शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति सेनामा नेपाली महिला सैनिकको संख्या राष्ट्रसंघले तोकेभन्दा कम

सेवा प्रवेशको तीन वर्षमै मिशनमा पठाउँदा पनि निर्धारित लक्ष्य प्राप्तिमा असफल
शुक्रबार, ०९ पुस २०७८, १२ : २०
शुक्रबार, ०९ पुस २०७८

संयुक्त राष्ट्रसंघ (युएन)को ‘म्याण्डेट’ अनुसार शान्ति मिशनमा महिला सैनिक सहभागी गराउन नेपाली सेना असफल भएको छ । युएनले सन् २०२१ भित्र गण र गुल्मको बटालियन लिएर जाने सैनिक समूह ‘कन्टिनजेन्ट’तर्फ ८ प्रतिशत महिला सैनिक पु¥याउन नेपाली सेनालाई भनेको थियो । तर, सो लक्ष्य अनुसार नेपाली सेनाले महिला सैनिक पठाउन सकेको छैन ।

यसअघि कन्टिनजेन्टतर्फ ३ दशमलव ९१ प्रतिशत महिला सैनिक थिए । सो संख्यालाई बढाएर २०२१ भित्र ८ प्रतिशत सहभागी गराउन राष्ट्रसंघले भनेको थियो । सन् २०२१ बिदा हुन केही दिनमात्र बाँकी हुँदा शान्ति मिशनमा लक्ष्यभन्दा आधामात्र महिला सैनिक सहभागी छन् ।

जंगी अड्डाका अनुसार कन्टिनजेन्ट महिला सैनिकको संख्या अहिले ४ प्रतिशतको हाराहारी पुगेको छ । कन्टिनजेन्टतर्फ महिला सैनिकको सहभागिता ४ प्रतिशतमात्रै रहेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले रातोपाटीलाई बताए ।

पौड्यालले भने, ‘कन्टिनजेन्टमा चाहिँ नेपाल मात्र नभएर अरु देशको पनि समस्या छ, हाम्रो तर्फबाट प्रयास गरिरहेका छौं ।’ शान्ति मिशनमा कन्टिनजेन्टतर्फ अहिले कुल १ सय ७४ जना महिला सैनिक परिचालित छन् । अबको करिब ३ महिनामा लक्ष्य अनुसार सैनिक संख्या पुग्नेगरी तयारी भइरहेको सैनिक प्रवक्ता पौड्यालले बताए ।

राष्ट्रसंघका १२ वटा मिसनमा अहिले पुरुष र महिला समेत कुल ५ हजार २ सय १९ जना सैनिक सहभागी छन् । मिलिटरी अब्जर्भर र स्टाफ अब्जर्भर महिला सैनिकको संख्या चाहिँ सन् २०२१ भित्र १८ प्रतिशत पुर्याउन राष्ट्रसंघले नेपाली सेनालाई पत्र पठाएको थियो । मिलिटरी अब्जर्भर र स्टाफ अब्जर्भरतर्फ लक्ष्यअनुसार सहभागिता भएको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘स्टाफ अफिसरमा अहिले हाम्रो १९ प्रतिशत महिला सहभागिता छ ।’ राष्ट्रसंघले सन् २०२८ सम्ममा कन्टिनजेन्ट तर्फ १५ प्रतिशत र अब्जर्भर तर्फ २५ प्रतिशत महिला सहभागिता गराउन सेनालाई म्याण्डेट दिएको छ ।

नयाँ हुने डिप्लोइमेन्टमा महिलालाई प्राथमिकता दिने योजना रहेको बताउँछन् सैनिक प्रवक्ता पौड्याल ।

छिटो सहभागिता

नेपाली सेनाले सन् १९९२ देखि युएन मिशनमा महिलालाई पठाउँदै आएको छ । मिशनमा पुरुषको दाँजोमा महिलाले छिटो सहभागिताको अवसर पाउने गरेका छन् । सेनाको कुल संख्याको ८ प्रतिशत महिला छन् । राष्ट्रसंघको तोकेको मापदण्ड अनुसार महिला सैनिक पठाउँदा बरियता मिचिने गरेको सैन्य अधिकारीहरु बताउँछन् ।

युएनको म्याण्डेट अनुसार सहभागी गराउँदा सेनामा भर्ना भएको ३ वर्षमै महिला सैनिकले मिशन जान पाएका छन् । मालीमा शान्ति स्थापना गर्न सेनामा भर्ना भएको भर्खर ३ वर्ष पूरा भएका महिला पनि सहभागी भइसकेका छन् । तर, पुरुषतर्फ १३ वर्ष जागिर पुगेका सैनिक पनि जान पाएका छैनन् । महिला सैनिकको संख्या थोरै भएकाले सो अवस्था आएको जंगी अड्डाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

नेपाली सेनामा १९६९ देखि प्राविधिक विधामा महिलालाई भर्ना लिन थालिएको थियो । सन् २००४ देखि साधारण समूहमा भर्ना लिन थालियो । सन् २००५ बाट नेपाली सेनाले महिलालाई अधिकृत पदमा भर्ना लिन थालेको थियो ।

मिशनमा मात्र नभएर आन्तरिक सरुवामा पनि महिलाले पुरुषभन्दा बढी अवसर पाउने गरेका छन् । पति–पत्नी सेनामा भएमा उनीहरुलाई एउटै जिल्ला वा एकै पल्टनमा सरुवा गर्ने व्यवस्था छ । घर पायक जिल्ला र प्रदेशमा महिलालाई प्राथमिकता दिने गरिन्छ । ५० वर्ष उमेर पुगेका महिलाले सरुवामा ‘क’ वर्गको भौगोलिक क्षेत्र बाहेकका क्षेत्रमा प्राथमिकता पाउँछन् ।

सेनामा अहिले कुल ७ हजार १ सय ६२ जना महिला छन् । तीमध्ये ३ सय ८८ जना अधिकृत छन् । प्राविधिकतर्फ महिला सैनिक ब्रिगेडियर जनरल पदमा पुगेका छन् । साधारण समूहमा भर्ना भएका महिला सैनिक मेजर दर्जामा पुगेका छन् ।

शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको मिशनमा धेरै सेना पठाउने मुलुकमा नेपाल दुई नम्बरमा छ । आगामी दिनमा कुल फौजको १० प्रतिशतलाई शान्ति सेनामा पठाउने योजना अनुसार आवश्यक हातहतियार तथा सैन्य सामग्रीहरुको व्यवस्थापन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप