आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

जीवन धरापमा नपरेको भए अमेरिका किन जान्थेँ ?

दिनभर काम गर्थें, राति बाथरुममा एक्लै रुन्थेँ
शनिबार, १० पुस २०७८, १० : ३१
शनिबार, १० पुस २०७८

रामप्रसाद खनाल लोक तथा दोहोरी गायक, पत्रकार, लेखक पनि हुन् । उनले टेलिभिजन कार्यक्रम ‘लोक दोहोरी’मार्फत नेपाली लोकगीत र दोहोरी गीतलाई पुनर्जीवित गर्ने काम गरेका थिए । अहिले अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्षसमेत रहेका उनी रेडियो र टेलिभिजन प्रस्तोताका रूपमा समेत चर्चित छन् । एक दशकदेखि अमेरिका बस्दै आएका उनको १२ सयवटा भन्दा बढी गीत रेकर्ड भएका छन् । हालसम्म १८ पुस्तक, ५२ एल्बम बाहिर ल्याएका उनको लेखन, स्वर र सङ्गीतमा लोक, आधुनिकलगायत सबै प्रकारका गीत सार्वजनिक भएका छन् । थुप्रै पुरस्कार र सम्मानबाट समेत सम्मानित गुल्मीको धरमपानी, मैनडाँडामा जन्मिएर पछिल्लो एक दशकदेखि अमेरिकाको वासिङ्टन डिसीअन्तर्गत मेट्रो राज्यकाे मर्जन भर्जिनियामा रहँदै आएका लोकगायक रामप्रसाद खनालका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

भाँडा माज्छु
धेरै मनपर्ने खाना नेवारी । गाउँबाट काठमाडौँ आएपछि छिमेकी र साथीहरूको सङ्गतले यसमा स्वाद बस्यो । त्यसपछि नेपाली दाल, भात, तरकारी मनपर्छ । माछा, मासु मीठो लाग्छ । मननपर्ने खाना केही छैन ।

रेस्टुरेन्ट परिवार र साथीभाइसँग पनि जान्छु । फरक फरक स्वादका लागि फेरि फेरि जाने गर्छु । अमेरिकामा सकभर नेपाली रेस्टुरेन्ट, त्यसपछि अन्य देशका जान्छु । पकाउन भने अल्छी छु । बरु भाँडा माज्न मनपर्छ ।

नाचेर एक्सरसाइज
फिट्नेसको मामलामा सजग छु । हरेक दिन बिहान र बेलुका एक एक घन्टा एक्सरसाइज गर्छु । बिहान वाक, बेलुका साइक्लिङ । एक्सरसाइज कहिले क्लब र कहिले क्लब बाहिर पनि गर्छु ।

घरमा एक्सरसाइजका ट्रेडमिल, साइक्लिङ लगायतका सामन छ । म त आफ्नो र साथीभाइको गीतमा नाचेर पनि कहिलेकाहीँ एक्सरसाइज गर्छु ।

चर्काे मूल्य तिर्दिनँ
पोसाकमा सबैभन्दा मनपर्ने दौरा सुरुवाल । लोकगीत सङ्गीतमा लागेका कारणले नेपाली पोसाक नै प्रचार प्रसार र प्रथामिकता दिनुपर्छ भनेर प्रयोग गर्न थाले । मैले मात्र होइन, मेरो कार्यक्रम ‘लोक दोहोरी’का प्राविधिकलाई समेत दौरासुरुवाल अनिवार्य थियो ।

कार्यक्रमका समयमा म भोटाहिटीमा जाँदा दौरासुरुवाल सिलाउने दाजभाइले तपाईंले गर्दा हाम्रो दौरासुरुवालको व्यवसाय राम्रो हुन थाल्यो भनेर त्यसै दिन खोज्थे । तर मैले पैसा दिएर लिन्थेँ ।

दौरासुरुवालपछि मनपर्ने सटपाइन्ट, टिसर्ट, ट्रयाकसुट, ज्याकेट यस्तै यस्तै हो । पहिरनमा मनपर्ने कलर रातो, नीलो हो । शुभकलर नीलो । सेतो भने मनपर्दैन । ब्रान्ड हेर्छु तर चर्काे मूल्य तिरेर महँगो किन्दिनँ । अमेरिका पुगे पनि मैले हैसियत बिर्सिएको छैन ।

पुस्तक माग्छु
अमेरिकामा दैनिक बिहान अनलाइनमार्फत नेपालका पत्रपत्रिका पढ्छु । समाचार सुन्छु र अनि मात्र अमेरिकाको समाचार सुन्छु । समय हुने वितिक्कै नेपालमा निस्किएका पुस्तक पढ्छु ।

उपन्यास, देशकाल परिस्थिति झल्काउने पुस्तक, कथाहरू, दुई देशको सम्बन्ध, उतारचढाव, एक देशमा अर्काेले कसरी खेल्छ, देश कसरी असफल हुन्छन् लगायतका विषयमा बढी जिज्ञासु छु र त्यस्तै पुस्तक पढ्छु ।
नेपालबाट अमेरिका आउनेलाई म पुस्तक ल्याउन लगाउँछु । मसँग अमेरिकामा नेपालमा निस्किएका प्रायः सबै पुस्तक छ ।

धेरै घुम्छु
घुमघाममा एकदमै सौखिन छु । देशको ७७ जिल्लामा मुगुबाहेक सबै पुगेको छु । विदेशका करिब ३६ देश घुमिसके । अमेरिकामा ५० राज्य मध्ये ४४ मा पुगेको छु । कलाकार, पत्रकार भएका कारणले विभिन्न कार्यक्रममा सम्झिएर साथीहरूले बोलाउँछन् । त्यस कारणले पनि घुम्ने अवसर मिल्यो ।

अमेरिकामा खोलानाला, हरियाली, डाँडाकाँडा खोजेर घुम्छु । त्यहाँ बसे पनि नेपालको झल्को मेटिने ठाउँ घुम्न मनपर्छ । 

खेलाडी थिएँ
सानोमा भलिबल, फुट्बल र दौडको खेलाडी थिएँ । वीरेन्द्रसिल्ड लगायत विभिन्न प्रतियोगितामा भाग लिन्थेँ । अहिले उमेर र मोटोपन बढेकाले खेल्ने कुरो हरायो । खेलमा ब्याडमिन्टन एकदैम मनपर्छ । ब्याडमिन्टन, रेस्लिङ, अमेरिकन फुटबल बढी हेर्छु ।

लेटेस्ट बोक्छु
अमेरिकाको कुनै पनि नेपालीले दुईवटा मोबाइल बोकेको मैले देखेको छैन । मसँग पनि एप्पल ब्रान्डको लेटेस्ट मोडलको मोबाइल छ । यो ब्रान्डको नयाँ आयो भने फेर्छु । त्यसका लागि ३ महिनादेखि ६ महिनासम्म क्यु बस्छु ।
मोबाइल मात्र होइन, म गाडीमा पनि सौखिन छु । मोबाइलमा फोन गर्ने, उठाउने, भाइबर, युट्युबलगायत सामाजिक सञ्जाल चलाउँछु ।

फन्टुस फिल्म
टीभीमा समाचार र म्युजिकल कार्यक्रम धेरै हेर्छु । रेस्लिङ, हास्यव्यङ्ग्यका कार्यक्रम हेर्छु । युट्युब, एमाजोन लगायतमा उपलब्ध नेपाली फिल्म हेर्छु । हिन्दी सिरियल हेर्दिनँ, फिल्म भने धेरै हेर्छु ।
मैले अमेरिकामा च्यानल राखेको छैन । नेपालमा हुँदा टीभी र हलमा फिल्म धेरै हेर्थे । एकै दिनमा ३ सोसम्म हेरेको याद छ । चलचित्रले अलिकति रुवाओस्, अलिकति हसाओस्, कथाले भित्री मन छोओस्, सामाजिक विषयमा बनोस् त्यस्ता फिल्म  मनपर्छ । फन्टुस फिल्म हेर्दिनँ । पछिल्लो समय छक्का पञ्जा ब्रान्डका सबै फिल्म हरेको छु । कलाकार धेरै साथी भएकाले कारणले हेर्नुपर्छ । अमेरिकामा फिल्म रिलिजका लागि पनि सहयोग गर्दै आएको छु ।

अमेरिकामा बिजनेस
अमेरिका पुगेपछि मेरो पेसा व्यवसाय भएको छ । त्यहाँ म ग्यास स्टेसन, ग्रोसरी स्टोर, सुपरमार्केट र रियलस्टेजको व्यवसाय आबद्ध छु । नेपालमा रियलस्टेट व्यवसाय राम्रो मानिँदैन । अमेरिकामा भने त्यो पढेर, लाइसेन्स लिएर रजिस्टर भएर गर्न पाइन्छ । यो धेरै इज्जत भएको पेसामा पर्छ ।


 
१८ औँ पुस्तक
कक्षा ८ मा पढ्दादेखि नै म साहित्यका सक्रिय छु । त्यो अगाडि पनि कविता लेख्थेँ । अहिलेसम्म मेरो १५ सय बढी कविता, गजल र ३ वटा कविता सङ्ग्रह प्रकाशित छन् ।

अहिले मेरो १८ औँ किताब ‘माटोको दुखाइ’ आउँदैछ । यसअगाडि ‘मुर्दाहरूको बस्ती’, ‘देश हराएको मानिस’, ‘गुल्मीदेखि अमेरिकासम्म’, ‘तीतामीठा अनुभूतिहरू’ र १३ वटा गीत सङ्गीतको पुस्तक प्रकाशित भएका छन् ।

सानैदेखि गीत गाउँथे

अभिभावकका अनुसार म सानैदेखि गीत गाउँथे रे । स्कुलमा समेत गाउने, नाच्ने, वक्तृत्वकला लगायत सबैमा भाग लिन्थे । जिल्ला, अञ्चल र क्षेत्रीय स्तरीय गायन प्रतियोगिता भाग लिन्थेँ ।

औपचारिक गायन २०४२ देखि सुरु भएको हो । २०४४ मा मैले रेडियो नेपालमा आधुनिक गीतबाट स्वर परीक्षा पास गरेँ ।

अहिलेसम्म मैले १२ सयभन्दा बढी लोकगीत लेखेको, गाएको छु । ‘देउरालीमा पीपल छायाँले, दिन बिताउन गाह्रो भयो पागल भएँ म तिम्रो मायाले’ नेपालमा एल्बम बिक्रीको रेकर्ड ब्रेक गरेको गीत हो यो । यो अगाडि ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा’ पनि राम्रो बिक्री भएको थियो । मेरा ४८ एल्बम आएका छन् । पछिल्लो समय २ वर्षअगाडि मैले ‘पञ्चेबाजाको गेट दुलाह दुलही’ बोलको गीत ल्याएको थिएँ । गीतसङ्गीतमा मैले तिजका, दसैँ तिहारका, देउसीभैलो, भजन, आधुनिक, राष्ट्रिय, लोकगीत र दोहोरीलगायत सबै प्रकारको गाएको छु । अहिले ७ गीत एकसाथ ल्याउने तयारी छ ।

सिरियल ‘हिजोआजका’ कुरामा तीन वर्ष अभिनय गरेको मैले नेपालको सेरोफेरो, विद्युत् भन्ने कार्यक्रमपछि नेपाल टेलिभिजनका लागि ‘लोक दोहोरी’ कार्यक्रम गरेँ । यो कार्यक्रमले मलाई संसारभर चिनायो ।

नेपाल टेलिभिजनको अहिलेसम्मकै इतिहासमा ७ वर्ष लगातार नम्बर वान साङ्गीतिक कार्यक्रम बन्न सफल यो सफल भएको थियो ।

लोकदोहोरी कार्यक्रम चर्चामा रहँदा मैले हत्याहिंसा र आतङ्कको समर्थन गरिनँ र सबैको एकताको विषयमा गीत बनाए भनेर ०६४ सालमा म तीन दिन अपहरणमा परेँ । अपहरणमुक्त भएपछि मलाई मानसिक तनाव दिए । कोबाट अपहरण भयो, किन गरेँ सबै कुरो मैले पहिले धेरै अन्तर्वार्तामा बताएको छु । त्यो समय मेरो ज्यानलाई खतरा थियो । मानसिक तनाव पनि झेल्नुपर्यो । अमेरिका हानिएँ ।

त्यो समय अपहरणमा नपरेको भए, मेरो जीवन सङ्कटमा नमडारिएको भए म अमेरिका जाने थिइनँ । विदेश बस्नेलाई स्वदेश फर्क भनेर गीत गाउने म बाध्यताले विदेश जानुपर्यो । अमेरिकामा पनि धेरै स्ट्रगल गरेँ । गएको ६ महिना परिवारसँग अलग भएर बसेँ । त्यो ६ महिना मेरो लागि ६० वर्ष थियो । दिनभर काम गर्थें राति बाथरुममा दुःख, परिवार सम्झिर एक्लै रुन्थेँ । देशको हाइहाई भएको रामप्रसादले विदेशमा धेरै दुःख गरेको छ ।

विवाहपछि प्रेम
२०५० मा मैले विवाह गरेको हो । मेरो विवाह प्रेम र मागी दुवै थिएन । एकसाथीसँग अघिल्लो दिन बसेर विवाह गर्ने चर्चा भयो । भोलिपल्ट उनले एक केटी देखाए । उनीसँगै मन्दिरमा गएर विवाह गरेँ । विवाहपछि उनीसँग प्रेम बस्यो ।

विवाह अगाडि र पछाडि मसँग प्रेम गर्ने थुप्रै थिए । किनभने त्यो बेला म राम्रो र आकर्षक थिए । पढाइ, अतिरिक्त क्रियाकलापमा पनि टाठो, गीत र भाषणमा सबैलाई मख्ख पार्न सक्थेँ । सीधै भन्दा म युवतीहरूको आकर्षणको केन्द्र थिए । गीत गाएरै हसाउन र रुवाउन सक्थेँ ।
 
पत्रकार पनि हुँ

२०४४ देखि पाल्पाबाट प्रकाशित हुने सत्य साप्ताहिक पत्रिकाबाट मैले पत्रकारिता सुरु गरेको थिएँ । त्यसपछि राष्ट्रपुकार, नेपालवाणी, दृष्टि, छलफल, लोकपत्र, नेपाली पत्र, नेपाल टाइम्स हुँदै बुटवलबाट निस्पक्ष साप्ताहिक आफैँ सम्पादक भएर निकालेँ । त्यसैलाई फेरि काठमाडौँ ल्याएर १७ वर्ष आफैँ सम्पादक भएरसमेत चलाएँ । 
अमेरिका गएपछि पनि त्यसैलाई नेपाल मदर डटकमको नामबाट अनलाइन संस्करण निकालिरहेको छु । अहिले यो पत्रिकामा नेपाल बाहिर रहेका नेपाली फोकस हुँदै आएका छन् ।

सपना
मैले अहिलेसम्म आफ्नो र परिवारका लागि गरेँ । गीत सङ्गीतबाट राष्ट्रका लागि । अब नेपाल फर्किएर यही माटोमा अन्तर्राष्ट्रिय टीभी, रेडियो, छापा र अनलाइन एकएकवटा चलाउने सोच छ । त्यो जुन माटो समर्पित, कुनै राजनीतिक सञ्जालबाट बाहिर रहनेछ । मिडिया सेक्टरबाट यस्तो पनि गर्न सकिँदो रहेछ भनेर देखाउने सोच छ । जीवनले धोका दिएन भने त्यो पूरा गर्छु ।

खराब बानी
सबैलाई विश्वास गर्ने, आफ्नो ठान्ने, स्पष्ट बोल्ने, मनमा पाप नराख्ने मेरो बानी छ । अहिलेको जमानामा योभन्दा खराब बानी रहेछ । मेरो ठूलो कमजोरी पनि यही हो । मैले विश्वास गर्दा धेरैबाट धोका खाएको छु ।

गीत धेरै सुन्छु
नेपाली, हिन्दी, अङ्ग्रेजीलगायत सबै प्रकारका गीतसङ्गीत सुन्छु । पुराना गीतहरू बढी मनपर्छ । 

भूल भए
जीवनमा जानी नजानी भूल त धेरै भएका होलान् । ती भूलबाट शिक्षा लिएर अगाडि बढेको छु । सधैँ पछुताउनुपर्ने ठूलै भूल गरेँ भन्ने अहिलेसम्म केही भएजस्तो लागेको छैन ।

युरिक एसिड रोग 
भगवान्को कृपाले अहिलेसम्म ठूलो रोग केही छैन । अलिअलि युरिक एसिड देखिएको छ । बिस्तारै बढ्दो उमेरसँग हरेक रोग बोडर लाइनमा आएर बसेको छ । चिकित्सकको सल्लाह फलो गर्दैछु ।

टेस्ट गरेको छैन
जीवनमा मापसे कहिलै गरेको छैन । अमेरिकामा यो बिना पार्टी र जमघट हुँदैन । तर म खान्न । यो गलत कुरो भएकाले घरमा सजाएर पनि राख्दिनँ ।

राशि सिंह
मेरो राशि ‘सिंह’ हो । ग्रहदशामा विश्वास गर्छु ।  भगवानमा समेत पूर्ण विश्वास छ । हेराउने जुराउने गरेर अगाडि बढ्ने भने होइन । भोलि जे हुने हो हुन्छ । आज कर्म गर्नुपर्छ भन्ने सोच छ ।

मृत्युसँग केको डर
मृत्यु अन्तिम सत्य हो । हरेकले सामना गर्नुपर्छ । यो नबुझेर हामीले दुःख पाएका छौँ । एक दिन मर्नुपर्छ भनेर सबैले बुझेर काम गर्ने हो समाज परिवर्तन हुन्छ । मृत्यु बिर्सिंदा हामी दुःखी भएका हौँ ।  तस्बिर: कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप