शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको ‘सफाइ अभियान’मा मसालको भर !

मसालका साथीहरु आएपछि सफाइ अभियानमा मद्दत पुग्छ : प्रचण्ड
शुक्रबार, ०९ पुस २०७८, १८ : १८
शुक्रबार, ०९ पुस २०७८

नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) मा लगातार पहिरो गएको छ । २०४८ सालयता पटक–पटक सो पार्टीका शीर्षनेताहरुको टोली बाहिरिने क्रम ०७८ सालसम्म पुग्दासम्म जारी छ । शुक्रबार राजधानीमा आयोजित ‘माओवादी–मसाल पार्टी एकता समारोह’ त्यसैको पछिल्लो कडी हो ।

त्यसो त प्रचण्ड नेतृत्वको नेकपा माओवादीको जन्म पनि मोहनविक्रम सिंहबाटै विद्रोह गरेर भएको इतिहास साक्षी छ । एक जमानामा मोहनविक्रम सिंह पनि प्रचण्डकै नेता थिए । चौथो महाधिवेशनपछि पुनर्गठित चौम समूहलाई छोडेर प्रचण्ड र मोहन वैद्यले मोटो ‘मशाल’ बनाएका थिए । पार्टी फुटेपछि सिंहले पातलो मसाल बनाए, जुन अहिलेसम्म जसोतसो चलिरहेको छ । संसदमा सो पार्टीबाट राष्ट्रिय जनमोर्चाको एक सीटमा उपस्थिति छ ।

२०४७ सालमा प्रजातन्त्र स्थापनापछि निर्मल लामा र नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको चौम समूह र मोटो मसालवीच पार्टी एकता भएर नेकपा एकता केन्द्र बन्यो, जसको महामन्त्री प्रचण्ड बने ।  ०५२ सालमा प्रचण्डहरुले पार्टीको नाम नेकपा माओवादी बनाएर जनयुद्ध सुरु गरे भने जनयुद्धमा असहमत भएको नारायणकाजी समूहले केही वर्षपछि मोहनविक्रम सिंहको नेकपा मसालसँग पार्टी एकता गर्यो र सो पार्टीको नाम नेकपा (एकताकेन्द्र मसाल) राखियो । पछि मोहनविक्रम सिंह र नारायणकाजीहरुका दुबै पार्टी अलग भए । नारायणकाजीले माओवादीसँग एकता गरे र नेकपा (एमाओवादी) बन्यो । सिंहले नेकपा मसाल नै चलाउँदै आएका छन् ।

मसालमा पहिरो

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल छाडेर ०४८ सालमा हरिबोल गजुरेलको नेतृत्वमा डा. बाबुराम भट्टराई, राम कार्की र टोपबहादुर रायमाझी लगायतका नेताहरु प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (एकताकेन्द्र) मा समाहित भए ।

पूर्वमसालका यी नेतामध्ये रायमाझी हाल नेकपा एमालेमा पुगेका छन् भने बाबुराम भट्टराई नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा छन् । बाँकी हरिबोल गजुरेल र राम कार्की माओवादीमै छन् ।

बाबुरा र हरिबोल लगायतका नेताहरुले मसाल छाडेको एक दशकपछि फेरि मसालमा अर्को पहिरो गयो । ०५७ सालमा मसालका तत्कालीन प्रवक्ता दीनानाथ शर्मा र हेमराज भण्डारी लगायतको टोली टोली माओवादीमा समाहित भयो । शर्माले माओवादीमा लाग्नासाथ पोलिटब्यूरो सदस्य पाए भने उनको समूहबाट तुलसी ओझा वैकल्पिक केन्द्रीय सदस्य बने ।

शर्मा लगायतको टोली मसालबाट बाहिरिएको केही बर्षपछि (शान्ति प्रक्रियापछि) अर्का केन्द्रीय नेता केशव नेपाल ‘नेकपा २००६’ बनाएर माओवादीमा मिसिए । नेपालले अन्तरिम सांसद बन्ने अवसर पाए ।  

केशव नेपालपछि पुनः मसालमा अर्को विद्रोह भयो । त्यतिबेला मसालका नेताहरु डिलाराम आचार्य, गिरीधारीलाल न्यौपाने लगायतले मसाल छाडेर माओवादी रोजे । गिरिधारीलाल अहिले  टोपबहादुर रायमाझीसँगै नेकपा एमालेमा पुगेका छन् भने डिलाराम आचार्य माओवादीमै छन् ।

०५१ सालको मध्यावधि चुनावपछि संसदमा मसालका दुईजना चर्चित सांसदहरु थिए– परि थापा र नवराज सुवेदी । उनीहरु दुबैजना अहिले मसालमा छैनन् । परि थापा मसालका अर्का नेता रामसिंह श्रीससँगै नेकपा एकीकृत हुँदै वैद्य समूहमा पुगेका छन् भने पूर्वसांसद नवराज सुवेदी चाहिँ बाबुराम भट्टराईसँगै नयाँशक्ति हुँदै जसपामा पुगेका छन् ।

पाचौंपटक शुक्रबार लोकेन्द्र लम्सालको नेतृत्वमा मसालका कनिस्ट नेताहरुको एक समूह माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

अब मोहनविक्रमजी पनि ब्युझिनुहुनेछ : प्रचण्ड

मसालका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै शुक्रबार प्रचण्डले भने, ‘एक जमानामा कमरेड मोहनविक्रम सिंह मेरो पनि आदर्श हुनुहुन्थ्यो । उहाँ र निर्मल लामाको स्कुलिङबाटै हुर्केका हौं हामी । धेरै वर्षपछि बडो सुखद भन्नुपर्छ यो परिघटना । कमरेड मोहनविक्रम लगायतका नेताहरुसँग मेरो असाध्यै सकारात्मक संवाद, छलफल र पुरानो भावनात्मक सम्वन्ध पनि पुर्नजिवित हुन खोजेको छ ।’

मसालका कार्यकर्ता आफूतिर आए पनि सत्तापक्षीय गठबन्धनमा रहेको नेकपा मसालसँगको सम्बन्ध नबिग्रने प्रचण्डले बताए । उनले पार्टी  एकताले पाँच दलीय गठबन्धनबीच कुनै ‘वैरभाव’ उत्पन्न नहुने विस्वास समेत दिलाए । एकीकरणको कार्यक्रमले कुनैपनि पार्टी, नेता वा संस्थालाई कुनै असर पर्ने छैन भन्ने विश्वस्त हुन आग्रह समेत गरे । उनले भने, ‘गठबन्धनमा रहेका कुनै पार्टीहरुसँग वैरभाव छैन । बरु गठबन्धनलाई बलियो बनाएर लैजानपर्छ भन्ने हाम्रो विश्वास छ । र, हाम्रोतर्फबाट त्यसका निम्ति लगातार प्रयास भएको छ ।’

माओवादी अध्यक्ष प्रचण्डले केही समय पहिलेमात्रै आफूले मोहन विक्रमसिंह लगायत मसालको नेतृत्वसँगै एकताको आग्रह गरेको पनि बताए । उनले भने ‘अब देशको पनि नयाँ स्थिति बन्यो, कम्युनिस्ट आन्दोलनको पनि । तपाई हिजो पनि हाम्रो अभिभावक नै हो । अहिले पनि तपाईले अभिभावककै भुमिका खेलौं र हामी सवै एकै ठाउँ केन्द्रीत हौं भनेर मैले प्रस्ताव गरेको छु । उहाँले सकारात्मक छलफल गर्ने भनेर सकारात्मक उत्तर दिएको पनि म यहाँ जानकारी गराउन चाहान्छु ।’

अध्यक्ष प्रचण्डले मार्क्सवादलाई परिवर्तन र विज्ञानका रुपमा आत्मसात गर्ने कि धर्मशास्त्र भन्नेमा बुझाइ फरक–फरक रहेको पनि बताए । ‘जड बस्तुको रुपमा बुझ्दा धेरै समस्या भएको छ । जो जहाँबाट व्युझिन्छ, त्यहाँबाट उठेर हिँड्ने हो । म अलि पहिल्यै ब्युँझिएछु र बाटो लागें, नबुझेसम्म त मान्छेहरु सुतिनै रहन्छन्’, प्रचण्डले भने, ‘क्रमश ब्युझिँदै जाने क्रम सुरु भयो र आज लोकेन्द्रजी र तपाईहरु बिउँझिनुभयो, मोर्चामा लामवद्ध हुनुभयो । मलाई लाग्छ, अन्तिममा मोहनविक्रमजी लगायत सबै साथीहरु ब्युझिनुहुनेछ र हामी एउटै मोर्चा र एउटै केन्द्रमा हुनेछौं ।’

माओवादीलाई सुधार्न आग्रह

माओवादी अध्यक्ष प्रचण्डले पूर्वमसाल समूहका नेता कार्यकर्तालाई इमानदार एवं निष्ठावान् कम्युनिस्टको संज्ञा दिएका छन् । एउटै स्कुलिङबाट आएको भए पनि मसालका नेताहरु मेहनेती र इमान्दार भएकाले माओवादी पार्टीलाई सुधार्न सहयोग पुग्ने प्रचण्डले विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रभित्र कहिलेकाहीँ सत्ताको नजिक पुगेपछि भएका कमीकमजोरी र फोहोर मैला सफाइ हुने विश्वास प्रचण्डले व्यक्त गरे । प्रचण्डले मसालबाट यसअघि नै माओवादी बनेका दीनानाथ शर्र्मा, डिलाराम आचार्य र केशव नेपाललगायतलाई अगाडि राखेर भने, ‘तपाईहरु आएपछि त्यो सफाई अभियानमा पनि मद्दत नै पुग्छ भन्ने मेरो विश्वास छ । तपाईहरुले क्रान्तिकारीहरु कस्तो हुनुपर्छ भन्ने उदाहरण दिनुहुनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप