शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शान्ति सेनामा नेपाली महिला सैनिकको संख्या राष्ट्रसंघले तोकेभन्दा कम

सेवा प्रवेशको तीन वर्षमै मिशनमा पठाउँदा पनि निर्धारित लक्ष्य प्राप्तिमा असफल
शुक्रबार, ०९ पुस २०७८, १२ : २०
शुक्रबार, ०९ पुस २०७८

संयुक्त राष्ट्रसंघ (युएन)को ‘म्याण्डेट’ अनुसार शान्ति मिशनमा महिला सैनिक सहभागी गराउन नेपाली सेना असफल भएको छ । युएनले सन् २०२१ भित्र गण र गुल्मको बटालियन लिएर जाने सैनिक समूह ‘कन्टिनजेन्ट’तर्फ ८ प्रतिशत महिला सैनिक पु¥याउन नेपाली सेनालाई भनेको थियो । तर, सो लक्ष्य अनुसार नेपाली सेनाले महिला सैनिक पठाउन सकेको छैन ।

यसअघि कन्टिनजेन्टतर्फ ३ दशमलव ९१ प्रतिशत महिला सैनिक थिए । सो संख्यालाई बढाएर २०२१ भित्र ८ प्रतिशत सहभागी गराउन राष्ट्रसंघले भनेको थियो । सन् २०२१ बिदा हुन केही दिनमात्र बाँकी हुँदा शान्ति मिशनमा लक्ष्यभन्दा आधामात्र महिला सैनिक सहभागी छन् ।

जंगी अड्डाका अनुसार कन्टिनजेन्ट महिला सैनिकको संख्या अहिले ४ प्रतिशतको हाराहारी पुगेको छ । कन्टिनजेन्टतर्फ महिला सैनिकको सहभागिता ४ प्रतिशतमात्रै रहेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले रातोपाटीलाई बताए ।

पौड्यालले भने, ‘कन्टिनजेन्टमा चाहिँ नेपाल मात्र नभएर अरु देशको पनि समस्या छ, हाम्रो तर्फबाट प्रयास गरिरहेका छौं ।’ शान्ति मिशनमा कन्टिनजेन्टतर्फ अहिले कुल १ सय ७४ जना महिला सैनिक परिचालित छन् । अबको करिब ३ महिनामा लक्ष्य अनुसार सैनिक संख्या पुग्नेगरी तयारी भइरहेको सैनिक प्रवक्ता पौड्यालले बताए ।

राष्ट्रसंघका १२ वटा मिसनमा अहिले पुरुष र महिला समेत कुल ५ हजार २ सय १९ जना सैनिक सहभागी छन् । मिलिटरी अब्जर्भर र स्टाफ अब्जर्भर महिला सैनिकको संख्या चाहिँ सन् २०२१ भित्र १८ प्रतिशत पुर्याउन राष्ट्रसंघले नेपाली सेनालाई पत्र पठाएको थियो । मिलिटरी अब्जर्भर र स्टाफ अब्जर्भरतर्फ लक्ष्यअनुसार सहभागिता भएको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘स्टाफ अफिसरमा अहिले हाम्रो १९ प्रतिशत महिला सहभागिता छ ।’ राष्ट्रसंघले सन् २०२८ सम्ममा कन्टिनजेन्ट तर्फ १५ प्रतिशत र अब्जर्भर तर्फ २५ प्रतिशत महिला सहभागिता गराउन सेनालाई म्याण्डेट दिएको छ ।

नयाँ हुने डिप्लोइमेन्टमा महिलालाई प्राथमिकता दिने योजना रहेको बताउँछन् सैनिक प्रवक्ता पौड्याल ।

छिटो सहभागिता

नेपाली सेनाले सन् १९९२ देखि युएन मिशनमा महिलालाई पठाउँदै आएको छ । मिशनमा पुरुषको दाँजोमा महिलाले छिटो सहभागिताको अवसर पाउने गरेका छन् । सेनाको कुल संख्याको ८ प्रतिशत महिला छन् । राष्ट्रसंघको तोकेको मापदण्ड अनुसार महिला सैनिक पठाउँदा बरियता मिचिने गरेको सैन्य अधिकारीहरु बताउँछन् ।

युएनको म्याण्डेट अनुसार सहभागी गराउँदा सेनामा भर्ना भएको ३ वर्षमै महिला सैनिकले मिशन जान पाएका छन् । मालीमा शान्ति स्थापना गर्न सेनामा भर्ना भएको भर्खर ३ वर्ष पूरा भएका महिला पनि सहभागी भइसकेका छन् । तर, पुरुषतर्फ १३ वर्ष जागिर पुगेका सैनिक पनि जान पाएका छैनन् । महिला सैनिकको संख्या थोरै भएकाले सो अवस्था आएको जंगी अड्डाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

नेपाली सेनामा १९६९ देखि प्राविधिक विधामा महिलालाई भर्ना लिन थालिएको थियो । सन् २००४ देखि साधारण समूहमा भर्ना लिन थालियो । सन् २००५ बाट नेपाली सेनाले महिलालाई अधिकृत पदमा भर्ना लिन थालेको थियो ।

मिशनमा मात्र नभएर आन्तरिक सरुवामा पनि महिलाले पुरुषभन्दा बढी अवसर पाउने गरेका छन् । पति–पत्नी सेनामा भएमा उनीहरुलाई एउटै जिल्ला वा एकै पल्टनमा सरुवा गर्ने व्यवस्था छ । घर पायक जिल्ला र प्रदेशमा महिलालाई प्राथमिकता दिने गरिन्छ । ५० वर्ष उमेर पुगेका महिलाले सरुवामा ‘क’ वर्गको भौगोलिक क्षेत्र बाहेकका क्षेत्रमा प्राथमिकता पाउँछन् ।

सेनामा अहिले कुल ७ हजार १ सय ६२ जना महिला छन् । तीमध्ये ३ सय ८८ जना अधिकृत छन् । प्राविधिकतर्फ महिला सैनिक ब्रिगेडियर जनरल पदमा पुगेका छन् । साधारण समूहमा भर्ना भएका महिला सैनिक मेजर दर्जामा पुगेका छन् ।

शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको मिशनमा धेरै सेना पठाउने मुलुकमा नेपाल दुई नम्बरमा छ । आगामी दिनमा कुल फौजको १० प्रतिशतलाई शान्ति सेनामा पठाउने योजना अनुसार आवश्यक हातहतियार तथा सैन्य सामग्रीहरुको व्यवस्थापन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप