शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कैदी नाइके भगाउन प्रहरी जवानसहित तीन जनाको मिलेमतो, दुई जना पक्राउ

शुक्रबार, ०९ पुस २०७८, १६ : ५४
शुक्रबार, ०९ पुस २०७८

दाङको घोराही कारागारका कैदीलाई भगाउन सहयोग गर्ने थप एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सो घटनामा तीन जनाको संलग्नता रहेकोमा अहिलेसम्म दुई जना पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक  सुरेश काफ्लेका अनुसार तीन जनाको मिलेमतोमा कैदीलाई भगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले अनुसन्धानमै रहेकाले उनीहरूको नाम भने सार्वजनिक नगरिएको उनले बताए ।

कैदीका नाइकेसमेत रहेका राजपुर गाउँपालिकाको बेलाका निवासी २७ वर्षीय जयराम परियार बिहीबार बिहान ११ बजेतिर प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई घोराही कारागारमा जेलजीवन बिताइरहेका उनी छालाको बिरामी थिए ।

त्यसकै उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका उनको हतकडी खोलिएको थियो । त्यही मौकामा उनी प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर फरार भएका छन् । उनलाई प्रहरी जवान चौधरीले नै सोही मोटरसाइकलमा राखेर अस्पताल लगेका थिए ।

घटना बिहानको समयमा भए पनि प्रहरी जवान चौधरीले साँझ ४ बजेमात्रै खबर गरेपछि उनकै मिलेमतोमा भगाइएको आशंका गरिएको छ  । ती कैदीले सात वर्ष जेलजीवन बिताइसकेका थिए । उनको खोजी कार्य  भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी संगठन भित्रकै र बाहिरका व्यक्तिहरुसँग समेत मिलेर कैदी भगाइएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी प्रमुख काफ्लेको भनाइ छ । कल डिटेलको आधारमा अन्य व्यक्ति पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान पूरा भएपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिने पनि उनले बताए ।

कैदी भगाउन एक जना प्रहरी जवान र दुई जना बाहिरका मान्छेको मिलेमतो रहेको देखिएपछि सोहीअनुसार प्रहरीको अनुसन्धान अघि बढाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कैदी भगाउन सहयोग गर्ने प्रहरी जवानलाई बिहीबार नै पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य  दुईमध्ये एक जनालाई शुक्रबार बिहान पक्राउ गरिएको र अर्का एक जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए ।

‘तीन जनाको मिलेमतोमा भगाइएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ, तीमध्ये प्रहरी जवानलाई हिजै पक्राउ गरिसक्यौँ, अर्का एक जनालाई आज बिहान पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘थप अर्का एक जनाको पनि खोजी कार्य भइरहेको छ, सबै अनुसन्धान पूरा गरेर सार्वजनिक गर्छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप