनेर पर्खिन्थ्यौँ । उनले गीत गाउँदा सबै मख्ख पथ्र्यौं, त्यो उमेर पनि हो ।

त्यो कार्यक्रममा मैले ‘हेर न हेर क्या राम्रो फूल फुल्यो है हिमालमा’ गीत गाएँ । त्यसको भोलिपल्ट एक जना मान्छे आए, नेवार नै हुन्, राजाको नजिकको मान्छे भन्थे । उनले माया ठकुरी नेपालमै बस्ने हो भने पढाउने, सङ्गीत शिक्षा दिने सबै खर्च नेपाल सरकारबाटै हुन्छ भने । मैले त्यतिबेला आफ्नै देशमा बस्ने, फर्किन्छु भनेँ । अल्लारे वयमा त्यसबेला मलाई आफ्नो देश त्यही भारत नै हो जस्तो लाग्यो ।

नेपालमा लेखेर जीवन चलाउन सक्ने अवस्था छैन । लेख्नका लागि समय चाहियो । जागिर नगरी, अन्य कुनै व्यावसाय नगरी उपाय छैन । रिसोर्टमा बसेर गएर एक वर्ष लेख्छु भन्न सक्ने लेखकहरूको अवस्था छैन ।

अरुले लेखिदिएको आंशका

मेरो पहिलो सिर्जना ‘बहुलाही’ शीर्षकको कवितामा आफ्नो जीवन भोगाइ पोखेको थिएँ  । घरपरिवारमा मुमाले धेरै सहयोग गर्नुभएको थियो । मैले पहिलो कथा लेखेर देखाउँदा मुमालाई नोबेल पुरस्कार नै पाएजस्तो भयो भन्नुभयो । यसले आफैँ लेखेको त होइन, कसले पो लेखिदिएको हो भनेर अरुले कुरा काट्थे ।

कतिपयले विषय दिन्थे र कथा लेख पनि भन्थे अनि म लेख्थेँ । पहिले केही समस्या थियो तर अहिले धेरै परिवारले महिलालाई सपोर्ट गर्छन् । महिलाले पनि साहित्य लेखेको एकदमै राम्रो मानेका छन् । समाज र परिवारले हौसला दिएर नै महिलाहरू साहित्य यात्रामा हिँडेका छन् । अहिले महिलाहरू घरघरै साहित्यकार भएको देख्दा खुशी लाग्छ । मैले देखेको नारीहरूले प्रगति गरेकोमा श्रीमान्, सासूससुराहरूले गर्व गरेका छन्, खुसी नै भएका छन् । साहित्यकारमा नारी–पुरुष छुट्याउनुपर्ने जस्तो लाग्दैन ।

तर कोही कसैले चाहिँ महिलाले लेखेका कथामा आफ्नै परिवार र नातेदारको घटनासँग मिल्न गयो भने किन हाम्रो बेइज्जत गरिस् ? यो किन लेखिस् भन्ने पनि भेटिन्छन् । मलाई त होइन तर अरूलाई त्यसो भनेको सुनेकी छु । त्यसलाई अलि उदारका रूपमा लिनुपर्ने हो ।

प्रभावशाली महिला स्रष्टा

अहिले नारी साहित्यकारहरू धेरै उदाएका छन् । अहिले धेरै अध्ययन गरेर होला, विचार फराकिलो भएर होला अत्यन्त राम्रो सिर्जना गर्नेहरू पनि छन् । यसै क्रममा एकजना भूधरा उपाध्याय बहिनीलाई भेटेको थिएँ । एक दिन उनले लेखेको कथा पढें । कथामा एकजना महिला पात्र विधुर पुरुषसँग बिहे गर्छिन् । त्यो घरमा पुरुषकी पहिलेकी श्रीमती, छोराछोरीको तस्विर सजाएर राखिएको हुन्छ । त्यो देखेर नारी पात्रले आफूले आफैँलाई प्रश्न गर्छिन्, “मै पनि आफ्नो पहिलेको श्रीमान्को तस्विर राख्छु । उसले राख्दा हुने, मैले राख्न किन नहुने ?’’ यो कुराले मलाई घोत्लिन बाध्य गरायो । मैले ती बहिनीलाई अहिले कतै भेटेँ भने कति राम्रो लेख्नुभएको भन्ने थिएँ । यस्ता नयाँ ढंगले प्रभावशाली कथा लेख्ने महिला स्रष्टा थुप्रै छन् अहिले ।

यसरी आफ्नो अधिकार र अस्तित्वका लागि महिला स्रष्टाले मुक्तक, कविता, आख्यानद्वारा व्यक्त गर्नु त राम्रो कुरा हो । तर साहित्यमा कोरा नारा हाल्नु हुँदैन ।

नोबेल पुरस्कार र नेपाली स्रष्टा

भाषाका कारणले नै नेपाली साहित्यको विस्तार विश्वस्तरमा पुग्न नसकेको हो । नोबेल पुरस्कारका लागि भाषा अङ्ग्रेजी नै चाहिन्छ । त्यहाँ पुग्न जस्तो पायो त्यस्तो अङ्ग्रेजीले पनि हुँदैन । जबकि त्यहाँसम्म पुग्ने खालका कृति त पारिजातका पनि थिए । तर देशको विकास भई नसकेको अवस्था, सामाजिक परिवेश, त्यतिबेला बन्धनमा पनि बस्नुपरेको अवस्था आदिले नपुगेको होला । तर अहिले साहित्य लेखेर अनलाइनमा पोस्ट गर्नेवित्तिकै विश्वभरका पाठकले पढ्न सक्छन् । एउटा औँलाले थिचेको भरमा विश्वले त्यो साहित्य पढ्छ । नोबेल पुरस्कार छनोटका लागि त्यहाँ पुर्याउन हामीले अध्ययन गर्नुपर्ने अवस्था आएको छ । त्यसको भाषिक पक्ष, विषयबस्तु पक्ष, भाव पक्ष आदिका बारेमा अनुसन्धान गरेर लेखन प्रयास गर्ने हो भने नेपाली साहित्य र साहित्यकारले पनि नोबेल पुरस्कार नपाउने भन्ने छैन ।

लेखेर बाँच्न सक्ने अवस्था

टाढा जानु पर्दैन, छिमेकी मुलुक भारतमा साहित्य सिर्जनाको अवस्था धेरै राम्रो छ । लेखनमै जीवन अर्पिनेहरू पनि छन् । भारतीय लेखिका अमृता प्रितम पनि त्यसैगरी आनन्दले लेख्थिन् । उनको अर्थ व्यवस्था राम्रो थियो । उनले कतिपय कुरामा आफ्ना गन्थन लेखे पनि लेखन भने गहिरो छ । अहिले भर्खरै मन्नु भण्डारी बितिन् । उनी पनि एक सशक्त लेखिका हुन् । अरू पनि थुप्रै साहित्यकार छन् । नेपालमा चाहिँ लेखेर जीवन चलाउन सक्ने अवस्था छैन । लेख्नका लागि समय चाहियो । जागिर नगरी, अन्य कुनै व्यावसाय नगरी उपाय छैन । रिसोर्टमा बसेर गएर एक वर्ष लेख्छु भन्न सक्ने लेखकहरूको अवस्था छैन । आशावादी होऔँ, हाम्रो देशमा पनि लेखेरै बाँच्न सक्ने दिन चाँडै आउला ।

यथार्थवादी पात्र

मेरो खास लेखनविधा कथा हो । मैले अध्ययन गरेअनुसार नवप्रवेशी आख्यानकारहरू धेरै अध्ययन अनुसन्धान गरेर सिर्जना गरिरहेका छन् । पात्रहरू चयन गर्दा जीवन्त पात्र आफूले देखेको भोगेको पात्र राखे अझ राम्रो हुन्छ । किनभने उनीहरूले संसारभरका किताब पढेका छन्, शिक्षित छन्, शब्दभण्डार बृहत् छ ।

अहिले हामी सबैको भाषा एउटै भएको छ । चाहे गाउँबाट आउने हुन्, पूर्वबाट आउने हुन् या पश्चिमबाट । हाम्रो साहित्यमा व्यक्त गर्ने भाषा चाहिँ एउटै भएको छ । पहिले पहिलेका लेखक साहित्यकारहरूले जुन थलोबाट आएका हुन्, पारिवारिक थलो जुन थियो, त्यो भाषा, संस्कृति र संस्कार उसको सिर्जनामा ट्याक्कै भेटिन्थ्यो । आञ्चलिक स्वाद पाइन्थ्यो तर अहिले त त्यो सबै ककटेलजस्तै मिसिएको छ । मैले जति पनि कथाहरू लेखेकी छु, ती कुनै पनि पात्र काल्पनिक होइनन् ।

मैले आफ्ना पुस्तक प्रकाशन भएजति प्रायः गाउँ गाउँमा सबैले पढून् भनेर निःशुल्क बाँडिदिने गरेकी थिएँ । अब आएर बल्ल किताबको मूल्य दिनुपर्छ भन्न थालेकी छु ।

नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरीसँग रातोपाटीकर्मी एमपी दाहालले गरेको कुराकानीमा आधारित ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X